सरकारी वकिलको निर्णयबाट हाजिरी जमानीमा छुटे प्रभु बैंकका सीईओ शेरचन

विशेष सरकारी वकिल कार्यालयको निर्णयसँगै बैंकिङ कसुरको आरोपमा हिरासतमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च अधिकारीहरू हाजिरी जमानीमा रिहा भएका छन्।

काठमाडौँ– विशेष सरकारी वकिल कार्यालयले बैंकिङ कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहितका उच्च अधिकारीहरूलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेको छ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार सरकारी वकिल कार्यालयले म्याद नथप्ने निर्णय गर्दै उनीहरूलाई हाजिरी जमानीमा छाड्न भनेको हो। सीआईबीले अनुसन्धान बाँकी रहेको भन्दै म्याद थपका लागि आग्रह गरे पनि वकिल कार्यालयले आफैँ यस्तो निर्णय लिएको हो।

सीआईबीले मंसिर १४ गते सीईओ शेरचन, डीसीईओ मणिराम पोखरेल र सीआईओ रिवाज श्रेष्ठलाई पक्राउ गरेको थियो। यस्तै, अनुसन्धानका क्रममा मंसिर २४ गते रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्य, मंसिर २७ गते गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका थिए। सोही प्रकरणमा संलग्न रहेको आरोपमा बैंककी सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनीहरू हाल फरार छन्।

नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानूनविपरीत बैंकलाई हानि–नोक्सानी पुर्‍याएको तथा सो अपराध लुकाउन विभिन्न कम्पनीका नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी दुरुपयोग गरेको अभियोगमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।