नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई शुक्रबार परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्। मन्त्रिपरिषद्को विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय पुगेको छ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिति थियो। साथै, समारोहमा सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा संवैधानिक अंगका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।

नेपाली सेनाका पूर्वरथी शर्माले यसअघि तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका सम्हालेका थिए। संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरको जिम्मेवारी समेत सम्हालेका उनी हाल राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष हुन्।