श्रीलंकाको पुनर्निर्माणका लागि ४५ करोड डलर सहयोग गर्दै भारत

गत महिना आएको चक्रवातका कारण श्रीलंकामा ६४० भन्दा बढी मानिसको ज्यान गएको थियो। बाढी र भूस्खलनका कारण करिब चार अर्ब डलर बराबरको आर्थिक क्षति भएको विश्व बैंकको अनुमान छ।

भारत सरकारले श्रीलंकालाई हालै आएको ‘दितवाह’ चक्रवातबाट भएको क्षति व्यवस्थापन र पुनरुत्थानका लागि ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्माण सहयोग प्रदान गर्ने घोषणा गरेको छ। भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले मंगलबार श्रीलंका भ्रमणका क्रममा उक्त सहयोगको जानकारी दिएका हुन्।

गत महिना आएको भीषण चक्रवातका कारण दक्षिण एशियाली टापु राष्ट्र श्रीलंकामा ६४० भन्दा बढी मानिसको ज्यान गएको थियो। बाढी र भूस्खलनका कारण करिब चार अर्ब डलर बराबरको आर्थिक क्षति भएको विश्व बैंकको अनुमान छ, जुन श्रीलंकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब चार प्रतिशत हो।

श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकले यस विपद्लाई देशको इतिहासकै सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोपको रूपमा वर्णन गरेका छन्। उनका अनुसार यसबाट २० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्।

दुईदिने औपचारिक भ्रमणमा रहेका विदेशमन्त्री जयशंकरले कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र राष्ट्रपति दिसानायकलाई हस्तान्तरण गरे। उक्त पत्रमा ४५ करोड डलरको पुनर्निर्माण प्याकेज उपलब्ध गराउने प्रतिबद्धता उल्लेख छ। सहयोगमध्ये ३५ करोड डलर सहुलियतपूर्ण ‘लाइन अफ क्रेडिट’ र बाँकी १० करोड डलर अनुदानका रूपमा प्रदान गरिने जयशंकरले जानकारी दिए।

भारतले यसअघि नै औषधि र अत्यावश्यक उपकरणसहित एक हजार १०० टन राहत सामग्री पठाइसकेको छ। क्षतिको परिमाण ठूलो भएकाले यातायात र सम्पर्क पुनर्स्थापनालाई प्राथमिकता दिँदै भारतीय सेनाले पोर्टेबल पुलहरू समेत उपलब्ध गराएको छ।

विदेशमन्त्री जयशंकरले श्रीलंकामा भारतीय पर्यटन प्रवर्द्धन र लगानी विस्तारमार्फत आर्थिक क्षति न्यूनीकरणमा सहयोग गर्ने उपायहरू पनि अघि बढाइरहेको बताए। “भारतबाट हुने प्रत्यक्ष विदेशी लगानीले यो कठिन समयमा श्रीलंकाको अर्थतन्त्रलाई थप ऊर्जा दिनेछ,” उनले भने।

सन् २०२२ को गम्भीर आर्थिक संकटबाट क्रमशः बाहिर निस्कँदै गरेको श्रीलंकाका लागि यो प्राकृतिक विपद् अर्को ठूलो चुनौती बनेको छ। भारतको पछिल्लो सहयोगले पुनर्निर्माण र दीर्घकालीन आर्थिक स्थायित्वमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।