ताप्लेजुङका हिमाली बस्ती सुनसान, जाडो छल्न औलतर्फ झर्दै स्थानीय

अत्यधिक चिसो र हिउँ पर्न थालेपछि ताप्लेजुङका उच्च भेगका बासिन्दा आफ्ना पशुचौपायासहित तल्लो क्षेत्र (औल) तर्फ झर्न थालेका हुन्।

तस्वीर : चन्द्र पन्दाक

ताप्लेजुङ– हिमाली क्षेत्रमा चिसो बढेसँगै ताप्लेजुङका उच्च भेगका बस्तीहरू सुनसान हुन थालेका छन्। जाडो बढ्न थालेपछि स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि हिमाली बस्तीहरू खाली भएका हुन्।

जिल्लाको मिक्वाखोला गाउँपालिका–५, तोक्पेगोला र लोदेनको माथिल्लो भेगमा बसोबास गर्ने सर्वसाधारण अहिले तलका (औलतिर)का बस्तीमा झेरका छन्। जाडो बढेसँगै पशुचौपायासहित स्थानीय औलतर्फ झर्ने गरेका तोक्पेगोलाका मिलनदोर्जी शेर्पाले बताए। “हिउँदको समयमा जाडो छल्नकै लागि अन्यत्र जाने गरिन्छ, पशुपालक र व्यवसायमा लागेका मानिस तल्लो क्षेत्रमा रहेका घर, खर्कमा गएर बस्छन्। कतिपय अन्यत्र घुमघाम र भेटघाटमा जान्छन्,” उनले भने।

शेर्पाका अनुसार तोक्पेगोलामा सामान्य अवस्थामा सात परिवार बसोबास गर्छन्, तर अहिले सबै घर रित्तो छन्। घुन्सा, फलेलगायत माथिल्लो भेगमा बसोबास गर्ने र पशुपालन गर्ने मानिसहरू औलतर्फ झरेका बताउँदै उनले सो क्षेत्रमा करिब ४०–४५ परिवार बसोबास गर्ने जानकारी दिए। सो क्षेत्रका पनि आधाजसो परिवार मङ्सिर अन्तिमदेखि नै घरमा ताल्चा लाएर अन्यत्र गएका छन्।

स्थानीय छेतेन डण्डू शेर्पाका अनुसार पर्यटन व्यवसायमा संलग्न नभएका अधिकांश मानिस जाडो छल्न अन्यत्र गएका छन्। वर्षाका समयमा खेतीपातीमा व्यस्त हुने मानिसहरू पुस र माघमा बढी जाडो हुने भएकाले काठमाडाैँ, सिक्किम, दार्जेलिङलगायत ठाउँमा जान्छन् वा अन्य घरमा बस्छन्। घुन्सामा आधाजसो पर्यटन व्यवसायमा संलग्न भने घरैमा बसेका उनको भनाइ छ। “धेरैजसोका छोराछोरी पढ्न सहरतिर गएकाले यो समयलाई छोराछोरी र आफन्त भेट्ने अवसरका रूपमा लिने गरिन्छ,” छेतेनले भने।

जिल्लाका हिमाली भेगमा बसोबास गर्ने मानिस बर्सेनि जाडो छल्न अन्यत्र जाने गर्छन्। पहिले पूरै गाउँ रित्तो हुने गरे पनि आजभोलि भने बिजुली, सञ्चारलगायत सुविधाले गर्दा आधाजसोले मात्र गाउँ छाड्ने गरेका स्थानीय बताउँछन्।