प्रभु बैंकका सीईओ शेरचनलगायतलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

प्रभु बैंकका सीईओ अशोक शेरचनसहित पाँच जनामाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि उच्च अदालत पाटनले थप पाँच दिनको म्याद थप गरेको छ।

फाइल तस्वीर

ललितपुर– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित पाँच जनामाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि उच्च अदालत पाटनले थप पाँच दिनको म्याद थप गरेको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको संयुक्त इजलासले उनीहरूमाथि आइतबार म्याद थपको अनुमति दिएको हो। 

सीईओ शेरचनसहित डेपुटी सीईओ मणिराम पोखरेल, चिफ क्रेडिट अफिसर रिवाश श्रेष्ठ, व्यवसायी राजेन्द्र शाक्य र सुजिन शाक्यमाथि अनुसन्धान भइरहेको छ। उनीहरूमाथि नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी बैंकलाई हानि पुर्‍याएको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सीईओ शेरचनलाई गत मंसिर १४ गते पक्राउ गरिएको थियो भने अन्य व्यक्तिहरू त्यसपछि पक्राउ परेका हुन्।

यसअघि पनि उनीहरूमाथि पटक–पटक म्याद थप हुँदै आएको छ। अदालतले गत मंसिर २९ गते पनि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको थियो। आइतबार म्याद थप आदेशसँगै अदालतले अनुसन्धान प्रक्रिया तीव्र पार्न निर्देशनात्मक आदेशसमेत जारी गरेको छ। उच्च अदालत पाटनको प्रशासन शाखाका अनुसार, इजलासले अनुसन्धान कार्य शीघ्र सम्पन्न गर्न र गराउन विशेष सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको हो।

यो पनि – प्रभु बैंक घोटालाः सीईओ शेरचनले पक्राउ पर्नुअघि जोगिनलाई जे गरे