मधेश प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्।

जनकपुरधाम– मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्। प्रदेशसभाको आइतबार बसेको बैठकमा भएको निर्वाचनमार्फत यादव सात दलीय सत्ता गठबन्धनका तर्फबाट सभामुखमा चयन भएका हुन्।

सभामुख चयनका लागि भएको मतदानमा यादवले ७२ मत प्राप्त गरे भने उनको विपक्षमा २४ मत परेको थियो। उपसभामुख बबिता कुमारी राउत इसरले सभामा उपस्थित ९६ सदस्यमध्ये बहुमत यादवको पक्षमा रहेको जानकारी दिँदै उनलाई सभामुखमा निर्वाचित भएको घोषणा गरिन्।

यसअघि बैठकमा नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित भएका यादव यसअघि जसपाको प्रमुख सचेतकको जिम्मेवारीमा थिए।