स्पर्श र सुगन्धको भान्सा घर

हाम्रो भान्सामा अरू कोही आँखा देख्ने मान्छे भइदिएको भए सायद हामी यति आत्मनिर्भर हुने थिएनौँ होला। शुरूका दिन खाना नमिठो हुँदा हामीले एकअर्कालाई पोखेको रिस र अधकल्चा गाँसले नै यी सीप सिकाएका हुन्।

हामी दम्पती दुवै जना दुवै आँखा नदेख्ने। सँगै हिँडिरहँदा, सँगै बस्दा वा खाँदा जब कसैले हाम्रो सम्बन्धबारे थाहा पाउँछ र थप जिज्ञासा राख्छ, उन/सको पहिलो प्रश्न हुन्छ “घरमा कोको बस्नुहुन्छ?”

हामी सहजै जवाफ दिन्छौँ, “हामी दुई।”

यो सुनेपछि सोध्ने मान्छे अचम्मित हुन्छन् र अपेक्षित प्रश्न आइहाल्छ, “अनि खाना कसले पकाइदिन्छ त?” यसको पनि हामीसँग बनिबनाउ उत्तर छ, “हामी आफैँ!”

आउनुहोस्, आजको 'सेतो छडी' स्तम्भमा स्पर्श र सुगन्धले भरिएको हाम्रो भान्सा घरको भ्रमण गरौँ।

म सानैदेखि चकचके स्वभावको मान्छे। हातले आओस् कि नआओस्, बातले नआउने कुरा कमै थिए होलान् मलाई। पकाउने कुरामा त्यस्तै थिएँ म। मलाई कसैले सिकाउनुपरेन ग्याँस खोल्न, पानी उमाल्न, फाट्टफुट्ट चिया र चाउचाउ पकाउन समेत। घरमा ममी, बाबा र आमाले हुन्न/पोल्छ, जेजे भने पनि म खासै टेर्दैन थिएँ। तर त्यति बेला चक्कु र हँसिया चलाउन भने मैले खासै जाँगर गरिनँ।

स्नातक पढ्ने क्रममा म करिब एक वर्षसम्म साथीहरूसँग डेरामा बसेँ। त्यति बेला भने ग्याँस चलाएको वा चक्कु चलाएको सम्झना छैन मलाई। किनभने कोठामा कम समय बस्थेँ, धेरैजसो समय छात्रवृत्ति खोज्नमा नै बिताएँ।

हाम्रो बिहेको कुरा पक्का भएपछि म करिब डेढ महिनाअघि देखि नै डेरामा एक्लै बस्ने तय भयो। म त पहिल्यैबाट कोठामा ग्याँस चुलो समेत राख्नुपर्छ भन्नेमा थिएँ। तर ममी, बाबा, आमा र विदेशमा भएकी दिदीको समेत सहमति भएन। कारण एउटै थियो–मेरो चकचके बानी। ग्याँस चुलो भएको भए सायद काँचै वा डढेकै भए पनि भान्सामा उहिल्यै भात-तरकारी पाकिसकेको हुने थियो। डेढ महिनासम्म घरबेटीकोमा नै खाना खाएर बसेँ म।

मेरी श्रीमतीको परिवार मेरोभन्दा बढी सुरक्षामा बढी सतर्क हुनुहुन्छ। श्रीमतीलाई ग्याँस खोल्न सिकाएको पनि मैले नै हो। एक दिनको कुरा अझै पनि सम्झन्छु। म, जयराम दाइ र अनुजाले उनलाई घरमा केही पकाऊँ, सिकिन्छ भनेर हौसला दियौँ। उनले आलुको भुजिया बनाइछन्। तर उतार्ने बेलामा समाएको टालो लत्रेर डढेछ। धन्न बेलैमा थाहा पाइछन् र निभाइछन्। खूब डराएकी थिइन् त्यति बेला।

अब बिहेपछिको कुरा गरौँ।

साँच्चै भन्ने हो भने हाम्रा निम्ति खाना पकाउने कुरा महाभारतजस्तै थियो। तर एकअर्कालाई पाउँदा आफ्नो 'सपना' पूरा भएकोमा हामी दङ्ग थियौँ। हामीले बाँकी कुरामा उती साह्रो पिर लिएनौँ। सकिन्छ र गरेपछि हुन्छ भनेर हामीलाई ढाडस दिनेमध्ये गौतम दाइ, जयराम दाइ र अनुजा अग्र पङ्क्तिमा आउनुहुन्छ। शुरूका एक-दुई दिन ममी बस्नुभयो हामीसँग। तर ममीले सिकाउनुभन्दा बढी आफैले पकाएर खुवाउनुभयो। जब ममी जानुभयो, तब शुरू भए हाम्रा सङ्घर्षका दिन।

म सम्झन्छु। हाम्रो खानाको परिकार पूर्वनिर्धारित हुन्थ्यो। तरकारीमा क्रमशः फर्सी, चना/केराउ, सिमी/बोडी, दाल र आलुको अचार आदि। पकाउने तरिका पनि एउटै। कुकरमा तेल राख्ने, तेल तातेपछि मेथी वा पाँचफुरन पड्काउने, प्याज र खुर्सानी राख्ने, त्यसपछि तरकारी राखेर केही बेर चलाउने, नुन, मसाला, बेसार राख्ने र चलाउने अनि केही बेरमा पानी हालेर कुकर बन्द गर्ने। जब पाँच-सात सिट्ठी लाग्छ, ग्याँस बन्द गर्ने र सिट्ठीले हावा फालेपछि अर्को कुकरमा तयार भएको भातसँग मुछेर खाने। एकाध पटक हामीले कराइमा तरकारी पकाउने कोसिस नगरेका पनि होइनौँ। तर धेरै पटक हामी विफल भयौँ। कहिले तरकारी काँचो भयो त, कहिले डढ्यो।

बिहान १० बजे कार्यालय पुग्नुपर्ने, ५ बजे उठेर पकाउन बस्दा पनि साढे तीन घण्टामा काम भ्याइँदैनथ्यो। त्यो थकान र झर्कोले कहिलेकाहीँ हामीबीच असमझदारीका पोका भान्सामै खुल्थे। हाम्रो तिक्तताले त्यो नमिठो खाना अझ तितो बनाइदिन्थ्यो। तर विकल्प थिएन, आँसु र झोलसँग भात निल्थ्यौँ। आखिर भोक त मेट्नै पर्‍यो। ती दिनहरू हामीले ममी र बाबालाई कुरिरह्यौँ। तर घरमा बूढी आमा हुनुहुन्थ्यो, छोडेर आउन सम्भव थिएन। भाइ यहीँ ललितपुरको एक छात्रावासमा बसेर पढ्थ्यो। ऊ हामी आउने दिन कुरेर बसेको हुन्थ्यो, तर आफ्नै खानाको टुङ्गो लगाउन नसकेका हामीले भाइलाई ल्याउन सक्ने अवस्थै थिएन।

हामीलाई मसाला धेरै हाले तरकारी मिठो हुन्छ भन्ने लाग्थ्यो, हामी त्यसै गर्थ्यौँ। कहिले नुन धेरै हाल्थ्यौँ, कहिले पानी धेरै हाल्थ्यौँ। तर जे गरे पनि तरकारी मिठो भएन। जे होस्, खाना खान भने छोडेनौँ हामीले। खाना पकाउन पनि छोडेनौँ। सिक्यौँ र सिकी रह्यौँ।

कोठामा आफन्तहरू आइरहनुहुन्थ्यो। हरेकको आआफ्नो स्वभाव हुन्थ्यो। कोहीले नमिठोलाई पनि मिठो भनिदिने। कोहीले मिठो भए पनि यसो भए अझ गज्जब हुन्थ्यो भनिदिने। वास्तविक प्रतिक्रिया दिनेहरू धेरै कम मात्र थिए। हामी दुवै जना आँखा देख्दैनौँ। भान्सामा पानी बढी पोखिन्छ। किनेर ल्याएको खाद्यान्न बट्टामा खन्याउँदा अलिकति पोखिइहाल्छ। कहिले कुचोले भेट्छ, कहिले कहीँ कतै अलिकति छुटिहाल्छ। तर केही मानिसहरू स्वभावैले राम्रोभन्दा पहिला नराम्रो देख्ने हुँदा रहेछन्। जता पनि खोट नै देख्ने। यो भएन, यो बिग्रेछ भनिदिने। त्यसले हामीलाई धेरै पटक हतोत्साहित बनाएको छ। हाम्रो चित्त दुखेको छ।

यी सबै दुखहरूका बीचमा खुसी हुने कुराहरू पनि छन्। आजसम्म हामीले चक्कु चलाउँदा हात काटेका छैनौँ, खाना बनाउँदा हात पोलेका छैनौँ अनि अहिले हामी बाहिरको भन्दा घरको खाना रुचाउने भएका छौँ। हाम्रा पाहुनाहरू पनि हाम्रो हातको खाना खाएर जिब्रो पड्काउँछन्। यसको श्रेय मभन्दा बढी मेरी जीवनसङ्गिनीलाई जान्छ।

घरको कामको भागबन्डा लगाउँदा उनले पकाउने जिम्मेवारी लिएकी छन्। म तरकारी काट्छु, भाँडा माझ्छु। रमाइलो कुराचाहिँ के भने पकाउने जिम्मा लिएकी उनलाई मौज्दातको खासै हेक्का हुँदैन। त्यो जिम्मेवारी मेरो भागमा पर्छ। तरकारी वा खाद्यान्न बजारबाट के कति लैजाने भन्नेबारे मैले अनुमान लगाउनुपर्छ।

घरमा तरकारी, फलफूल, खाद्यान्न र दुग्धजन्य पदार्थ ल्याउँदा हामी सधैँ उही पसलमा जान्छौँ। तरकारी ल्याउँदा तरकारी पसलेले नै त्यसको गुणस्तर हेरेर राखिदिन्छन्। खाद्यान्नको म्याद पनि पसलेले नै हेरिदिन्छन्। हामी काउलीलगायत भित्र किरा हुने अनि स्कुस, पिँडालुलगायतका काट्न गाह्रो हुने तरकारी ल्याउँदैनौँ।

तरकारी काट्दा विचार पुर्‍याएर काट्नुपर्छ। सकेसम्म ‘चपिङ बोर्ड’ मा राखेर चक्कुले काट्नु नै उत्तम विकल्प हुन्छ हाम्रा निम्ति। एक हातले सहायता दिएर अर्को हातले चक्कु समाएर बिस्तारै काट्दा उति जोखिम हुँदैन। हामीले पनि त्यसै गर्छौँ। ग्याँस बाल्दा हामी पहिला ग्याँस लाइटरलाई चुलोमा मिलाएर राखिसकेपछि मात्र खोल्छौँ र बाल्छौँ। तेलको अनुमान हामी डाडुले नापेर लगाउँछौँ अनि नुन, मसाला आदि पनि हामीले तरकारीको मात्रा अनुमान गरेर चम्चाले नै हाल्छौँ।

तरकारी पाक्यो वा पाकेन भन्ने कुराचाहिँ गन्धले वा चाखेर मात्र थाहा हुन्छ। केही कुरा बासी भयो, बिग्रियो वा कुहियो भन्ने कुरा पनि हामीले छामेर, सुँघेर वा चाखेर थाहा पाउँछौँ।

आजभोलि हाम्रो खानामा परिकारहरू थपिएका छन्। हामी दाल, भात, तरकारी, अचार र सलादसहितको पूर्ण भोजन सेवन गर्छौँ। बिहानै उठेर हामी भान्सामा जान्छौँ। उनी तरकारी काट्न बसिन् भने म चिया बनाउँछु अनि मैले तरकारी काट्दा उनले। उनले खाना पकाइरहँदा म पनि छेउमै बसेर सहयोग गरिरहन्छु। उनले नसक्ता वा नभ्याउँदा म नै पकाउन कस्सिन्छु। खुसीको कुरा, आजभोलि हामीलाई भात, दाल, तरकारी र अचार बनाउन पनि उत्ति समय लाग्छ, जति समय पहिला सिट्ठी लगाएको तरकारी पकाउन लाग्थ्यो।

जब स्पर्शको भान्सामा सुगन्ध मिसिन्छ, हामी दुई खाना खान्छौँ, भाँडा माझ्छौँ, भान्सा सफा गर्छौँ र तयार भएर कार्यालय जान्छौँ। साँझ आएपछि पनि हाम्रो सुसेधन्धा यही नै हुन्छ। छुट्टीमा पनि एकले कपडा धोए अर्काले खाना/खाजा बनाउने अनि एकले घर बढार्दा अर्कोले पुछ्ने गर्छौँ हामी। तर दुई जना मात्र बस्दा एक जना बिरामी भयो भने कामको सबै बोझ अर्कोमा थपिने रहेछ। अनि बिरामी परेको मान्छेलाई बिसेक हुँदासम्म कामको अत्यधिक बोझले अर्को व्यक्ति बिसन्चो भई हाल्ने। हामीकहाँ पनि यस्तो क्रम दोहोरिइरहन्छ। तर अहिले हामी यी कुरामा अभ्यस्त भइसक्यौँ।

आँखा नदेख्ने व्यक्तिहरूले कसरी काम गर्लान् भनेर धेरैलाई जिज्ञासा हुन्छ। यो स्वाभाविक हो। तर मोटामोटी रूपमा अधिकांश आँखा नदेख्ने व्यक्तिहरूको काम गर्ने तरिका यस्तै प्रकृतिको हुन्छ। आँखाले नदेखेपछि अन्य ज्ञानेन्द्रियमा बढी ध्यान केन्द्रित गर्नुपर्छ। तर अधिकांश आँखा नदेख्ने व्यक्ति आफ्ना सबै काम आफै गर्न सक्छन्। कुनै कुरामा भने सहयोग चाहिन्छ। त्यो स्वाभाविक पनि हो।

काउलीजस्ता भित्र किरा हुनसक्ने तरकारी हामी ल्याउँदैनौँ भनेर अघि भनेँ। हामीसँग पनि एक जना देख्ने मान्छे सँगै हुन्थे भने हामीलाई ठूलो समस्या हुँदैन थियो। मुख्य कुरा भनेको आफ्नो आँट र धैर्यतामा अर्काको ढाडस, हौसला र सहयोगको मिश्रण भयो भने काम सहज र सरल बन्न जान्छ। एक्लै वा साथमै भए पनि आँखा नदेख्ने मात्र बसेर खाना बनाउनु, घरको काम गर्नु केही जोखिमपूर्ण छ नै। तर विकल्पहीन हुनु र पूर्णतया अरूमा भर पर्नुभन्दा संयमताका साथ व्यावहारिक भएर आफ्नो काम आफै गर्नु उत्तम ठान्छौँ हामी।

कहिलेकाहीँ म सोच्छु, यदि हाम्रो भान्सामा अरू कोही देख्ने मान्छे भइदिएको भए सायद हामी यति आत्मनिर्भर हुने थिएनौँ होला। शुरूका दिन खाना नमिठो हुँदा हामीले एकअर्कालाई पोखेको रिस र अधकल्चा गाँसले नै आज हामीलाई यो सीप सिकाएका हुन्। आजभोलि कसैले "कोको बस्नुहुन्छ?" भनेर सोध्दा हामी गर्वका साथ "हामी दुई" भन्छौँ, किनकि यो "हामी दुई" भित्र हाम्रो ठूलो आत्मविश्वास लुकेको छ।

हाम्रो भान्सामा रङहरू नदेखिएलान्, तर त्यहाँ स्पर्शको विश्वास र सुगन्धको साथ छ। हामीले काउली नखानु वा स्कुस नकाट्नुलाई हार मानेका छैनौँ, बरु त्यसलाई आफ्नो सहजताका लागि रोजिएको एउटा विकल्प ठानेका छौँ। आखिर जीवन पनि त भान्सा घरजस्तै रहेछ— कहिले नुन धेरै हुन्छ, कहिले डढ्छ, त कहिले सोचेभन्दा स्वादिष्ट बनिदिन्छ।

संसारमा कुनै पनि काम असम्भव छैन, काम गर्ने तरिका र हरेकलाई उही काम गर्न लाग्ने समयमा भने घटिबढी हुन सक्छ। आज हामी आफ्नै हातले पकाएको तातो खाना खाएर सँगै कार्यालय जान्छौँ, सँगै घरका काम गर्छौँ। यो साधारण जीवन नै हाम्रा लागि सबैभन्दा ठूलो खुसी हो।

(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)