तिला जलविद्युत् आयोजना: लाखौँ मूल्यका उपकरण अलपत्र

दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका हुन्।

जुम्ला– तिला गाउँपालिका-२ स्थित तिला लघु जलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन्। लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन्।

दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका हुन्। २०७४ सालमा पूर्वाधार विकास कोषको लगानीमा निर्माणाधीन उक्त आयोजनाका लागि गाउँपालिकाद्वारा खरिद गरिएका विद्युतीय उपकरण सडकमा अलपत्र छन् भने अहिले आयोजना पूर्ण रूपमा बन्द छ।

“२०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पहलमा ती उपकरण खरिद गरिएको हो। हामी निर्वाचित भएर आएपछि ती सामान गाउँपालिकामा ल्याएका हौँ। अघिल्लो जनप्रतिनिधिको पालामा पेस्कीबापत केही रकम मात्र भुक्तानी दिइएको रहेछ,” तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भने। 

तिला–७ स्थित तिला नदीबाट एक मेघावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ तिला गाउँपालिका र प्रतिनिधिसभाका तत्कालीन सांसद गजेन्द्रबहादुर महतको पहलमा पूर्वाधार विकास कोषमा रहेको ११ करोड रुपैयाँ बजेट खर्च गरी आयोजना निर्माण भएको थियो। 

जलविद्युत् आयोजनासहित आवश्यक उपकरण प्रयोगविहीन भएपछि स्थानीयले तत्काल सञ्चालनमा ल्याउनुपर्ने भन्दै दबाब दिइरहेका छन्।