गाजा क्षेत्रका १६ लाख मानिसमा गम्भीर खाद्य संकटको जोखिम

प्यालेस्टिनीहरूले अझै पनि हिंसा, जमिन कब्जा, घर भत्काइ र कडा आवागमन प्रतिबन्धको सामना गरिरहेको राष्ट्रसंघले जनाएको छ।

गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। 

संयुक्त राष्ट्रसंघ र साझेदार संस्थाले लाखौँ मानिसलाई भोजन उपलब्ध गराइरहे पनि जोखिम कायम नै रहेको राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताए। 

“हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसले जीवित रहन आवश्यक खाना प्राप्त गर्न सक्षम भएका छन्,” उनी भन्छन्, “यी उपलब्धि अझै नाजुक र जोखिमपूर्ण अवस्थामा छन्।” 

गाजामा केही स्वास्थ्य सेवा केन्द्र पुनः सञ्चालनमा आएको उनको भनाइ छ। यस सुधारको श्रेय उनले कामदार, सदस्य राष्ट्र र नागरिक–सैन्य समन्वय केन्द्रबीचको सहकार्यलाई दिएका छन्।  

गुटेरेसका अनुसार अक्टोबरदेखि राष्ट्रसंघले सेवा निरन्तर सञ्चालनमा राख्ने प्रयास गरिरहेको छ। तर आवश्यकताको वृद्धि सहयोगको क्षमताभन्दा छिटो भइरहेको छ। 

“दीर्घकालीन युद्धविराम आवश्यक भएको र थप प्रवेश नाका खोल्ने, अत्यावश्यक सामग्रीमाथि लगाइएको प्रतिबन्ध हटाउने, प्रशासनिक झन्झट कम गर्ने, गाजाभित्र सुरक्षित आवागमन सुनिश्चित गर्ने, दिगो वित्तीय सहयोग सुनिश्चित गर्ने र अवरोधरहित मानवीय पहुँचको प्रदान गर्नुपर्ने आवश्यकता छ,” महासचिवले भने। 

पश्चिमी किनारामा पनि अवस्था संवेदनशील रहेको र त्यहाँ प्यालेस्टिनीले हिंसा, जमिन कब्जा, घर भत्काइ र कडा आवागमन प्रतिबन्धको सामना गरिरहेको उनको भनाइ छ। कब्जामा रहेका प्यालेस्टिनी भूभागसहित, अन्तर्राष्ट्रिय कानून, मानवीय कानून र मानवअधिकार कानूनको पूर्ण पालना हुनुपर्नेमा राष्ट्रसंघको जोड छ। (रासस/सिन्ह्वा)