बागमती प्रदेशसभा बैठक पुस तेस्रो साता बोलाउने तयारी

जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभा हल क्षतिग्रस्त अवस्थामा छ। तत्कालका लागि मुख्यमन्त्री कार्यालयको सभाहलमा बैठक सञ्चालन गर्ने तयारी छ।

बागमती– बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ। प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि सरकार तयारीमा जुटेको हो।

“प्रदेशसभाको बैठक पुसको तेस्रो सातासम्ममा बस्ने गरी तयारी भइरहेको छ”, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने। जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभा हल क्षतिग्रस्त अवस्थामा छ। अस्थायी रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलबाटै बैठक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए। 

प्रतिपक्षी दलहरूले तत्काल हिउँदे अधिवेशन बोलाउन माग गर्दै आएका छन्। नबोलाइए नियमावलीअनुसार अघि बढ्ने उनीहरूको चेतावनी छ। प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले मंसिर ३ गते प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए। 

सभामुख भुवनकुमार पाठकले असोज १ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ। रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले दुवैले दाबी गरेका छन्। 

प्रदेशसभाको बैठक बोलाएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानूनी व्यवस्था छ।