शीतलहरका कारण कृष्णपुरका विद्यालय २ दिन बन्द

कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि घाम नलाग्ने, बाक्लो हुस्सु र शीतलहर चल्ने क्रममा बढेको छ, जसका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ।

प्रतीकात्मक तस्वीर

कञ्चनपुर– अत्यधिक चिसो र शीतलहरका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

विगत केही दिनदेखि खस्किएको मौसम र बढ्दो ठिहीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै नगरपालिकाले पुस ६ र ७ गते बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार सामुदायिक र संस्थागत दुवै विद्यालयमा लागू हुने गरी यो बिदा दिइएको हो।

“अत्यधिक चिसोले पठनपाठनमा बाधा पुग्नुका साथै विद्यार्थी बिरामी पर्ने जोखिम बढेकाले नगरप्रमुखस्तरीय निर्णयअनुसार जाडो बिदाबाट मिलान हुने गरी बिदा दिइएको हो,” ओझाले भने।

शुक्रबार भुवा पर्व र शनिबार सार्वजनिक बिदा परेकाले नगरपालिकाले आइतबार र सोमबार थप बिदा दिएको हो।

कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि घाम नलाग्ने, बाक्लो हुस्सु लाग्ने र शीतलहर चल्ने क्रम बढेको छ। यसले गर्दा सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ भने विशेष गरी बिहानी सत्रमा सञ्चालन हुने विद्यालयका विद्यार्थीहरू बढी प्रभावित भएका छन्।

चिसो बढेसँगै स्थानीय तहहरूले सर्वसाधारणका लागि सचेतना सन्देश जारी गरेका छन्। नगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, न्यानो लुगा लगाउन, तातो र झोलिलो खानेकुरा खान तथा आगो ताप्दा सावधानी अपनाउन नगरवासीलाई आग्रह गरेको छ।