भ्रामक सूचना फैलाएर उच्च मूल्यमा शेयर बेचेको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ

जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा चलखेल गरी करिब ४९ लाख रुपैयाँ अवैध नाफा कमाएको आरोपमा दीपेन्द्र अग्रवाललाई सीआईबीले पक्राउ गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ। ब्युरोको टोलीले अग्रवाललाई शुक्रबार काठमाडौँको चुनदेवीबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट शुक्रबार पक्राउ अनुमति लिएर उनलाई हिरासतमा लिइएको हो।

अग्रवालमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ विपरीतका विभिन्न कसुरहरू गरेको आरोप लगाइएको छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार उनले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गरी झुक्क्याउने विवरण र भ्रामक सूचना सार्वजनिक गरेर उच्च मूल्यमा शेयर बिक्री गरेका थिए। भ्रामक सूचनाका आधारमा उनले करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ गैरकानूनी रूपमा नाफा आर्जन गरेको बोर्डको अनुसन्धानबाट खुलेको छ।

अग्रवालले अन्य टीएमएस खाता प्रयोग गरी वास्तविक स्वामित्व नबदलिने गरी आपसी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य कृत्रिम रूपमा बढाएर धितोपत्र बजार प्रभावित पारेको पाइएपछि उनलाई धितोपत्रसम्बन्धी ऐनको दफा ९४ (क) र (ख), दफा ९५ तथा दफा ९७ (ग) बमोजिमको कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।