ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि ‘डीभी’ स्थगित गर्ने ट्रम्प प्रशासनको निर्णय

ब्राउन युनिभर्सिटीमा भएको सामूहिक गोलीकाण्डका मुख्य अभियुक्त ‘डीभी’मार्फत अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्प प्रशासनले ग्रिन कार्ड लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।

अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले ‘ग्रिन कार्ड लटरी’ (डाइभर्सिटी भिसा) कार्यक्रम तत्कालका लागि निलम्बन गर्ने आदेश दिएका छन्। ब्राउन युनिभर्सिटीमा भएको सामूहिक गोलीकाण्डका मुख्य अभियुक्त क्लाउडियो नेभेस भ्यालेन्टेले सोही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलासा भएपछि यस्तो कदम चालिएको हो।

पोर्चुगाली नागरिक भ्यालेन्टेमाथि डिसेम्बर १३ मा आइभी लिग स्कुलको भवनमा प्रवेश गरी परीक्षा दिइरहेका विद्यार्थीमाथि गोली चलाएको आरोप छ। उक्त आक्रमणमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। उनीमाथि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)का एक प्राध्यापकको हत्या गरेको आरोपसमेत लागेको छ। लामो खोजीपछि भ्यालेन्टे मृत फेला परेको र उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ।

नोमले सामाजिक सञ्जालमार्फत भ्यालेन्टे सन् २०१७ मा 'डिभी' कार्यक्रममार्फत अमेरिका आएको जानकारी दिएका छन्। उनले भनेका छन्, “राष्ट्रपति ट्रम्पको निर्देशनमा नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस)लाई ग्रिन कार्ड कार्यक्रम रोक्न निर्देशन दिइएको छ। यस्तो विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानि नहोस् भन्ने हाम्रो अभिप्राय हो।”

अमेरिकी विदेश विभागका अनुसार ग्रिन कार्ड लटरीमार्फत वार्षिक रूपमा विश्वभरका ५५ हजार मानिसलाई स्थायी आवासीय भिसा प्रदान गरिन्छ। यसका लागि आवेदकले कम्तीमा उच्च माध्यमिक शिक्षा वा दुई वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्छ। कडा सुरक्षा जाँच र अन्तर्वार्ताको प्रक्रियापछि मात्र यस कार्यक्रममार्फत भिसा उपलब्ध गराइन्छ।