ढाकामा बढ्यो तनाव, सञ्चारगृहमा तोडफोड र आगजनी

हादीको मृत्युसँगै देशभर अशान्ति फैलिएपछि इन्किलाब मञ्चले नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ।

इन्किलाब मञ्चका नेता सरिफ उस्मान बिन हादीको मृत्युको विरोधमा ढाकामा प्रदर्शनहरू जारी छन्। प्रतिष्ठित सञ्चारगृह ‘डेली स्टार’ र ‘प्रथम आलो’का कार्यालयमा हिंसात्मक आक्रमण भएपछि प्रदर्शनकारीहरूले राष्ट्रपिता शेख मुजीबुर रहमानको क्षतिग्रस्त घर पुगेर आक्रोश पोखेका छन्। प्रत्यक्षदर्शीका अनुसार भीडले घरको बाँकी संरचना भत्काउनुका साथै पूर्वप्रधानमन्त्री शेख हसिनाको पोस्टरमा आगजनी गर्ने प्रयाससमेत गरेका थिए।

हादीको मृत्युपछि देशभर अशान्ति फैलिएपछि इन्किलाब मञ्चले नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ। बिहीबार राति फेसबुकमार्फत एक अपिल जारी गर्दै संगठनले हिंसा, तोडफोड र आगजनी नगर्न अनुरोध गरेको हो। “विनाश र आगजनीको माध्यमबाट केही समूह बांग्लादेशलाई असफल राज्य बनाउन चाहन्छन्,”  पोस्टमा भनिएको छ, “उनीहरू देशको सार्वभौमसत्ता कमजोर पार्न खोजिरहेका छन्। तपाईंहरूले बुझ्नुपर्छ—३२ र ३६ एउटै होइनन्।”

मञ्चले फेब्रुअरीमा हुने निर्वाचनअघि देशमा अशान्ति फैलाउँदा कसलाई फाइदा पुग्छ भन्नेतर्फ सचेत रहन आग्रह गर्दै सरकारलाई सहयोग गर्न समेत अपिल गरेको छ।

यसैबीच, ‘द डेली स्टार’को कार्यालयमा भएको आक्रमणका बेला भवनको छतमा फसेका एक पत्रकारले आफ्नो भयावह अनुभव सुनाएका छन्। छिमेकी कार्यालय ‘प्रथम आलो’मा आक्रमण भएलगत्तै आफ्नो भवनमा पनि भीड आउँदै गरेको फोन आएपछि कर्मचारीहरू सतर्क भएका थिए। तर, उनीहरू सुरक्षित स्थानतर्फ जान नपाउँदै भीडले भवनको भुइँतलामा तोडफोड र आगजनी शुरू गरिसकेको थियो।

भवनभित्र बाक्लो धुवाँ भरिएपछि कर्मचारीहरू ज्यान जोगाउन १०औँ तलाको छतमा पुगेका थिए। पछि अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिई छतमा फसेका चार जना पत्रकारको उद्धार गरेका थिए। यस हिंसात्मक घटना र भौतिक क्षतिका कारण शुक्रबार ‘प्रथम आलो’ र ‘डेली स्टार’ दुवै पत्रिका प्रकाशित नहुने जनाइएको छ।