दब्ल्याङको पहिरो नियन्त्रण गर्ने प्रयास

हिउँदमा जसोतसो चल्ने सवारीसाधान बर्खामा पर्वत घुमेर आउनुपर्ने बाध्यताको अन्त्यका लागि पहिरो नियन्त्रणको काम थालिएको छ।

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ। बागलुङ-१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक बगाएपछि पहिरो नियन्त्रण गर्न थालिएको हो।

कालीगण्डकी करिडोर बागलुङ–कुश्मिसेरा बागलुङ सडकको दिगो समाधानका लागि ३ करोड खर्चेर पहिरो नियन्त्रण गर्न थालिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीका डिभिजन प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार हिउँदमा जसोतसो चल्ने सवारीसाधान बर्खामा पर्वत घुमेर आउनुपर्ने बाध्यताको अन्त्यका लागि पहिरो नियन्त्रणको काम थालिएको हो। 

पहिरो नियन्त्रणका लागि १८ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएकामा बहुवर्षीय योजनामा समावेश गरी नियन्त्रणको काम थालिएको श्रेष्ठले बताए। ठेक्का खोल्नुपूर्व अध्ययनको टोलीसमेत फर्किएको बताउँदै चालु आवमा पहिरोको समस्यालाई समाधानको प्रयास गरिएको उनको भनाइ छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका डिभिजन प्रमुख श्रेष्ठका अनुसार यस वर्ष पहिरोको पानी तर्काउने कामसँगै पहिरो क्षेत्रमा बायो इन्जिनियरिङ प्रविधिको प्रयोगबाट नियन्त्रणको प्रयास हुनेछ।