कारागारको भान्साघर निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

पर्वत कारागारको भान्साघर निर्माणमा २१ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ— पर्वत कारागारको भान्साघर निर्माणका क्रममा २१ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियारले कारागार कार्यालय कुस्मा, पर्वतका तत्कालीन कार्यालय प्रमुख शिला श्रेष्ठ, इन्जिनियर र निर्माण व्यवसायीसहित पाँच जनाविरुद्ध २१ लाख ५५ हजार ७३५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

अख्तियारले कारागार कार्यालय कुस्माका तत्कालीन कार्यालय प्रमुख तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष श्रेष्ठ, सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकास अधिकारी, कारागारकै नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतका सह-लेखापाल सुभाष घर्तीलाई प्रतिवादी बनाएको छ। त्यस्तै, गलत प्रक्रियाबाट ठेक्का हात पारेको भन्दै मोदीकाली कन्स्ट्रक्सनका प्रोपाइटर प्रदिप तिमिल्सिनालाई समेत मतियारको रूपमा मुद्दा चलाइएको छ। उनीहरूले मिलेमतोमा सरकारी कोषको दुरुपयोग गरी निजी लाभ लिएको र कानूनी प्रक्रियाको गलत व्याख्या गरी राज्यलाई आर्थिक भार पारेको आयोगको दाबी छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माणका लागि ठेक्का आह्वान गर्दा बोलपत्र मूल्यांकनका क्रममा गम्भीर अनियमितता भएको अनुसन्धानबाट खुलेको छ। सबैभन्दा कम ४२ लाख १६ हजार ६५८ रुपैयाँ कबोल गर्ने सौर्य किरण कन्स्ट्रक्सनलाई बिनाकारण नियतवश अयोग्य देखाई धेरै रकम कबोल गर्ने मोदीकाली कन्स्ट्रक्सनलाई ठेक्का सुम्पिएको पाइएको छ। कम र बढी रकमबीचको फरक २१ लाख ५५ हजार ७३५ रुपैयाँ सरकारलाई नोक्सान पुर्‍याएको अख्तियारले जनाएको छ।

प्रतिवादीहरूबाट जनही बिगो असुलउपरसँगै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र १९ (२) बमोजिमको कसुरमा बिगो बमोजिम जरिबाना र कैद सजायको मागदाबी गरिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।