डोपिङ सूचीमा भारत फेरि पहिलो

गत वर्ष सबैभन्दा धेरै डोपिङका घटना एथलेटिक्समा देखिएका छन्, जसमा ७६ खेलाडीको नतिजा पोजिटिभ आएको थियो। त्यसपछि भारोत्तोलनमा ४३ र कुस्तीमा २९ वटा घटना दर्ता भएका छन्।

विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा)ले लगातार तेस्रो वर्ष भारतलाई विश्वव्यापी खेलकुद डोपिङ ठगीको सूचीमा सबैभन्दा खराब प्रदर्शन गर्ने देशका रूपमा घोषणा गरेको छ। वाडाले यसलाई भारतका लागि ‘सन्देहास्पद ह्याट्रिक’को संज्ञा दिँदै स्थिति गम्भीर र चिन्ताजनक रहेको जनाएको छ।

अन्तर्राष्ट्रिय निगरानी निकाय वाडाले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार भारतको नेसनल एन्टी–डोपिङ एजेन्सी (नाडा)ले सन् २०२४ मा ७ हजार ११३ वटा पिसाब र रगतका नमूना संकलन गरेको थियो। तीमध्ये २६० नमूनामा प्रतिबन्धित औषधि (डोपिङ) पोजिटिभ देखिएको प्रतिवेदनमा उल्लेख छ।

सन् २०३० को राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने तयारीमा रहेको भारतका लागि यो नतिजा ठूलो धक्का मानिएको छ। भारतले सन् २०३६ को ओलम्पिक आयोजना गर्ने दीर्घकालीन महत्त्वाकांक्षा राखेको सन्दर्भमा यसलाई एक गम्भीर अवरोधका रूपमा हेरिएको छ।

एथलेटिक्स र कुस्तीमा उच्च जोखिम प्रतिवेदनअनुसार गत वर्ष सबैभन्दा धेरै डोपिङका घटना एथलेटिक्समा देखिएका छन्, जहाँ ७६ खेलाडीको नतिजा पोजिटिभ आएको थियो। त्यसपछि भारोत्तोलनमा ४३ र कुस्तीमा २९ वटा घटना दर्ता भएका छन्।

यसै वर्ष जुलाईमा अन्डर–२३ कुस्ती च्याम्पियन तथा पेरिस ओलम्पिककी क्वार्टरफाइनलिस्ट रितिका हुडा डोपिङ परीक्षणमा असफल भएपछि उनलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो। त्यस्तै, यस महिनाको शुरूमा भारतमा आयोजना भएको ‘युनिभर्सिटी गेम्स’का क्रममा डोपिङविरोधी अधिकारीहरूको कडा निगरानीका कारण केही खेलाडी भागेका थिए। जसका कारण केही ट्र्याक एन्ड फिल्ड प्रतियोगितामा एक जना मात्र खेलाडी प्रतिस्पर्धामा उत्रिएको लज्जास्पद रिपोर्ट पनि सार्वजनिक भएको थियो।

एक अर्ब ४० करोड जनसंख्या  भएको भारत सन् २०२२ र २०२३ मा पनि डोपिङ ठगीको सूचीमा पहिलो स्थानमै थियो। यसले त्यहाँ डोपिङको समस्या दीर्घकालीन र संस्थागत बन्दै गएको संकेत गर्छ।

अन्तर्राष्ट्रिय तुलना वाडाको प्रतिवेदनअनुसार सन् २०२४ मा ९१ वटा सकारात्मक मामिलासहित फ्रान्स सूचीको दोस्रो स्थानमा छ भने इटाली ८५ मामिलासहित तेस्रो स्थानमा छ। रुस र संयुक्त राज्य अमेरिका दुवै ७६–७६ मामिलासहित त्यसपछि रहेका छन्। जर्मनीमा ५४ र चीनमा ४३ वटा डोपिङका घटना दर्ता भएका छन्।

भारतको बचाउ र तयारी प्रतिवेदन सार्वजनिक भएपछि नाडा भारतले डोपिङविरुद्धको आफ्नो अभियानको बचाउ गरेको छ। बुधबार जारी विज्ञप्तिमा नाडाले भनेको छ, “हालका वर्षहरूमा भारतले आफ्नो एन्टी–डोपिङ संरचनामा उल्लेखनीय सुधार गरेको छ।” नाडाका अनुसार परीक्षणको संख्या मात्र नभई खेलाडीमा शिक्षा र जनचेतना जगाउने कार्यलाई पनि तीव्रता दिइएको छ।

नाडाले यस वर्ष डिसेम्बर १६ सम्म सात हजार ६८ वटा परीक्षण सम्पन्न भइसकेको र तीमध्ये ११० नमूना मात्र पोजिटिभ देखिएको दाबी गर्दै सुधार भइरहेको जानकारी दिएको छ।

यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले पनि भारतमा प्रदर्शन बढाउने औषधिहरूको व्यापक प्रयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो। आईओसीको दबाबपछि भारतीय ओलम्पिक संघले गत अगस्टमा नयाँ एन्टी–डोपिङ प्यानल गठन गर्नुका साथै सरकारले नयाँ राष्ट्रिय डोपिङविरोधी विधेयकसमेत पारित गरिसकेको छ।