अवकाशपछिको जाँगर: मौरी पालनबाट आम्दानी गर्दै घनश्याम

बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल १११ घार मौरी छन्। वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको उनी बताउँछन्।

राँझा– धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन्। 

बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन्। नेपाली सेनाको जागिरबाट अवकाश भएपछि खत्री मौरीपालनमा रमाइरहेका छन्। 

चार वर्षअघि २५ घारबाट शुरू गरेको मौरीपालनले उनलाई नयाँ पहिचान दिएको छ। पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब २० लाख रुपैयाँ आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ। 

बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल १११ घार मौरी छन्। परिवारको पनि साथ छ। यतिबेला कात्तिके मह काढ्ने र बिक्री गर्ने चटारो छ। वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले सुनाए।  

“बजारको समस्या छैन। उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ। तोरीको कात्तिके मह प्रतिकिलो ५०० र जंगली मह ७५० रुपैयाँमा बिक्री गरिरहेका छौँ,” उनले भने। यसरी आम्दानी गर्न संघर्ष पनि कम छैन। उनले मौसमअनुसार मौरीका घार असारदेखि मंसिरसम्म दाङका विभिन्न क्षेत्रमा, मंसिरपछि बर्दिया (बढैयाताल र राजापुर क्षेत्र) र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन दाङमा लैजाने गरेका छन्। 

जंगली महका लागि सिसौको रसका लागि बढैयातालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिए। 

“मौरीपालन देख्दा सजिलो लागे पनि यो उत्तिकै चुनौतीपूर्ण छ। मह काड्नु मात्र ठूलो कुरा होइन, वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिनु र शत्रु जीवबाट जोगाउन धेरै चुनौती छन्,” उनी भन्छन्, “१०० घार मौरी राम्ररी पाल्न सके मासिक १ लाख रुपैयाँसम्म कमाउन सकिन्छ।” 

यस व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ। मह काढ्ने बेला ११ जना र ढुवानीका बेला चार जनाले काम पाउने गरेका छन्। व्यवसायलाई थप व्यवस्थित गर्दै रोजगारीसमेत बढाउने योजना रहेको उनी बताउँछन्। 

“मेरो व्यवसायबाट आफ्नो परिवार मात्रै होइन, स्थानीयले पनि केही न केही लाभ पाइरहेको छन्। त्यसैले यसलाई थप व्यवस्थित र विस्तार गर्ने योजना छ,” उनी भन्छन्, “हाल २५० घार पुर्‍याउने लक्ष्यका साथ घारको व्यवस्थापन गरिसकेको छु।”