श्रमिकको पञ्जीकरणका लागि टोखा नगरपालिकामा ‘श्रम डेस्क’ स्थापना

श्रम डेस्कबाट श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण गर्ने, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लगायत काम गर्ने नगरपालिकाले जनाएको छ।

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकामा ‘श्रम डेस्क’ स्थापना गरिएको छ। टोखाले श्रमिकहरूको हक, हित र अधिकारको रक्षाका लागि मंगलबारदेखि ‘श्रम डेस्क’ स्थापना गरी सञ्चालनमा ल्याएको हो।

उक्त डेस्कको शुभारम्भ गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरभित्र रहेका श्रमिकको हक, हित र अधिकारको रक्षाका लागि श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम डेस्क स्थापना गरेको बताए।

नगरपालिकाले श्रम डेस्कबाट श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण गर्ने, श्रमिकहरूका उजुरी तथा गुनासोको सुनुवाइ गर्ने, श्रमिक तथा रोजगारदाता विचमा असल सम्बन्ध स्थापित गर्ने, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, श्रम अनुगमन तथा निरीक्षण प्रणालीको विकास गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए।

टोखाले नगरपालिकाभित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई श्रम डेस्कमा सम्पर्क गरी सूचीकृत हुन आउनसमेत अनुरोध गरेको छ। टोखाले श्रम डेस्क स्थापना गरेर श्रमिकको हकहितको लागि गरेको कार्य प्रशंसनीय रहेको श्रमिक संघ संस्थाहरूले बताएका छन्।