अन्तर्राष्ट्रिय यातायात मार्ग अघि बढाउने रुस र इरानको तयारी

सन् २०२३ जुलाइमा इरान र रुसले आईएनएसटीसीको रूपमा इरानभित्र रेलवे निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।

अन्तर्राष्ट्रिय यातायात मार्ग अघि बढाउने रुस र इरानको तयारी
तेहरान टाइम्स

रुस र इरानले दक्षिण एशियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। 

इरानको राजधानी तेहरानमा भएको बैठकमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र रुसी यातायात उपप्रधानमन्त्री भिटाली साभलेभले अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात कोरिडोर (आईएनएसटीसी) परियोजना सम्पन्न गर्ने विषयमा छलफल गरेका हुन्। 

लारिजानीले परियोजना कार्यान्वयन गर्न इरानको तयारीलाई प्रकाश पारेका थिए। आफ्नो देशले निकट भविष्यमा नै यसका अवरोध हटाउने र परियोजना कार्यान्वयनलाई कानूनी र प्रशासनिक रूपमा सुदृढ पार्न आवश्यक सम्झौता गर्ने उनको भनाइ थियो।  

साभलेभले आफ्नो तर्फबाट इरानको निर्णायक दृष्टिकोणलाई स्वागत गर्दै यस परियोजनालाई यसको परिचालन चरणमा अगाडि बढाउन मस्को तयार रहेको बताए।   

दुवै पक्षले दिगो द्विपक्षीय सहयोगलाई सुदृढ गर्न र स्वतन्त्र क्षेत्रीय सम्पर्क मार्ग निर्माण गर्न आईएनएसटीसी आफ्नो देशको संयुक्त रणनीतिको हिस्सा भएको कुरामा जोड दिएको जनाइएको छ।  

सन् २०२३ जुलाइमा इरान र रुसले आईएनएसटीसीको रूपमा इरानभित्र रेलवे निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। १६२ किलोमिटर लामो रेलवेले पूरा भएपछि उत्तरी इरानी शहर राश्त र अस्तारालाई जोड्नेछ। (रासस/सिन्ह्वा)