सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने युवा पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न म्याग्दीका बगैँचामा आएका हुन्।

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्। विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरू पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन्। मंसिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्ने उनीहरू भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन्। 

२० जनाको समूहमा गाउँकै ठेकेदारमार्फत बेनी नगरपालिका–४ बास्कुनामा सुन्तला टिप्न आएका छ। धादिङको रुबीभ्याली गाउँपालिका–५ रिका दिलीप घलेले सुन्तला टिप्ने कामबाट मौसमी रोजगारी मिलेको बताए। “पढाइ र घरखर्च चलाउने पैसा जुटाउनका लागि सुन्तला टिप्न आएको हो,” उनले भने, “तीन महिना काम गरेपछि घर फर्किएर ११ कक्षाको पढाइलाई निरन्तरता दिने हो।” 

यहाँका बगैँचामा सुन्तला टिप्न आउनेमा अधिकांश धादिङ र गोरखाका मजदुर छन्। जिल्लाभर २०० भन्दा बढीले सुन्तला टिप्ने रोजगार पाएका बताइएको छ। यहाँका बगैँचामा फलेका सुन्तला टिप्ने र बजार पठाउन हिजोआज किसान तथा मजदुरलाई भ्याइनभ्याइ छ। सुन्तला टिप्ने काम गर्ने उनीहरूले खाना खाएर मासिक रु १५ देखि २० हजार तथा दैनिक रु ७०० देखि ८०० ज्याला पाउने गरेका छन्। 

बोटमा सुन्तला टिप्ने, ग्रेडिङ, गाडीमा लोड र अनलोड गर्न मजदुरको आवश्यकता पर्छ। सुन्तलाखेती गरेका किसानका साथै स्थानीय र अन्य जिल्लाका मजदुरहरूलाई रोजगारी मिलेको बेनी–३ राखुका भवीकला रानाले बताइन्। गत वर्ष म्याग्दीबाट ३३ करोड रुपैयाँ मूल्य बराबरको चार हजार ७८१ मेट्रिक टन सुन्तला बिक्री भएको थियो। जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ। कार्यालय प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष पनि गत वर्षको मात्रामा सुन्तला उत्पादन हुने अनुमान गरिएको बताए।   

राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन्। सुन्तला बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायत बजारमा बिक्री हुने गरेको छ। यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन्।