विस्फोटक पदार्थसम्बन्धी कसुरमा श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार लामा पक्राउ

सीआईबीले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई पक्राउ गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई पक्राउ गरेको छ।

धनकुटा स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–११, कपन निवासी ५० वर्षीय लामा 'कुमार', 'विश्वक्रान्ति' र 'देवराज लामा' उपनामले चिनिन्छन्। उनलाई सीआईबीको टोलीले मंगलबार कपनस्थित उनकै घरबाट पक्राउ गरेको हो।

थप कानूनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

सीआईबीका अनुसार २०६८ फागुन १५ गते काठमाडौँ–११, बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विस्फोट गराइएको थियो। उक्त विस्फोटमा मानबहादुर तामाङसमेत तीन जनाको मृत्यु भएको थियो भने सोम तामाङलगायत घाइते भएका थिए। उक्त घटनापछि लामाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा दायर भएको थियो।

लामालाई २०६९ असार १२ गते पाँचथर, लुङरूपा–२ भुसपातेबाट विस्फोटक पदार्थसहित फेला पारी पक्राउ गरिएको थियो। उनलाई सोही समयमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाको कारबाहीका लागि केन्द्रीय कारागार, नख्खु पठाइएकोमा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा उनी छुटेका थिए।

तर, उनीउपर जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा भने फरार रहेका थिए। त्यसैले, उनलाई पक्राउ गरी थप कानूनी कारबाहीका लागि पाँचथर पठाइएको सीआईबीले जनाएको छ।

लामालाई पक्राउ गरिएपछि मेयर हर्क साम्पाङले आफ्नो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “के भएको हो सो बुझेर जानकारी दिनेछौँ! कुरा बुझ्दा क्रान्तिको बेलाको कुरा भन्ने सुन्दैछु! प्रतिषोध भन्ने आको छ प्रारम्भिक!”