भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ।
बाँके– भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ।
सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने युवती मानव बेचबिखनको जोखिममा पर्ने सम्भावना बढेको हो।
भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगञ्ज जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्र नेपालगञ्जका प्रतिनिधिले बेचबिखनको जोखिममा रहेको आशंकामा चार दिनअघि रोकेर परामर्श गर्दा यस्तो वास्तविकता खुलेको हो।
शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगञ्जकी संयोजक सम्झना चँदाराका अनुसार सामाजिक सञ्जालमा प्रेम सम्बन्ध गाँसिएकै आधारमा यी दुई युवती भारतीय व्यक्तिसँग विवाह गर्न राजी भई भागेर सिमला जाने क्रममा उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये दाङकी एक युवतीको उमेर १५ वर्षमात्र छ भने अर्घाखाँचीकी युवतीको उमेर २२ वर्ष रहेको उनले जानकारी दिइन्।
संयोजक चँदाराले पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट कुराकानी भएकै भरमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न भन्दै त्यसतर्फ जाने युवतीको सङ्ख्या बढ्दै जानुले बेचबिखनको जोखिमलाई झन बढाएको बताइन्।
“सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न राजी हुनु आफैँले जोखिम निम्त्याउने काम हो,” उनले भनिन्।
केन्द्रको पहलमा दाङकी युवतीलाई अभिभावकसँगको सम्पर्कपछि पारिवारिक पुनर्मिलन गराइएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग नेपाली युवतीलाई विवाह गराउने कार्यमा कतिपय नेपाली महिलाले नै समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताइन्।
“भारतीय नागरिकसँग विवाह गरेकी महिलामार्फत नेपालका चिनेजानेका युवतीसँग सामाजिक सञ्जालमा जोडिने गरेको पाइएको छ,” पुरीले भनिन्, “नेपाली युवती विवाहका लागि राजी भएर भारत पुगेमा समन्वय गर्ने नेपाली महिलाले आर्थिक लाभ पाउने भएकाले यो समस्या बढ्दै गएको हो।” आर्थिक लाभको लोभमा आफ्नै देशका चेलीलाई जोखिममा पार्ने प्रवृत्ति चिन्ताजनक रहेको उनको भनाइ छ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इन्चार्ज एवं प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा घरबाट भागेर भारत पुग्ने महिला उच्च बेचबिखनको जोखिममा रहेकाले सबै यसतर्फ सचेत हुनुपर्ने बताए।
उनले बेचबिखनविरुद्ध क्रियाशील संघसंस्थाको समन्वयले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा सहयोग पुगेको उल्लेख गर्नुभयो। प्रहरी निरीक्षक मल्लका अनुसार दलालले विशेषगरी आर्थिक रूपमा कमजोर र पारिवारिक समस्यामा रहेका महिलालाई लक्षित गर्ने गरेका छन्।
शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालमा देखिने क्षणिक आकर्षण र प्रलोभनले निम्त्याएको यो जोखिमले सीमा नाकामा कडाइ र सचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याए। आफूहरूले भारतीय सहरमा बेचिएका र अलपत्र अवस्थामा रहेका नेपाली महिलालाई त्यहाँका सरकारी र गैरसरकारी निकायसँगको सहकार्यमा उद्धार गर्दै आएको उनले बताए।
नेपालगञ्जस्थित जमुनाह नाकामा शान्ति पुनःस्थापना गृहसँगै माइती नेपाल, साथी संस्थालगायत करिब एक दर्जन संघसंस्थाले मानव बेचबिखनविरुद्ध क्रियाशील रहँदै आएका छन्। शान्ति पुनःस्थापना केन्द्रले मात्रै गत आवमा ३९९ जनाको उद्धार गरेको थियो।
केन्द्रका जिल्ला कार्यक्रम संयोजक चँदाराले गत आवमा ३०३ जनालाई सिधै अभिभावकको जिम्मा लगाइएको जनाउँदै ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पुर्याइएको बताइन्।
शान्ति पुनःस्थापना गृहले बाँकेको नरैनापुर, डुडुवा, जानकी, कोहलपुर र जमुनाह गरी पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
