मेलम्ची भ्रष्टाचार मुद्दा: खानेपानी सचिवसहित १७ जनाविरुद्ध अख्तियार सर्वोच्चमा

अख्तियारले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्मावसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्षहरू र मन्त्रालयका सचिवहरू भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर तथा तत्कालीन बोर्ड सदस्यहरू रुद्रसिंह तामाङ, मुकुन्दप्रसाद पौडेलसहित १७ जनाविरुद्ध पुनरावेदन दिएको जनाएको छ।

फैसला पुनरवलोकनका लागि सर्वोच्चमा गरिएको पुनरावेदनमा जेनजी शहीद परिवारका तर्फबाट सरकार तथा जेनजी आन्दोलनकारी बीचको सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापालाई विपक्षी बनाइएको छ।

२०८० फागुनमा अख्तियारले मेलम्ची भ्रष्टाचारबारे विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बिगो कायम गरेर जरिबाना र कैद सजाय माग दाबी गरिएको थियो। 

२०८१ भदौ १६ गते विशेष अदालतले आंशिक सफाइ दिएको उक्त फैसलाउपर चित्त नबुझेपछि अख्तियारले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो।