सर्लाही–४ बाट उम्मेदवार बन्न ‘इच्छुक’ डा. राजेश्वर सिफारिसमै परेनन्

डा. राजेश्वर सिंहले आफू सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न इच्छुक रहेको बताए पनि कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले उनको नाम दर्ता गर्न नै अस्वीकार गरेको छ।

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महासमिति सदस्य ई.डा. राजेश्वर सिंह सिफारिसमा परेनन्। डा. राजेश्वर सिंहले आफू सर्लाही–४ बाट निर्वाचनमा उम्मेदवार बन्न इच्छुक रहेको बताए पनि कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले उनको उम्मेदवारी दर्ता गर्न नै अस्वीकार गरेको हो।

राजेश्वरले मंसिर २३ गते प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत पत्र र सोही दिनको बैठक दुवैमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सदस्यका लागि दाबी गरेका थिए। “...नेपालको ऐतिहासिक लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य (प्रत्यक्षतर्फ) पदको उम्मेदवारको रूपमा पार्टीले विश्वास गरेमा उक्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नेछु,” उनले पत्रमा लेखेका छन्।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत सर्लाही–४ बाट मधेश प्रदेशसभा सदस्य वीरेन्द्र सिंह र कांग्रेस महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ। यद्यपि, कांग्रेस मुख्यालयले प्रदेशसभा सदस्यको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस नगर्न सर्कुलर जारी गरेको छ। यस कारण वीरेन्द्र उम्मेदवार हुन पाउँदैनन्। राजेश्वरका अनुसार बैठकमा महामन्त्री थापाको नाम सिफारिस गर्ने प्रस्ताव नै नआए पनि उनको नाम सिफारिस गरिएको हो।

आफ्नो नाम नै दर्ता नभएपछि निराश मात्रै होइन, डा. राजेश्वरले मंसिर २६ गते प्रेस विज्ञप्ति जारी गरेर विरोध जनाएका थिए। “लिखित रूपमै निवेदन प्रस्तुत गर्दा पनि सिफारिस नगर्नु, निवेदन नै दर्ता नगर्नु र गर्न नदिनु र दाबेदारी नै प्रस्तुत नगरेको व्यक्तिको नाम सिफारिस गर्नु यस्तो अलोकतान्त्रिक, स्वेच्छाचारी र बाहुबली प्रवृत्ति अत्यन्तै आपत्तिजनक विषय हो। यसको म घोर विरोध गर्दछु,” उनले विज्ञप्तिमार्फत भनेका छन्, “उम्मेदवारीका लागि एकल नाम सिफारिस गराउन खोज्ने तर मत सबैले दिनु र दिलाउनै पर्छ भन्ने प्रवृत्तिले कसरी नेपाली कांग्रेसको हित हुन्छ? यस्तो प्रवृत्तिले घात र अन्तर्घात मात्र मौलाउँदैन र?”

राजेश्वरले आफ्नो नाम सिफारिस नहुनुमा वर्तमान प्रदेशसभा सदस्य वीरेन्द्रकै भूमिका रहेको आरोप लगाए। उनका अनुसार वीरेन्द्रले नै आफ्नो र थापाको नाम मात्रै सिफारिस गर्न लगाएका थिए। “मैले विधानबमोजिम नै उम्मेदवारी दर्ता गर्न लागेका थिएँ। तर उनी (वीरेन्द्र सिंह) बाहुबल देखाएर मेरो नाम दर्ता हुनै दिएनन्,” सिंहले उकालोसँग भने, “उनले ठाडै भने– यो क्षेत्रबाट मेरो र गगन थापाको नाम मात्रै जान्छ, तपाईंलाई जहाँ गएर जसलाई भन्न मन छ भने हुन्छ।”