एमाले ११औँ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान पुस १ गते

पार्टीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया मंसिर २८ गतेबाट शुरू हुनेछ। सार्वजनिक गरिएको कार्यतालिका अनुसार मतदान पुस १ गतेका लागि तोकिएको छ।

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनअन्तर्गत हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार, निर्वाचनका सम्पूर्ण कार्यक्रम मंसिर २८ देखि पुस १ गतेसम्म महाधिवेशन स्थलमा सम्पन्न हुनेछन्।

आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा हस्ताक्षरित सूचनाअनुसार पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रक्रिया मंसिर २८ गतेदेखि शुरू हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार, पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयनका लागि मंसिर २८ गते मतदाता नामावली प्रकाशन हुनेछ। २९ गते मतदाता नामावलीउपर दाबी विरोधको प्रक्रिया सम्पन्न गरी छानबिनसहित अन्तिम नामावली प्रकाशन गरिनेछ। 

त्यसैगरी, सोही दिन उम्मेदवारको दरखास्त फारम वितरण, उम्मेदवारको प्रारम्भिक र अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम छन्। नयाँ नेतृत्व चयनका लागि पुस १ गते बिहान ११:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मतदान हुने तालिकामा उल्लेख छ। मतदान सम्पन्न भएलगत्तै मतगणना शुरू गरिने र मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा गरिने आयोगले जनाएको छ।

भृकुटीमण्डपमा आइतबारदेखि एमालेको महाधिवेशनको बन्दसत्र जारी छ। शनिबारदेखि शुरू भएको एमालेको ११औँ महाधिवेशन मंसिर २८ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको थियो। पुस १ गते निर्वाचन गर्ने गरी तालिका आएपछि, एमालेको महाधिवेशन थप लम्बिने भएको छ।