एनपीएल: उपाधिका लागि खेल्दै सुदूरपश्चिम र लुम्बिनी

एपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्। 

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो। लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमलाई शुरूदेखि नै उपाधिको दाबेदार मानिँदै आएको छ। मैदानमा पनि उसले सोहीअनुरूप प्रदर्शन गरेको छ। गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी यसपटक ट्रफी भित्र्याउने दाउमा छ। लिग चरणमा भएको यी दुवैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो।

एपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ।

नेपाल क्रिकेट संघको आयोजनामा मंसिर १ गते शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको थियो।