एमालेको ११औँ महाधिवेशन आजदेखि

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गर्ने तयारी छ।

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि शुरू हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए। उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गर्ने तयारी छ। 

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसंगठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ड्रेसकोडमा खटिने जनाइएको छ। जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ।

लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्त्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ।

टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएका छन्। तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ।

महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई  रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ। पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झन्डा राखिने, १० वटा झन्डा शुरूमै फहराइने, एउटा झन्डा रिमोटबाट फहराउने तयारी गरिएको छ।

महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठाघरमा रहेको नागरिक उड्डयन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ।