जग्गा छुट दर्ताका लागि घुस लिने नापी कार्यालय पर्साका २ कर्मचारीविरुद्ध मुद्दा

अख्तियारको टोलीले मंसिर २ गते दुवै जनालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

पर्सा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगको टोलीले मंसिर २ गते दुवै जनालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार, अनुसन्धानको सिलसिलामा सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायसमेतको आपसी मिलेमतो र योजनामा वीरगन्ज महानगर–२५ स्थित कित्ता नम्बर ५५ क्षेत्रफल ०.०६४ वर्गमिटर जग्गा छुट दर्ता गर्न सहजीकरणका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको हो।

आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ।