आईबीए पुरुष विश्व बक्सिङमा नेपाली बक्सर चन्द्रलाई कांस्य

सेमिफाइनलमा चन्द्र काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए। पुरस्कारबापत उनले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

काठमाडौँ– दुबईमा जारी आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले कांस्य पदक जित्दै इतिहास रचेका छन्।

सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए। पुरस्कारबापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन्। चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५–० अंकले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५–० अंकले र अन्तिम ८ मा इरानका काजेमी मेहदीलाई ५–० अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए। तर सेमिफाइनलमा काजकस्तानका खेलाडी बिबोसिनोभ साकेनसँग ५–० ले पराजित भए।  

प्रशिक्षक दीपक महर्जनले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुशी व्यक्त गरे। “जापानमा हुने २०औँ एशियाली खेललाई लक्षित गर्दै यो प्रतियोगितामा सहभागी भएका हौँ। ऐतिहासिक उपलब्धि हासिल भएको छ,” उनले भने।