कैलाली अदालत र कारागार तोडफोडको आरोपमा १० जना पक्राउ

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका छन्।

प्रतीकात्मक तस्वीर

सुदूरपश्चिम– जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको छ।

जिल्ला अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको अरोपमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आषिश भण्डारी, बैतडी जिल्ला घर भई हाल धनगढी उपमहानगर–३ बस्ने भरत बम र सोही ठाउँ बस्ने अमन केसी, वडा–७ का २७ वर्षीय एलेक्स चन्द, २१ वर्षीय लक्ष्मणबहादुर विष्ट र वडा–१ बस्ने मनोज विष्टलाई पक्राउ गरिएको हो। 

त्यस्तै, कैलाली कारागारमा तोडफोड र आगजनी गरेको आरोपमा धनगढी–२ का २८ वर्षीय गोपाल भट्ट, वडा–३ का जेम्स भन्ने सुरज कटुवाल, वडा–९ बस्ने ४० वर्षका वसन्तराज जोशी र १९ वर्षका अंकित सक्सेनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले फरकफरक मितिमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकामाथि आपराधिक उपद्रवको मुद्दा चलाइएको छ। उनका अनुसार जिल्ला अदालतले तोडफोड र आगजनी घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीका लागि दिएको जाहेरीका आधारमा प्रहरीले विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।

आन्दोलनका क्रममा जिल्ला अदालतमा आगजनी र तोडफोड हुँदा भवनमा क्षति पुग्नुका साथै विभिन्न मुद्दाका मिसिल, कम्प्युटरलगायत सामानहरू नष्ट भएका थिए। कैलाली कारागारमा भएको तोडफोडका कारण कारागारको भौतिक संरचनामा क्षति पुग्नुका साथै केही कैदीबन्दी फरार भएका थिए।

यसैबीच, कैलालीको भजनी नगरपालिका–९ गन्जहुवा गाउँस्थित सरस्वती सामुदायिक वन क्षेत्रको लम्की ताल छेउमा रहेको रूखको टोड्कोमा लुकाइछिपाइ राखिएको अवस्थामा बुधबार एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ।