विभिन्न पुस्तासँग अर्थपूर्ण संवाद गर्न रचनात्मक, समयको चाल बुझ्न सक्ने र कांग्रेसको अर्थ राजनीतिक अवधारणामार्फत तिनका समाधान खोज्न सक्ने, तदनुरूप चाहिने टिम निर्माण गर्न सक्ने नेतृत्व चाहिएको छ।
भदौ २३ र २४ मा भएको अभूतपूर्व जेनजी विद्रोहपश्चात् नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित वा विशेष महाधिवेशनमार्फत उक्त पार्टीको नेतृत्व फेर्न जोडबलले लागेका छन्। शेरबहादुर देउवापछिको तर संस्थापन पक्ष भनिएर चिनिएको समूह पार्टीमा आफ्नो प्रभाव गुम्ने र हालका महामन्त्रीले नेतृत्व लिन सक्ने डरले जुनसुकै हालतमा आम चुनावपछि महाधिवेशन गर्ने रटान लगाइरहेको थियो।
अहिले भने पार्टीको उक्त संस्थापन पक्ष बाध्य भएर आम निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न तयार भएको छ। पार्टीको विधान अनुसार गर्नुपर्ने समयमा नियमित, नत्र बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेपछि बाध्यकारी रहेको विशेष महाधिवेशन पनि गर्ने कि नगर्ने भन्ने विषयमा एक महिनाभन्दा बढी निर्णयविहीन रहनुले उक्त पार्टीको सुस्त कार्यशैली र निर्णय प्रक्रिया प्रस्ट देखाउँछ। यो प्रक्रियामा व्यक्ति केन्द्रित र गुटगत तर्क वितर्कले कांग्रेस मुलुक र समाजको आवश्यकता भन्दा पनि व्यक्ति र समूहको रुचिको व्यवस्थापनमा रुमल्लिएको समेत देखाउँछ।
संस्थापन पक्षका प्रभावशाली नेताहरू जेनजी आन्दोलनले मुलुक र दलहरूलाई दिएको गम्भीर सन्देश बुझ्न सकिरहेका छैनन्। चुनाव अगाडि महाधिवेशन नगर्दा आम चुनावका समयमा महामन्त्री थापाले नेतृत्व गरेको समूहको भूमिका कमजोर बनाउन सकिने र यस्तो हुँदा पार्टी बाहिर बिस्तारै अलोकप्रिय बन्दै गएका गगन थापालाई थप कमजोर बनाउन र विस्थापित नै गर्न सकिने बुझाइ उनीहरूको हुनसक्छ। नत्र लोकतन्त्रको वकालत गरेर कहिल्यै नथाक्ने दलका नेताको महाधिवेशनजस्तो लोकतान्त्रिक विधिले मतभेद र विभाजन बढाउँछ र आम चुनावमा दललाई नकारात्मक असर पार्छ भन्ने तर्क बुझि नसक्नु विरोधाभाषी छ। मुलुकको यस्तो संवेदनशील मोडमा आशा देखाउन सक्ने नयाँ विचार, कार्य योजना र नेतृत्व लिएर जाँदा उल्टै आम चुनावमा नयाँ ऊर्जा सञ्चार हुने आकलन सजिलै गर्न सकिन्छ।
महामन्त्री द्वयका लागि भने चुनाव अगाडि महाधिवेशन उनीहरूकै सार्वजनिक प्रतिबद्धताका कारण समेत राजनीतिक अस्तित्वकै विषय बनेको छ। योजना र आसाविहीन राजनीतिको हिस्सा बन्दा र कांग्रेसका पुराना र अलोकप्रिय नेतालाई बोकेर हिँड्दा उनीहरूको अलोकप्रियताको लाइन ग्राफ उकालो लागिरहेको छ। केन्द्रीय समितिमा अहिलेको संस्थापन पक्षको बहुमतका कारण महामन्त्रीजस्तो महत्त्वपूर्ण पदमा बसेर पनि एजेन्सी (हैसियत) देखाउन सक्ने अवस्थामा उनीहरू नरहेको जनतालाई बुझाउन पनि उनीहरूलाई कठिन भइरहेको छ।
आलोचक र विपक्षीहरूले यिनै कारणले गगन थापा पनि कांग्रेसका अरू नेताभन्दा फरक नभएको भन्न थालेका छन् भने कांग्रेस संस्थापनका व्यक्तिहरू उनलाई मुख्य निर्णयहरू गर्न पनि नदिने र उनले केही गर्न सकेनन् भनेर भ्रम फैलाउने दोहोरो खेलमा लागेका देखिन्छन्। महाधिवेशन प्रतिनिधिको करिब ५५ प्रतिशत बहुमतले आमनिर्वाचन अगाडि नै विशेष महाधिवेशनपछि गर्नुपर्छ भनी पेस गरेको लिखित मागलाई संस्थापन पक्षको बहुमत रहेको केन्द्रीय समितिले एक महिनाभन्दा बढी झुलाएर राखेबाट पनि थापा र शर्मा महामन्त्री नै भए पनि निर्णायक काम गर्न सक्ने अवस्थामा रहेनछन् भन्ने प्रस्ट देखाउँछ। जेनजी आन्दोलनपछि भने धेरैको शंकालाई चिर्ने गरी महामन्त्रीद्वयले ‘पार्टीको औपचारिक निर्णय’को प्रतिरक्षा मात्रै गर्ने भन्दा पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सिधै जनतासँग अन्तरक्रिया गर्ने रचनात्मक शैली अँगालेका छन्।
गगन थापाको नेतृत्वमा पार्टी पुर्नसंरचना र नेतृत्व परिवर्तनको पहलकदमीलाई उनको व्यक्तिगत र राजनीतिक महत्वाकांक्षासँग मात्रै जोडेर हेर्नु गम्भीर भुल हुन्छ। थापालगायत केही प्रभावशाली ‘युवा’ नेतामा देखिएको छटपटीलाई समग्रमा कांग्रेस पुनर्संरचनाको उकुसमुकुसका रूपमा बुझ्नुपर्छ। अहिले कांग्रेसले गर्ने निर्णयले उक्त दलभित्र मात्र नभई समग्र मुलुककै आन्तरिक राजनीतिक विकास क्रम र बाह्य चुनौतीसँग जुध्ने सन्दर्भमा समेत दूरगामी प्रभाव राख्छ। गगन थापाको अहिलेको पहलकदमीप्रति समाजको सचेत तप्काले लिएको चासो र व्यक्त गरेको शुभेच्छा थापा प्रतिको व्यक्तिगत सद्भाव मात्र होइन, कांग्रेस, मुलुकको लोकतन्त्र, आन्तरिक राजनीतिक विकास क्रम र नेपालको जिम्मेवार ढंगको विदेश नीति र अन्तर्राष्ट्रिय संलग्नताप्रतिको चासो पनि हो।
कांग्रेसको पुर्नसंरचना — मुलुककै माग
अहिले कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेस केन्द्रित पार्टीहरूमा समेत देखिएको भ्रष्ट र दोहनकारी प्रवृत्ति, समाजका हरेक अंगको चरम दलीयकरण र साना भन्दा साना कामका लागि पनि दलको शरण पर्नुपर्ने अवस्थाका कारण यी दलप्रति समाजकै तहमा वितृष्णा उत्पन्न भएको हो। तर नेपालको इतिहास मात्र होइन, वर्तमानको अनुभवले पनि कांग्रेसजस्तो मध्यमार्गी, जस्तोसुकै अवस्थामा पनि लोकतान्त्रिक प्रणालीप्रति प्रतिबद्ध दलको महत्त्व र अपरिहार्यता दर्साएको छ। कांग्रेस असफल हुँदा यो बिचार प्रणालीको रिक्तता भर्न यस्तै विचार बोकेको अर्को कुनै दल नै नेपालमा स्थापित हुनुपर्छ।
ऐतिहासिक विरासतको पुँजीसमेत भएकाले व्यापक पुर्नसंरचना गरेर अहिलेको मागलाई सम्बोधन गर्ने इमानदार प्रयाससाथ अगाडि बढेको खण्डमा मुलुकले अर्को यस्तै शक्ति स्थापित गर्ने राजनीतिक प्रयोग भोगिरहनु पर्दैन। कांग्रेसलगायत मुख्य दलमा केन्द्रदेखि वडासम्म विद्यमान दोहनकारी (रेन्टसिकिङ) प्रवृत्तिका कारण समाजले अहिले खोजेजस्तो पुर्नसंरचना बहुतै कठिन भने छ, तर इमानदार, सचेत र निरन्तर प्रयास गर्ने हो भने सायद असम्भव नहोला। त्यसका लागि सक्षम नेतृत्व महत्त्वपूर्ण पूर्व सर्त हो।
कांग्रेसको जस्तो इतिहास र मध्यमार्गी विचारधारा भएको दल अहिले नेपालका लागि झन् आवश्यक हुँदै गएको विगत र वर्तमान दुवैले देखाएको छ। नेपालको राजनीतिमा उग्र वामपन्थी, उग्र दक्षिणपन्थी, उग्र पहिचानवादी, राजावादी, धर्म सापेक्ष र धर्म निरपेक्ष राज्य वकालत गर्ने उग्रपन्थीहरू समय क्रममा चाहेर या नचाहेर, स्विकारेर या स्वीकार नगरीकन कांग्रेसले नै अवलम्बन गरेजस्तो मध्यमार्ग र लोकतान्त्रिक विधिमा आउन बाध्य भएका छन्। दुइटा फरक सभ्यता र राजनीतिक प्रणाली र खासै मैत्रीपूर्ण सम्बन्ध नभएका विशाल मुलुक भारत र चीनबीचको भौगोलिक अवस्थिति र विभिन्न भूराजनीतिक कारणले विश्वकै सबैभन्दा ठुलो लोकतन्त्र भारतसँग बढी निर्भरता र सघन सम्बन्ध रहेकाले पनि नेपालमा उग्रपन्थी धार निरन्तर प्रभावकारी रहन गाह्रो देखिन्छ।
विश्वबाट कम्युनिजम पराजित भइसकेको घोषणापछि पनि नेपालमा सशस्त्र संघर्ष गर्ने माओवादी उग्रवामपन्थ त्यागेर शान्ति प्रक्रिया र लोकतन्त्रको मूलधारमा अवतरण भएको उसको चाहनाले मात्रै होइन। बहुदलीय व्यवस्था र संविधानलाई आलोचनात्मक समर्थन गर्दै समाजवादमा पुग्ने मार्गका रूपमा प्रयोग गर्न उसको बहुचर्चित पाँचौँ महाधिवेशनबाट ‘जनताको बहुदलीय जनवाद’ अँगालेको एमाले पूर्ण रूपमा बहुदलीय व्यवस्थाप्रति प्रतिबद्ध हुनुमा पनि नेपालको भूराजनीतिक अवस्थितिको दबाबले नै मुख्य भूमिका खेलेको ठम्याइ यो लेखकको छ। कांग्रेसका केही नेताले दाबी गरेझैँ उक्त पार्टीकै सक्रिय पहलका कारण सबै लोकतान्त्रिक राजनीतिको मझधारमा आएका हुन् भन्नु भने अतिशयोक्ति हुन्छ।
कांग्रेसमा २०४६ पछिका करिब ३५ वर्षमा धेरै विकृति मौलाए। जनताका आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, सम्मानपूर्वक जीवनयापन र समग्र मुलुकको विकासमा गर्न सकिने योगदान उक्त दलको नेतृत्वबाट हुन सकेन। पूर्ण रूपमा सही मार्ग अँगाल्न नसके पनि कांग्रेसले माओवादीलाई शान्तिपूर्ण राजनीतिक मार्गमा अवतरण गराउन, दोस्रो जनआन्दोलनका बेला र नेपालको संविधान २०७२ मा जारी गर्ने बेला नेतृत्वदायी भूमिका खेलेको छ। अहिलेको राजनीतिक प्रणाली स्थापित हुनुमा कांग्रेससँगै वामपन्थी दलहरूको पनि उत्तिकै योगदान छ। तर अब प्रभावशाली राजनीतिक शक्तिका रूपमा कांग्रेस सान्दर्भिक रहिरहन चाहन्छ भने ऐतिहासिक विरासतले मात्र पुग्दैन। कांग्रेसको अहिलेको चरम अलोकप्रियताले पनि इतिहासको सावाँ र ब्याजले मात्रै सधैँ पार्टी चल्न सक्दैन भन्ने पुष्टि गर्छ।
इतिहासको विरासत जोगाउन र मुलुकका आन्तरिक र बाह्य चुनौतीसँग जुध्न कांग्रेसलाई गतिशील नेतृत्व चाहिन्छ। जेनजीलगायत विभिन्न पुस्तासँग अर्थपूर्ण संवाद गर्न उक्त पार्टीका लागि रचनात्मक, समयको चाल बुझ्न सक्ने र कांग्रेसको अर्थ राजनीतिक अवधारणामार्फत तिनका समाधान खोज्न सक्ने, तदनुरूप चाहिने टिम निर्माण गर्न सक्ने नेतृत्व चाहिएको छ। मुलुकका आन्तरिक र बाह्य दुवै किसिमका चुनौतीसँग जुध्न उक्त पार्टीमा सामान्य परिवर्तनले पुग्दैन, व्यापक पुर्नसंरचना जरुरी छ, उथलपुथल नै हुने गरी ‘सक थेरापी’को जरुरी देखिन्छ। मुलुकका सामु देखिएका तलको उपशीर्षकमा छलफल गरिएका आन्तरिक र बाह्य चुनौती सामना गर्दै अगाडि बढ्न सक्ने नेतृत्व कांग्रेसलाई अत्यावश्यक छ।
मुलुकसामु चुनौतीका चाङ
मुलुकका आन्तरिक चुनौतीलाई विभिन्न आधारमा वर्गीकरण गर्न सकिने भए पनि केही मुख्य राजनीतिक चुनौती यस लेखमा उल्लेख गर्ने जमर्को गरिएको छ। पहिलो, पुराना दलका अक्षम र भ्रष्ट नेताका कारण नेपालको संविधान र त्यसले तय गरेका गणतन्त्र, लोकतन्त्र, संघीयता र प्रणालीमाथि नै चुनौती खडा भएको छ। आगामी फागुनमा यही संविधान अन्तर्गत चुनाव गरेर राजनीतिक प्रणालीलाई पुनः लिकमा ल्याउने भनिए पनि भदौ २३ मा राज्यतर्फबाट भएको नरसंहार र भदौ २४ मा घुसपैठियाहरूबाट भएको व्यापक र गैर जिम्मेवार आगजनी-तोडफोडले असुरक्षाको भावना जनमानसमा गहिरो गरेर गडेको छ। यदि चुनाव हुन सकेन भने मुलुक गहिरो संवैधानिक संकटतर्फ मोडिन सक्छ। त्यस बेलाको रिक्तताले बहुआयामिक द्वन्द्व निम्त्याउन सक्ने खतरा पनि उत्तिकै छ।
दोस्रो, अहिले जेनजीलगायत युवा पुस्तामा पुरानो पुस्ताको अपारदर्शी, भ्रष्ट र अधिक शक्ति केन्द्रित राजनीतिप्रति मोहभंग भएको छ। इन्टरनेट, मोबाइल फोनलगायत प्रविधिको विकासले सकारात्मक, नकारात्मक सबै सूचना हात हातमा पुगेको छ। सूचना र जानकारीका लागि सरकारी र स्थापित सञ्चारमाध्यममा भर पर्नुपर्ने स्थिति अन्त्य भएर प्रत्येक व्यक्ति सूचना सिर्जना, प्रवाह र उपभोगमा जोडिँदा ‘छवि व्यवस्थापन’ गरेर राजनीति जोगाउने युग सकिएको भान हुन थालेको छ।
यसर्थ, अब आउने पुस्ताले झनै पारदर्शिता खोज्ने निश्चित छ। यस सन्दर्भमा दलहरूलाई अहिले जेन जी मात्र होइन, त्यसअघिका जेन एक्स र जेन वाइलगायत पुस्ता, अहिले हुर्किँदै गरेको जेन अल्फा र अब जन्मिने जेन बिटाका आवश्यकता बुझ्न सक्ने र उनीहरूसँग संवाद, समन्वय र सहकार्य गर्न सक्ने नेतृत्व चाहिन्छ। त्यसअनुसारको नेतृत्व विकसित गर्न सक्ने आन्तरिक संयन्त्र पनि दलमा हुनुपर्छ।
तेस्रो, अहिले देखिएको तरल राजनीतिक अवस्थामा आफ्नो राजनीतिक महत्वाकांक्षाका कारण उग्र वामपन्थी, उग्र दक्षिणपन्थी, उग्र पहिचानवादी, राजावादी र लोकप्रियतावादीहरूले चर्का नारा लगाएर जनता भड्काउन सक्ने अवस्था छ। यस्ता गैरजिम्मेवार प्रवृत्ति दीर्घकालीन विकल्प हुन सक्तैनन्। जस्तालाई पनि विकल्प ठानेर अँगाल्न तयार भएका देखिन्छन् पुराना दलका भ्रष्ट र अक्षम नेता देखेर वाक्कदिक्क भएका जनता। जिम्मेवार दलहरू पारदर्शी, सबल र सक्षम हुन सकेनन् भने यस्ता लोकप्रियतावादीले राजनीतिलाई थप नकारात्मक ध्रुवीकरणतर्फ लैजान सफल हुन्छन्।
चौथो, राजनीतिले गर्नुपर्ने जनताको गाँस, वास र कपासको व्यवस्थापन, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता, सबै वर्ग र तहका जनताको सम्मानजनक जीवनयापनको सुनिश्चितता विश्वमै घरेलु राजनीतिका उद्देश्य मानिन्छन्। नेपालमा भएका अनेक क्रान्ति र परिवर्तनका बाबजुद पनि सक्षम नेतृत्व हुन नसक्दा यस्ता आधारभूत आवश्यकतामा शासक वर्गको ध्यान पुग्न सकेको छैन। प्रजातन्त्र/लोकतन्त्रका लागि भएका बारम्बारका आन्दोलन, माओवादीको सशस्त्र विद्रोह, मधेस विद्रोहका बाबजुद पनि सीमान्तकृत समुदाय परिवर्तनको रफ्तारको तुलनामा लाभान्वित हुन नसक्नु विडम्बनापूर्ण छ।
नेपालमा जनताका नाममा भएका राजनीतिक परिवर्तनमा अक्सर तिनै पीँधका जनताको बढी योगदान रहने तर परिवर्तनपछि जुनसुकै तन्त्रमा पनि ठुला र कुलीनको कब्जा हुने मात्र होइन, तिनकै हितमा काम भएकाले लोकतन्त्रका लागि लडेका दलप्रति पनि जनतामा मोहभंग हुन पुगेको हो। नेपालमा बहुदलीय व्यवस्था अन्तर्गत निर्वाचन र संसद् हुँदा पनि ठालुहरूको हालीमुहाली भएको राजनीति वास्तवमा लोकतन्त्रको आवरणमा चलेको ‘ओलीगार्की’मा परिणत भएको प्रस्ट देखिन्छ।
नेपालको आन्तरिक राजनीतिको विकास क्रम, नेपालको विशिष्ट भूराजनीतिक अवस्था विश्वव्यापीकरणको बढ्दो गतिका कारण नेपालका बाह्य चुनौती पनि बढ्दै र जटिल बन्दै जान सक्छ। सूचना प्रविधिको विकासको गति र हवाईजहाजलगायत यातायातका साधनको बढ्दो सुलभता र सहजताका कारण विश्व ‘सानो भूगोल गाउँमा’ परिणत हुँदै गएको छ। मनोवैज्ञानिक आधारमा मात्र होइन, आर्थिक अन्तर निर्भरताकै कारण पनि विश्वको कुनै पनि भाग अर्को भागमा भएको विकास क्रमबाट अछुतो रहन सक्ने अवस्था अहिले छैन। नेपालजस्तो आफ्नो जनसंख्याको ठुलो हिस्सा विदेशमा बस्ने नागरिक भएको र अर्थतन्त्रमा विप्रेषण (रेमिट्यान्स) को उल्लेख्य योगदान रहेको मुलुक त झन् प्रभावित हुने नै भयो। यसै सन्दर्भमा नेपालका अहिलेका मुख्य बाह्य चुनौती पनि प्रस्ट हुँदै आएका छन्।
नेपालका दुई छिमेकी भारत र चीन विश्व अर्थतन्त्र र राजनीतिमा महत्त्वपूर्ण बन्दै जाँदा नेपालका भूराजनीतिक संवेदनशीलता बढ्दै गइरहेका छन्। सैनिक र आर्थिक शक्तिको संरचनामा आधारित वर्तमान विश्वराजनीतिक संरचना निर्मम छ। यस्तो संरचनाले नेपालजस्तो आर्थिक रूपमा कमजोर मुलुकका रुचिलाई गम्भीरतापूर्वक लिँदैन। राजनीतिक शक्ति समीकरणमा चीन विश्वको अर्को महाशक्ति हुने मार्गमा अगाडि बढेको भए पनि भौगोलिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक कारणले नेपालका लागि चीन भारतको विकल्प हुन सक्ने अवस्था छैन। तर हालसालै चीन नेपालमा प्रभावशाली रूपमा आइरहेको छ। यहाँसम्म कि भारत र अमेरिकाजस्ता नेपालमा संलग्न राष्ट्रहरूको प्रभाव कम गर्न समेत चीन देखिने गरी नै लाग्दै आइरहेको छ।
सन् २००४ देखि नै नेपालको विकासमा अमेरिकाको सहयोग र अहिलेसम्म अमेरिकाले नेपालमा देखाएको उपस्थिति र रुचिले नेपालमा शक्ति राष्ट्रहरूको रुचिको व्यवस्थापन जटिल बन्दै गएको देखिन्छ। अन्य शक्ति राष्ट्र र अन्तर्राष्ट्रिय निकायका पनि नेपालमा विभिन्न किसिमका रुचि र संलग्नता छन्। यी शक्ति राष्ट्रले बाहिर देखिने कूटनीतिक रूपमा मात्रै प्रतिस्पर्धा गर्दैनन्, आफ्नो प्रभाव गुम्न नदिन विभिन्न तरिकाले भिड्छन्। चीनको संवेदनशील क्षेत्र तिब्बत र भारतको छिमेकी भएकाले नेपालमा छिमेकी र अन्य शक्ति राष्ट्रका रुचि सायद घट्दैन।
यस्ता जटिल विषय व्यवस्थापनका लागि यी सबै शक्ति राष्ट्रलाई गाली गर्ने लोकप्रियतावादी र उग्र राष्ट्रवादी उपयुक्त हुन सक्दैन, जिम्मेवार शक्ति र नेतृत्व चाहिन्छ। राष्ट्रिय हित संरक्षण गर्न सक्ने, छिमेकी र शक्ति राष्ट्रहरूसँग सन्तुलनको सम्बन्ध राख्दै नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व कायम राख्न र फैलाउन नेपालमा लोकतान्त्रिक प्रणालीमा अपरिवर्तनीय प्रतिबद्धता भएको मध्यमार्गी दल नै उपयुक्त देखिन्छ। यदि अक्षम र भ्रष्ट नेतृत्वका कारण कांग्रेस ‘प्रजा परिषद्’ बन्ने बाटोमा अग्रसर भयो भने नेपालको परराष्ट्र नीति र सम्बन्धमा पनि नकारात्मक प्रभाव पर्छ।
नेपालको आन्तरिक द्वन्द्वका कारण नेपालको अन्तर्राष्ट्रिय छविमा आँच आउन थालेको पहिले देखि नै हो। तर भदौ २३ र २४ को जेनजी आन्दोलनमा घुसपैठका कारण भएका विभिन्न अराजक क्रियाकलापले नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्वमा थप नकारात्मक असर पारेको छ। नेपालका जेलबाट हजारौँ थुनुवा भागेको र सुरक्षाकर्मीका हतियार लुटिएका विषयले नेपालमा दण्डहीनता व्याप्त रहेको देखाउँछ। यस्तै कारणले मलेसिया, संयुक्त अरब इमिरेट्सजस्ता नेपालीलाई रोजगारी प्रदान गर्ने मुलुकले नेपालीको प्रवेशमा कडाइ गरेका समाचार आएका छन्। नेपालले दण्डहीनतालाई नियन्त्रण गर्न ठोस् कदम चालेको नदेखिए अन्य मुलुकले पनि नेपालीलाई प्रवेशमा रोक लगाउन सक्नेछन्। यस्तो पृष्ठभूमिमा मुलुकको अन्तर्राष्ट्रिय छवि सकारात्मक राख्न र उकास्न पनि जिम्मेवार र समन्वयकारी विश्व दृष्टि भएको दल आवश्यक पर्छ। विगतमा अक्षम नेतृत्वका कारण कांग्रेस नेपालको बाह्य सम्बन्धमा राष्ट्रिय हित संरक्षण गर्ने गरी परिपक्व नीति बनाउने मामलामा कैयौँ पटक चुकेको त छर्लङ्गै छ।
यस्तै घरेलु र बाह्य चुनौतीहरू सामना गर्न कांग्रेसजस्तो अर्थ राजनीतिक दृष्टिकोण बोकेको दल अझै मुलुकका लागि आवश्यक छ। तर उक्त दल समयको माग बुझ्न सक्ने, मुलुकका लागि उचित नीतिहरू बनाउन सक्ने, नीतिलाई कार्यान्वयन गर्न सक्ने, आफ्नो विचार प्रणालीमा युवाहरूलाई समाहित गर्न सक्ने र नयाँ नेतृत्व विकास गर्न सक्ने संयन्त्र भएको हुनुपर्छ। डिजिटल मिडियाले संसारभरको विकास क्रमको जानकारी हातहातमा पुर्याइरहेको बेला पुरानै तरिकाले शासन गर्न सम्भव छैन। तर अहिलेको नेतृत्व र शैली कायमै रहे कांग्रेस र अन्य पुराना दलप्रति समाजमा रहेको वितृष्णा अझै बढ्दै जानेछ।
गगन पुस्ता नै किन?
नेपाली राजनीतिमा अहिले देखिएको परिवर्तनलाई आत्मसाथ गर्ने विषयमा कांग्रेसको अहिलेको तेस्रो पुस्ताका भनिने गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायत नेताले रचनात्मक र स्पष्ट धार समातेका छन्। यस बीचमा यी नेताले जनतासँग आफ्ना र पार्टीका गल्ती कमजोरीका लागि माफी समेत मागेका छन्। अहिलेको समय र पुस्ताको माग अनुसार आफ्नो दलको शैली र नेतृत्व परिवर्तन गर्न प्रयास गर्ने र दललाई पुर्नसंरचना गर्न खुट्टा नकमाई अगाडि बढ्ने प्रतिबद्धता पनि उनीहरूले गरेका छन्।
थापा कांग्रेसको दर्शन र राजनीतिसँग दुई दशकभन्दा बढी सामाजिकीकरण भइसकेका व्यक्ति हुन्। कांग्रेसजस्तो पाका र ‘त्यागी’ नेताहरूको कब्जा रहेको पार्टीमा उनीहरूसँग जुधेर आफ्नो स्थान बनाउन सफल व्यक्ति पनि हुन्। कांग्रेसको सैद्धान्तिक पक्षको राम्रो ज्ञान भएको मात्र होइन, समाजको विभिन्न तप्कासँग समन्वय गर्न सक्ने नेताका रूपमा उनले आफूलाई प्रमाणित गरिसकेका छन्। कांग्रेसको केन्द्रीय कार्यालयमा रहेको पुस्तकालयलाई पठनपाठन योग्य बनाउनेदेखि समाज र मुलुकका विभिन्न ज्वलन्त विषयमा बौद्धिक वर्ग र सरोकारवालासँग बहस गर्ने परिपाटी पनि उनले सुरु गरेका थिए। जेनजी आन्दोलनपछि कांग्रेसका युवा पुस्ता र समाजले मागेको नेतृत्व यस्तै हो।
यस बीचमा पंक्तिकारले कांग्रेसको पुर्नसंरचना र नेतृत्व परिवर्तनबारे केही लेखकका तर्कपूर्ण लेख र अन्तरवार्ता पढ्न पायो। प्राध्यापक कृष्ण खनाल, जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, घनश्याम भट्ट, इन्द्र अधिकारी, अमित ढकाल, राजाराम गौतम लगायतले सशक्त लेख र अन्तरवार्तामार्फत कांग्रेस अझै सान्दर्भिक रहन चाहन्छ भने नेतृत्व परिवर्तनको विकल्प छैन भन्ने तर्क गरेका छन्। यी सबै लेखक विश्लेषकको आशय कांग्रेस अझै सशक्त शक्तिका रूपमा रहोस् तर त्यसको नेतृत्व र शैलीमा व्यापक परिवर्तन होस् भन्ने छ।
उनीहरू सबैले अहिले गगन थापा त्यसका लागि उपयुक्त पात्र भएको औँल्याएका छन्। यी लेख र अन्तरवार्तामा अभिव्यक्त विचार गगन थापा प्रतिको व्यक्तिगत शुभेच्छा भन्दा पनि नेपाली समाज र राष्ट्रको आवश्यकता मनन गरेर आएका देखिन्छन्। व्यवहारिक राजनीतिज्ञका रूपमा गगन थापामा पनि कैंयौ कमजोरी देखिए होलान्। तर गल्ती कमजोरी स्विकारेर अगाडि बढ्ने शैली पनि उनले देखाएका छन्। कांग्रेस नेपाली राजनीतिमा सान्दर्भिक रहिरहने हो भने गगन थापाजस्ता धेरै व्यक्ति कांग्रेसको निर्णायक तहमै हुनुपर्छ। त्यसका लागि पनि अहिलेलाई भने प्रस्थान विन्दु गगन थापाको नेतृत्व नै हुन उपयुक्त देखिन्छ।
समयको मागलाई बेवास्ता गर्दै कांग्रेसको संस्थापन पक्षको दबदबा रहेको केन्द्रीय समितिका केही वरिष्ठ नेताहरू नै जसरी हुन्छ, आफ्नो प्रभाव कायम राख्ने मात्र होइन, गगनको पहलको तेजोवध गर्न लागेको देखिएको छ। उनीहरू सफल भए भने ऐतिहासिक विरासत बोकेको पार्टी अहिले समाचार र विश्लेषणहरूमा भनिएझैँ ‘प्रजा परिषद्’को नियति भोग्न र इतिहासको फुटनोटमा सीमित हुन बेर छैन। लोकतन्त्रका लागि उनीहरूको योगदान उल्लेखनीय भए कांग्रेसको बुढो पुस्तालाई शक्तिको दुर्व्यसनले दल बचाउने भन्दा पनि आफू र आफ्नो समूहको स्वार्थको रक्षा गर्न लालायित हुनुपर्ने अप्रिय अवस्थामा पुर्याएको छ। उनीहरू अपवाद होइनन्, विश्व राजनीतिमा संघर्ष र विद्रोहका पर्याय बनेकाहरू शासक बनेपछि शक्ति अभ्यासको दुष्चक्रमा फस्दै गएर भ्रष्ट र अस्वीकृत भएका धेरै उदाहरण छन्।
स्वतन्त्रता र लोकतन्त्रका लागि लडेको नेतृत्वले आन्दोलन र संघर्ष सफल भएपश्चात् कस्तो बाटो अँगाल्न सक्छन् भन्ने अफ्रिकामा देखिएका दुई बहुचर्चित उदाहरणले प्रस्ट पार्छन्। दक्षिण अफ्रिकामा श्वेतहरूका विभेदी र क्रूर शासनको अन्त गर्न २७ वर्ष कठोर जेल सजाय भोग्नेलगायत निरन्तर संघर्ष गरेका नेल्सन मन्डेलाले सन् १९९० मा सफलता प्राप्त गरेपछि मेलमिलापको नीति अन्तर्गत बहुसंख्यक अश्वेत र अल्पसंख्यक तर शक्तिशाली श्वेतका सामाजिक समन्वय कायम गर्न ध्यान दिए। अहिले आएर दक्षिण अफ्रिकामा अश्वेत र श्वेतहरूबीच अविश्वासको वातावरण बढेको भए पनि दक्षिण अफ्रिकाको शान्ति प्रक्रिया र मेलमिलापको नीति विश्वभरि नै उदाहरणका रूपमा लिइन्छ। सन् १९९४ देखि १९९९ सम्म एक कार्यकाल राष्ट्रपति भएपछि देशको नेतृत्व उनकै दलका अर्का नेता थाबो एम्बेकीलाई सुम्पे। दलको नेताको जिम्मेवारी त उनले सन् १९९७ मै हस्तान्तरण गरेका थिए।
नोबेल शान्ति पुरस्कार समेत पाएका उनी विश्वभर नै स्वतन्त्रता प्रेमीका लागि उदाहरणीय व्यक्तित्व मानिन्छन्। अर्कोतिर, जिम्बावेका स्वतन्त्र सेनानी रोर्बट मुगावे उक्त मुलुकले सन् १९८० मा स्वतन्त्रता हासिल गर्दा बहुतै सम्मानित नेता थिए। जिम्बावेको स्वतन्त्रता लडाइँ विश्वभरि नै उदाहरणका रूपमा लिइन्थ्यो। तर मुलुक स्वतन्त्र भएर जब उनी नेतृत्वमा पुगे, शक्तिको एकछत्र प्रयोग गरे, चुनावमा धाँधली गरे र आफू ९० वर्षको उमेर कटेपछि आफ्नी श्रीमतीलाई शक्तिमा स्थापित गर्ने कोसिस गरे।
निर्वाचनमा पराजित भएपछि पनि सत्ता हस्तान्तरण गर्न अस्वीकार गरे। अन्तमा सन् २०१७ मा उनलाई जिम्बावेको सेनाले कू गरेर हटाउनुपर्ने अवस्था आयो। स्वतन्त्रता सेनानी भएकाले उनलाई सेनाले अपमानजनक व्यवहार भने गरेन। राजनीतिक शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ भन्ने भनाइ राजनीति शास्त्रमा चर्चित नै छ। अहिले कांग्रेसमा नेतृत्व परिवर्तनमा अनिच्छा देखाउने, रोक्न खोज्ने र उल्टै नेतृत्व परिवर्तनको पहल लिएका र पैरवी गरेकाहरूलाई लाञ्छना लगाउनेहरूले मन्डेलापथ या मुगावेपथ कुन रोज्ने निर्णायक मोड आएको छ। लोकतन्त्रका लागि लडेको र जेलनेल भोगेको भन्ने इतिहास दोहोर्याएर उनीहरूले आफ्नो अक्षमता र गलत क्रियाकलाप ढाकछोप गर्न सक्तैनन् भन्ने भदौ २३ र २४ को आन्दोलनमा पुराना दलका नेताविरुद्ध देखिएको भावनाले प्रस्ट देखाएको छ।
नियमित वा विशेष महाधिवेशनमार्फत कांग्रेसको नेतृत्व पाइहाले भने पनि गगन थापा लगायतका लागि कांग्रेस सुधारेर मुलुकको नेतृत्व गर्न सक्ने दल बनाउनु बहुतै चुनौतीपूर्ण काम हुनेछ। कांग्रेसलगायत पुराना दलमा केन्द्रीय समितिदेखि तल वडा र टोल तहसम्म विद्यमान दोहनकारी प्रवृत्ति तुरुन्तै निर्मूल गर्न कठिन कार्य हुनेछ। कांग्रेसलाई मुलुकको वर्तमान आवश्यकताहरू पहिचान गरी ज्ञानमा आधारित नीति लिन सक्ने बनाउने काम पनि कठिन नै छ। त्यस्तै, मुलुकमा अहिले देखिएको लोकरिझ्याईंवाद (पपुलिजम), भीडतन्त्र (मोबोक्रेसी) र वाक स्वतन्त्रताको दुरुपयोगसँग पनि जुध्नु पर्ने हुन्छ। यी सबै लोकतन्त्रका सहउत्पादन (बाइप्रोडक्ट) हुन्, लोकतान्त्रिक राजनीतिले काम (डेलिभर) गर्न सकेन पनि यस्ता प्रवृत्ति मौलाउँछन् भन्ने हाम्रै उदाहरणले प्रस्ट देखाएको छ। यस्ता प्रवृत्तिसँग जुध्न जिम्मेवार, पारदर्शी, काम गर्न सक्ने राजनीति र यसबाट प्राप्त नैतिक बलले मात्र सम्भव छ।
त्यहीमाथि, नेपालको जटिल भूराजनीतिले विगतदेखि अहिले नेपालको आन्तरिक राजनीतिलाई उत्तिकै प्रभाव पारिरहेको छ, भविष्यमा पनि पार्ने छ। यसका लागि सन्तुलित, ज्ञानमा आधारित र सर्वसाधारण जनताले समेत बुझ्ने भाषामा उनीहरूसँग संवाद गर्न सक्ने दल र नेतृत्व चाहिन्छ। यी सबै चुनौतीसँग जुध्न कठिन छ। तर विद्यमान परिस्थितिमा कांग्रेसमा देखिएका उपयुक्त विकल्प गगन थापा हुन्। उनले विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता परिवर्तन चाहने र जनताले आशा गरेका नेतालाई पनि सँगै लिएर हिँड्ने क्षमता देखाएका छन्। कांग्रेसका परिवर्तन चाहने तप्का र युवा, बौद्धिक, विश्लेषक, पत्रकार र कांग्रेस पार्टी इतरका परिवर्तन पक्षधर र युवाले पनि गगन थापाप्रति देखाएको आशा माथि पनि उल्लेख गरिएझैँ उनीप्रतिको व्यक्तिगत शुभेच्छा मात्र होइन। मुलुकको राजनीतिक प्रणालीको स्थिरता, जनताका आवश्यकता पुरा गर्न गम्भीरतापूर्वक र पारदर्शी हिसाबले काम गर्ने राजनीतिको चाहना र कांग्रेसजस्तो लोकतन्त्रको लागि बारम्बार लडेको दलको पुनर्संरचनाप्रतिको शुभेच्छा पनि हो।
(तिवारी अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता हुन्। उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)
ट्विटर: @shivanpl5
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
