दासहरूको पार्टी र लासहरूको पार्टी

कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा र गुरु घिमिरेहरू राम्रै किसिमले प्रस्तुत भएका छन्। तर कांग्रेसको सिंगो संरचनामा उनीहरू प्रभावकारी देखिँदैनन्।

श्रीमतीको उपचारका लागि अस्पताल जाने क्रममा एक जना डाक्टरसँग भेट भइरहन्छ। उनी साहित्यिक पृष्ठभूमिका हुन्। उनले केही अघि भने, "हाम्रा राजनीतिक दलहरूमा केही दास रहेछन् र केही लास रहेछन्।"

"दासले लामो समयसम्म मालिकको सोझो गरिरहन्छ। तर मालिकको धेरै पेलाइमा परेपछि एउटा बिन्दुमा पुगेर दासले समेत विद्रोह गर्छ। लाससँग प्रतिरोध-चेतना त के, चेतना नै शून्य हुने भएकाले त्यसले विद्रोह गर्ने कुरै आएन। अहिले हेरिल्याउँदा नेकपा (एमाले) लासहरूको पार्टी रहेछ, नेपाली कांग्रेसचाहिँ दासहरूको। दासहरूको पार्टीभित्र चाहिँ अलिअलि विद्रोह देखिन्छ।"

यस खालको विश्लेषण गरे ती डाक्टरले। ती डाक्टर कुनै राजनीतिक विश्लेषक होइनन्। कतिलाई आफूले भोट हाल्ने र रुचाएको पार्टीबारे यस्तो टिप्पणी अनुचित लाग्ला, तर उनी इतिहासको सन्दर्भसहित राजनीतिक व्याख्या गरिरहेका थिए। पुराना साहित्य र दास विद्रोहको इतिहाससमेत पढेका उनको कुरोले सोचमग्न बनायो। रोममा भएको स्पार्टाकासको आदि-विद्रोहबारे हार्वर्ड फास्टले उपन्यास नै लेखेका छन्। रोचक छ त्यो उपन्यास। 

भदौ २४ मा जेनजी विद्रोह भयो। जेनजीको योजनाले भन्दा पनि कांग्रेस र एमालेको नयाँ कुरालाई सम्बोधन गर्न नसक्ने असफलता र चरित्रहीनता त्यस विद्रोहको आधार भूमि थियो। कांग्रेस र एमालेका लागि लोकतन्त्र भन्नु सबै संस्था कब्जा गर्नु र ऐनकानून बनाएर भ्रष्टाचारको पूर्व तयारी र सेटिङ थियो। यी दल यस्ता काममा लागेका कारण ती दलप्रति जनताको रोस थियो। 

पछि जनताको दैनिक जीवनमाथि नै तत्कालिन् सरकारले हस्तक्षेप गरेपछि युवा थप चिढिए। सामाजिक सञ्जालमाथिको हस्तक्षेपले मामला अझै गम्भीर भयो। सञ्जालमाथि नियमन गर्नै पर्दा कानून बनाएर गर्नुपर्थ्यो। अदालतको निर्देशनात्मक आदेश त्यही थियो। आफूहरूमाथि धेरै आलोचना भएको र चुनाव पनि नजिकिँदै गएको भन्दै तत्कालिन् सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो।

तर दलहरूप्रतिको रोस पहिले नै तलसम्म पुगिसकेको थियो, तर भदौ २३ मा मान्छेहरू नमारिएको भए त्यो तहमा विस्फोट नहुन पनि सक्थ्यो। 

जेनजी विद्रोहपछि मूलतः कांग्रेस र एमालेमा केही केही प्रयत्न भइरहेको देखिन्छ। पार्टी नेतृत्वविरुद्ध केहीले मुन्टो उठाउन खोजेको भए पनि तिनमा समेत केही नवीनता नभएको देखिन्छ। पुरानो नेतृत्वले आफ्नो अहंकारलाई यथास्थानमा राखिरहेको देखिन्छ। विगतमा आफूले कुनै गल्ती नगरेको, बरु आफू स्वयम्भू भएको तिनको दाबी देखिन्छ। 

एमालेमा हेरौँ न–ईश्वर पोखरेल र केपी ओलीबीच महाधिवेशनको द्वन्द्वजस्तो देखिन्छ, जबकि त्यो त्यति अर्थपूर्ण देखिँदैन। नेपाली कांग्रेस भित्रको द्वन्द्व पनि खासै अर्थपूर्ण देखिँदैन। कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा र गुरु घिमिरेहरू राम्रै किसिमले प्रस्तुत भएका छन्। तर कांग्रेसको सिंगो संरचनामा उनीहरू प्रभावकारी देखिँदैनन्।

यदि तिनीहरूबीच कुनै किसिमको विचार, उमेर र नियतको पुस्तान्तरणमा सहमति भयो र उनीहरू एकताबद्ध समेत भए भने सम्भवतः आउँदो चुनावमा कांग्रेस खासै खुम्चँदैन। तर त्यसभित्र पनि निषेध र द्वन्द्वसमेत प्रशस्त छन्। तर पार्टी फुटेर जुटेको इतिहास पनि छ कांग्रेसको। 'छत्तिसे र बहत्तरे' का ठुला घट्नापछि पनि आफूलाई एकताबद्ध बनाएर आएको पार्टी हो कांग्रेस।

कांग्रेस प्रजातन्त्रलाई धेरैजसो 'आफ्नो' दाबी गर्छ। इतिहास माथिको स्वामित्व लिएका कारण पनि कांग्रेसको भोट उति नघट्ला। आलोचना पनि कांग्रेसप्रति नै धेरै भएकाले सच्चिने आशा पनि त्यसैबाट गरिएको देखिन्छ।

एमालेचाहिँ राम्रो स्थितिमा छैन। एमालेले यो मौकामा ईश्वर पोखरेल र विद्या भण्डारी होइन, अझै धेरै तल आएर आफूलाई सुधार्नुपर्ने थियो। तर तल पनि थोरै र उति बल नपुग्ने मान्छेहरू एमालेभित्र प्रतिवाद गरिरहेझैँ देखियो। एमाले त मरणासन्न अवस्थामा रहेको राजनीतिक दलजस्तो लाग्छ। यसको महाधिवेशनले पनि केही परिवर्तन गर्नेछैन।

बरु महाधिवेशनमा लप्पनछप्पन हुनेछ। 'उहाँ बा हो। उहाँ राष्ट्रवादी हो। उहाँ नै शक्तिशाली हो' भन्ने भाष्य बलियो बनाइनेछ। एमालेभित्र सांस्कृतिक प्रभुत्ववाद झनै बलियो हुनेछ। त्यसो हुँदा, पहिलो नम्बरमा ओलीजी नै स्थापित भएर आउनुहुनेछ। उहाँ हार्नेजस्तो स्थिति आयो भने अर्को कार्ड पनि फ्याँक्न सक्नुहुनेछ।

ईश्वरजीहरूको त्यति धेरै नयाँपन देखिएन। बीचमा यत्रो लामो समयसम्म पार्टीमा नयाँ विचारको निम्ति उहाँ लड्नुभएन। जस्तोकि, पहिले त्यहाँ रहेका भीम रावल र घनश्याम भूसालहरूले आफ्नो विचार राखिरहेका थिए त! त्यस्तो पोजिसन त उहाँको अहिले पनि होइन र पहिले पनि होइन। सांकेतिक रूपमा यो समूहको नेता विद्या भण्डारी रहनु भए पनि उहाँको पनि कुनै नयाँ विचार र देश नयाँ बनाउने कुनै रोडम्याप देखिँदैन। 

भण्डारीले राष्ट्रपति रानीले झैँ चलाउनुभयो। त्यस कारण एमाले वैचारिक वा कुनै पनि रूपले बदलिने सम्भावना देखिँदैन। मरिरहेको वामपन्थ भन्न मिल्छ त्यस पार्टीलाई। अन्यत्र पनि मरिरहेका छन् र यहाँ पनि मर्छ। आज मात्रै होइन, चार वर्ष पहिले पनि भनेको थिएँ कि ओलीजीले एमालेलाई ठूलो दुर्घटनातिर लगिरहेका छन्। हिजोदेखि नै त्यो दुर्घटना टार्न लागेनन् एमालेहरू। त्यसो हुँदा एमाले बदलिएला भनेर उत्साहित हुने कुरा छैन। 

दुई दलका कुरा गर्‍यौँ।

अब कुरा गरौँ नवगठित नेपाली कम्युनिस्ट पार्टीको। त्यो पार्टी एमालेको प्रतिछवि मात्र हो। त्यसले आफूलाई पुनर्गठन गर्दैन। अरू सानासाना कम्युनिस्ट दलहरू छन्, कहिल्यै सत्तामा नगएकाहरू पनि छन्, उनीहरू पनि अन्योलग्रस्त छन्। संसार बदलिएर कहाँ पुगिसक्यो, विज्ञानले मान्छेका सम्बन्धहरू कसरी बदलिसक्यो। मार्क्सवादीहरू चाहिँ नबदलिने?

जबकि, मार्क्सले त हरेक समयमा वस्तुस्थितिअनुसार 'गाइड टु एक्सन' बनाउनुपर्छ भनेका थिए। मार्क्सवादीहरू चाहिँ त्यो बाटो जाँदै जाँदैनन्। संगठन बनाउन पनि जाँदैनन्। संगठनलाई लोकतान्त्रीकरण गर्न पनि जाँदैनन्। पुरानो स्टालिनवादी ह्याङओभरबाट मुक्त हुनुपर्नेमा हुँदैनन्।

सामाजिक सम्बन्धहरूलाई सम्बोधन गरेर नयाँ उत्पादन शक्तिको विकाश गर्नेतर्फ जाँदैनन्। यी कोणबाट हेर्दा नेपालीमा वामपन्थमा प्रशस्त द्विविधा र अँध्यारो देखिन्छ। 


नयाँ भनिएका दलहरूचाहिँ 'फिल इन द ग्याप' हुन्। इतिहासमा हुने शून्यतालाई परिपूर्ति गर्ने  क्रममा आइपुगेका हुन् उनीहरू। कि त अन्तर्राष्ट्रिय ठूलै शक्ति केन्द्रले च्यापिरहनु पर्‍यो, नत्र यस्ता यस्ता दलको जीवन लामो हुँदैन। त्यसरी च्याप्दा पनि जनतासँगको सामीप्य त पार्टीले नै स्थापित गर्नु नै पर्छ। 

हर्क साम्पाङले जनतासँग ढुंगा बोकेर अलिकति इज्जत कमाएका छन्, तर नेपालको संरचनागत संकटबारे उनको अध्ययन देखिँदैन। लोकतन्त्र, विकाश निर्माण, सामाजिक सम्बन्ध र संस्कृतिबारे कसरी अघि बढ्ने भन्ने खाका उनीसँग छैन। कुलमानजी व्यक्तिगत रूपमा चर्चित हुनुहुन्छ, तर उहाँले 'उज्यालो नेपाल पार्टी' जो खोल्नुभएको छ, त्यसले धेरै कन्भिन्स गर्दैन।

यी सारा कुरा हुँदाहुँदै पनि पुराना शक्तिलाई नयाँ शक्तिले प्रतिस्थापन गर्ने सम्भावनाचाहिँ देखिन्छ, किनभने इतिहासमा योगदान गरेका कांग्रेस र एमालेसँग यतिखेर जनता/मतदाता रिसाएका छन्। तर 'म भएपछि गजबै हुन्छ' भनेर आउनेहरूको पनि स्थायित्वचाहिँ हुन्न। हाम्रो समाजमा एउटा मान्छे पाँच महिना नायक र ६ महिनापछि खलनायक हुन्छ। 

बाबुरामजीकै लोकप्रियताको कुरा यहाँ सान्दर्भिक हुन्छ। व्यक्तिगत रूपमा उहाँको चरित्रमा कुनै खोट देखिँदैन। तर बाबुरामजी पनि नेपाली समाजको गतिशील परिवर्तनको सन्दर्भमा अलमलिएझैँ लाग्छ। उहाँको प्रस्तावना बढ्ताचाहिँ 'नियोलिबरल' मान्यतातिर उन्मुख देखिन्छ। तर संसारभर नियोलिबरल सिस्टमले सामाजिक न्यायलाई त सम्बोधन गर्न सकेन नि! संसारमा निम्तेका अनेकन् संकटलाई सम्बोधन गर्न सकेन। 

त्यसो हुँदा कमसेकम नेपालका न्यायप्रेमीहरूले दार्शनिक, विचार र संगठनको तहमा, इतिहासको अध्ययन र अनुसन्धान गरेर, विश्वका न्यायप्रेमी शक्तिहरूसँग सम्बन्ध/सञ्जाल बढाएर काम गर्नुपर्थ्यो। ल्याटिन अमेरिकामा अलिअलि लड्ने र उभिने अभ्यास भइराखेको छ। यहाँ त त्यो पनि भइराखेको छैन। तर भट्टराईको नैतिकता हेर्दा भने उहाँ अरूभन्दा फरक देखिनुभएको छ। 'म अब पदमा बस्दिनँ' भन्नु धेरै राम्रो हो।


तर अनवरत रूपमा एकपछि अर्को, अर्कोपछि अर्को संकटमा हामी गइराखेका छौँ। एक दिन २७ घण्टा एउटा विद्रोह/आक्रोश प्रकट भयो। त्यसपछि अर्को प्रतिक्रिया भयो। सरोकारवालाहरू त्यसपछि विभिन्न ढंगले क्रियाशील पनि भए। राज्यसत्ताकै केही अंग प्यारालाइज भए। संविधानका केही धारा पूरै निस्तेज भए। सेनाले मध्यस्थता गरेर आजको बाटो बन्यो। 

अब चुनावको विकल्पचाहिँ छैन। फाल्गुण २१ गते नै हुनुपर्छ चुनाव। अहिलेको प्रधानमन्त्रीलाई त्योभन्दा अर्को सहुलियत छैन। त्यसबाट आउने परिणामले इतिहासलाई ठगेर विश्वासघात गर्ने दललाई केही धक्का त दिने नै छ, तर त्यसले राम्रै बाटो तय गर्ला पनि भन्न सकिन्न। तर जनताको चेतनाचाहिँ जेनजी आन्दोलनले बढाएको छ, जुन सकारात्मक कुरा हो। 

(कुराकानीमा आधारित। उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)