हिउँदमा वासस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

कठिन भूगोलमा अवस्थित गाउँमा १३ घरधुरीको बसोबास छ। मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो।

मुस्ताङ– मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ। २०२२ सालमा पहिचान भएको यस गाउँको नाम हो साङ्ता। पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ।

कठिन भूगोलमा अवस्थित गाउँमा १३ घरधुरीको बसोबास छ। मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो। यो बस्ती अहिलेको बस्तीबाट केही टाढा खोलापारिको भिरालो स्थानमा अवस्थित थियो। त्यहाँ स्थानीयले खेतीपाती र पशुपालन गरी जीविकोपार्जन गर्थे। 

त्यहाँको स्थानमा खेतीपाती गर्न सिँचाइको अभाव भएपछि साङ्ता गाउँका नागरिकले उक्त स्थान छोडेर हालको स्थानमा स्थान्तरित भएका थिए। यहाँ स्थान्तरित बस्ती बसेको पाँच दशक बढी भइसकेको छ। अझै पनि साङ्ता गाउँलेले त्यागेको पुराना भग्नावशेष घर र खेतका अवशेष त्यहाँ विद्यमान छन्।

साङ्ता गाउँ मुस्ताङको जोमसोमदेखि करिब ४० किलोमिटरको दुरीमा पर्छ। संघीयतापछि यहाँको मुस्ताङ–डोल्पा सडक बिस्तार हुँदा साङ्ता गाउँलाई कच्ची सडक सञ्जालले छोएको छ। 

समुन्द्री सतहको चार हजार मिटर अग्लो उचाइमा विस्तार गरिएको मुस्ताङ–डोल्पा सडक अझै थप स्तरोन्नति गर्नुपर्नेछ। यहाँसम्म सडक जोडिएकाले साङ्ता गाउँका नागरिकले पछिल्लो समय राज्यबाट उपलब्ध हुने केही सेवासुविधा सहज रूपमा पाउन थालेका छन्। 

अग्लाअग्ला विशाल पहाडले घेरिएको साङ्ता गाउँको सडक तलपट्टी भिरालो खोचमा अवस्थित छ। अभाव र अशिक्षाको भुमरीमा जकडिएको यहाँको साङ्ता गाउँमा अचेल राज्यको उपस्थित आकलझुकल देखिन थालेपछि स्थानीयले केही राहतको अनुभूति गर्न थालेका छन्। 

माथिल्लो डोल्पाका स्थानीयले नागरिक किनमेलका लागि जोमसोम आउजाउ गर्ने बाटो साङ्ता गाउँ नै हो। कहिलेकाहीँ फट्टफुट्टा विदेशी पर्यटकहरू साङ्ता गाउँ हुँदै पदयात्रा गर्छन्। सरकारले यहाँको साङ्ता गाउँलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ।

साङ्ता गाउँमा गएको संघीय तथा प्रादेशिक निर्वाचनमा १३ घरधुरीका ३४ जना मतदाता थिए। गाउँमा एक आधारभूत विद्यालय अहिले बन्द अवस्थामा छ। गाउँका बालबालिका विभिन्न संघसंस्थाको सहयोगमा अन्यत्रको स्कुलमा पढाइ दिएपछि यहाँको स्कुल बन्द हुन पुगेको हो। 

गाउँमा स्थास्थ्य संस्था नहुँदा कुनै गम्भीर प्रकृतिको बिरामी पर्दा त्यहाँका नागरिकलाई निकै ठूलो समस्या पर्ने गर्छ। गाउँमा वैकल्पिक सौर्य ऊर्जा र नेपाल टेलिकमको बिटीएस टावर जडान गरेपछि बिजुली र टेलिफोनको तत्कालको समस्या टरेको छ।

यहाँको स्थान्तरित साङ्ता गाउँको वार्षिक दिनचर्या अरूको गाउँको भन्दा विल्कुल फरक छ। वर्खायाममा सात महिना गाउँमै बसेर खेतीपाती र पशुपालन गरी बस्ने साङता गाउँका नागरिक हिउँदयामको चार/पाँच महिनाको समय भने गाउँ पारीको ‘घोक’ भन्ने पाखामा गएर कटाउँथे। त्यहाँ हिउँदयाम न्यानो हुने भएकाले गाउँ छोडेर घोक भन्ने स्थानमा अस्थायी बसोबास गर्थे। त्यहाँ उनीहरूले अस्थायी टहरा र खेती गर्ने लालपुर्जावाला जग्गा थियो। 

वर्षौंदेखि हिउँदयाममा जाडो छल्न त्यहाँ जाने गरेका साङ्ता गाउँका नागरिक विगत सात वर्षदेखि उक्त स्थान छोडेर वारागुङ–५ कै पाक्लिङ, फल्याक र धाकार्रजुङलगायत गाउँहरूमा बस्न थालेका छन्। वर्खायामको गर्मी मौसममा साङ्ता गाउँमा बस्ने र हिउँदयामको जाडोमा पाँच महिना फल्याक, धाकार्रजुङ र पाक्लिङलगायत गाउँमा बस्न थालेको सोही गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले बताए। 

अहिले मुस्ताङ–डोल्पा सडकको साङ्ता गाउँ जाने बाटोमा बग्रेल्ती हिउँ छ। सडकमा बाक्लो हिउँ जमेका कारण गाडी र ट्याक्टर जान सक्ने अवस्था छैन। गाउँसम्म आउजाउ गर्न बाक्लो हिउँको बाटो छिचोल्नुपर्ने हुन्छ। 

यहाँ गत कात्तिक १० गते हिमपात हुँदा यहाँको सडक पूरै हिउँले अवरुद्ध बनेको छ। हिउँदयाममा जाडो छल्न पारी पाखाको ‘घोक’ भन्ने ठाउँमा बस्न जाँदा समस्या र चुनौती हुने भएकाले हिउँदे वासस्थान फेरिएको वडासदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिए। 

यसपालि हिउँ र चिसो बढेकाले मङ्सिर अगावै गाउँ छोडेर जाडो छल्न फल्याक, पाक्लिङ र धाकार्रजुङ गाउँमा झरेको उनको भनाइ छ। “गाउँको बाटोमा पूरै हिउँ छ, गाडी चल्दैन, आवतजावत गर्न निकै ठूलो समस्या छ,” वडा सदस्य गुरुङले भने, “साङ्ता गाउँमा बस्दा बिरामी परियो भने त उपचार पाउन  गाह्रो हुन्छ, हेलिकप्टर चार्टर गरेर उपचार गर्ने हाम्रो सामर्थ्यले भ्याउँदैन।” 

जोमसोम नजिकैको गाउँमा आफन्तको घरमा काम गरेर हिउँदयामका उराठिला दिन कटाउने गरेको वडा सदस्य गुरुङले उल्लेख गरे। “यता त केही न्यानो हुन्छ, खानेकुरा सस्तो हुन्छ,” उनले भने, “बिरामी परेमा उपचार गर्न सजिलो छ, यसैले विगत छ/सात वर्षदेखि हामी घोक पाखामा बस्न छोडेर यतै बस्ने गरेका छौँ।” 

उहाँले हिउँद सकिएर गर्मी शुरू भएपछि मात्रै साविककै स्थानमा फर्किने जानकारी दिए। उनका अनुसार अहिले साङ्ता गाउँका १३ घरधुरीमध्ये तीन घरधुरी पाक्लिङ गाउँमा, ४ घरधुरी फल्याक गाउँमा र ७ घरधुरी धाकार्रजुङ गाउँमा आफन्त घरमा बसेको बताए। 

साङता गाउँको पारी घोक पाखामा पशु गोठालाहरु मात्रै बस्ने गरेको साङ्ता गाउँका गाउँ मुखिया थुक्तेन गुरुङले बताए। साङ्तामा ४ घरधुरीले च्याङ्ग्रा पालेको र दुई घरधुरीले संयुक्त रूपमा याक पालन गरेका छन्। 

अहिले साङ्ता गाउँका स्थानीयले गोठालालाई पशुचौपायाको रेखदेखको जिम्मा लगाएर सबै महिला, पुरुष र बालबालिका जोमसोम नजिकका गाउँहरूमा झरेको मुखिया गुरुङको भनाइ छ।