सन् २०११ मा रुसमा भागवद् गीतामाथि प्रतिबन्ध लगाउने प्रयास भएको थियो र भारतीय पक्षले उक्त कदमको विरोध गरेको थियो। त्यतिबेला न भारतमा मोदी प्रधानमन्त्री थिए, न रुसमा पुटिन नै राष्ट्रपति।
काठमाडौँ– भारत भ्रमणमा आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भागवद् गीता पुस्तक उपहार दिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वलाई के सन्देश दिन खोजेका हुन्? यति बेला यो प्रश्न अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्नेहरूका लागि खुलदुलीको विषय बनेको छ।
भारत–रुस शिखर सम्मेलनमा भाग लिन गत बिहीबार साँझ दिल्ली पुगेका पुटिनलाई रुसी भाषामा अनुवादित भागवद् गीता उपहार दिएपछि मोदीले सामाजिक सञ्जाल एक्समा रुसी भाषामै लेखे, “राष्ट्रपति पुटिनलाई रुसी भाषामा गीताको एक प्रति उपहार दिएँ। गीताको शिक्षाले विश्वभरका लाखौँलाई प्रेरणा दिन्छ।”
रोचक कुरा त के भने, सन् २०११ मा रुसमा भागवद् गीतामाथि प्रतिबन्ध लगाउने प्रयास भएको थियो। त्यति बेला न भारतमा मोदी प्रधानमन्त्री थिए, न रुसमा पुटिन राष्ट्रपति नै। त्यतिबेला पुटिन प्रधानमन्त्री थिए। रुसको तोम्स्क (साइबेरिया)मा इस्कनद्वारा प्रकाशित ‘भागवद् गीता एज इट इज’लाई चरमपन्थी साहित्य भएको र धार्मिक कट्टरता फैलाउने भन्दै अदालतमा मुद्दा दायर गरिएको थियो।
तत्कालीन समयमा भारतीय पक्षले उक्त कदमको विरोध गरेको थियो। लामो कानूनी प्रक्रियापछि सन् २०१२ मा रुसको अदालतले यस ग्रन्थमा प्रतिबन्ध नलगाउने फैसला सुनायो।
अहिले भारतका प्रधानमन्त्रीले त्यही ग्रन्थ रुसका राष्ट्रपतिलाई उपहार दिनु भनेको ‘अब रुसमा हिन्दू दर्शनलाई सम्मान छ’ भन्ने सन्देश दिएको हुनसक्छ। मोदीले गीता उपहार दिएर पुटिनलाई होइन, विश्वलाई नै भारत–रुसबीचको सम्बन्ध केवल व्यापार र हतियारको मात्रै नभएर आस्था र दर्शनको पनि भएको स्पष्ट पार्न खोजेका छन्।
मोदीले भनेझैँ गीताले विश्वभरका लाखौँलाई प्रेरणा दिने कुरा उनको आस्थाको विषय होला। अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले मोदीको यस कदमलाई उनको ‘सांस्कृतिक राष्ट्रवाद’ र ‘विश्व गुरु’ बनाउने महत्त्वाकांक्षाको अर्को कदम भएको टिप्पणी गरेका छन्।
विश्वगुरुको अवधारणा, प्राचीनकालमा तक्षशीला र नालन्दाजस्ता विश्वविद्यालयहरू भएको भारत क्षेत्र ज्ञानको केन्द्र थियो र विश्वलाई मार्गदर्शन गर्थ्यो भन्ने मान्यतामा आधारित छ। मोदी फेरि एकपटक भारतलाई ‘विश्वगुरु’ बनाउन सुरिएका छन्। त्यसैले उनी जुन जुन देश पुग्छन्, त्यहाँका नेतालाई केही न केही सांस्कृतिक–आध्यात्मिक महत्त्व दर्शाउने उपहार दिएरै आउँछन्।
सन् २०२३ मा आफ्नो अमेरिकाको भ्रमणका क्रममा मोदीले भारतीय आध्यात्मिकताका अनुयायी, आइरिस कवि विलियम बटलर येट्सद्वारा सहलिखित पुस्तक ‘द टेन प्रिन्सिपल्स अफ उपनिषद्’को प्रतिलिपि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उपहार दिएका थिए। त्यही वर्ष जुन १ मा भारतको औपचारिक भ्रमणमा रहेका आफ्ना नेपाली समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मोदीले कलम उपहार दिएका थिए। सशस्त्र युद्धबाट सत्तामा उदाएका प्रचण्डलाई मोदीले कलम दिएको विषयले पनि चर्चा बटुलेको थियो।
यस वर्ष पनि मोदीले क्यानडामा जी–७ शिखर सम्मेलनमा आफ्ना समकक्षीहरूलाई भेट्दा प्रायः सबैलाई दिइएका उपहार भारतको सहस्राब्दी पुरानो सभ्यता र संस्कृतिको प्रतीक थिए। उनले मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउम पारडोलाई सबैभन्दा पुरानो भारतीय लोककलामध्ये एक वरली चित्रकला र दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङलाई मधुबनी चित्रकला उपहार दिए।
जर्मन चान्सलर फ्रेडरिक मर्जलाई ओडिशाको प्रसिद्ध कोणार्क सूर्य मन्दिरबाट प्रेरित कोणार्क चक्रको बलौटे ढुंगाको प्रतिकृति उपहार दिए। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई भगवान शिवको वाहन नन्दीको मूर्ति प्रदान गरे। शिखर सम्मेलनका आयोजक क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले प्रधानमन्त्री मोदीबाट काँसाको बोधिवृक्ष प्राप्त गरे, जसलाई बौद्ध परम्पराको प्रतीक मानिन्छ।

प्रधानमन्त्री मोदीले आफ्ना उपहारमार्फत अन्तर्राष्ट्रियस्तरमा भारतीय संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न अपार प्रयासहरू गरेको देखिन्छ। गत जुलाईमा ट्रिनिडाड एन्ड टोबागोको भ्रमण गर्दा अयोध्यामा रहेको राम मन्दिरको प्रतिकृति र पवित्र सरयु नदीको पानी प्रधानमन्त्री कमला पर्सद बिस्सेसरलाई उपहार दिएका थिए। मार्चमा मौरिससको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति धरमवीर गोखुललाई महाकुम्भको पवित्र संगम जल उपहार दिए। उनले महाकुम्भको पानीलाई मौरिससको गंगा तलाउ भनिने पवित्र ताल (होली लेक) ग्रान्ड बेसिनमा मिसाए पनि।
अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेकी मोनिका वर्मा मोदीको यो रणनीतिले अन्तर्राष्ट्रिय स्तरमा भारतको छविमा उल्लेखनीय परिवर्तन आएको बताउँछिन्। “यस सरकारका आलोचकहरू पनि यो कुरामा सहमत हुनेछन् कि देशले विश्वव्यापी रूपमा सम्मानजनक छवि कमाएको छ,” फर्स्ट पोष्टमा प्रकाशित आफ्नो आलेखमा उनी लेख्छिन्, “यस उपलब्धिको एउटा प्रमुख पक्ष भनेको मोदी सरकारले भारतको समृद्ध इतिहास, यसको संस्कृति र सभ्यतालाई पुनर्जीवित गर्ने तरिका पनि हो।”
मोदी–पुटिनको दोस्ती
२०२१ डिसेम्बरपछि पहिलोपटक भारत आएका राष्ट्रपति पुटिनलाई लिन बिहीबार आफै विमानस्थल पुगेका मोदीले प्रोटोकल तोडेर अँगालो हाल्दै व्यक्तिगत रूपमै स्वागत गरे। दुवै नेताले एउटै कारमा सवार हुँदै लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवाससम्म पुगे। त्यहीँ मोदीले पुटिनलाई गीता उपहार दिए।
मोदी पुटिनको प्रशंसा गर्न कत्ति पनि कञ्जुस्याइँ गर्दैनन्। पुटिनसँग कारभित्र खिचिएको तस्वीर पोस्ट गर्दै उनले एक्समा लेख्न भ्याइहाले, “भारत–रुसको मित्रता समयको परीक्षामा खरो उत्रिएको मित्रता हो जसले हाम्रा जनतालाई धेरै फाइदा पुर्याएको छ।”
उमेरले पनि एउटै दामलका (मोदी–७५, पुटिन–७३ वर्ष) यी दुई नेताले एकअर्कालाई ‘मित्र’ भन्छन्। युक्रेन युद्धपछि पश्चिमा देशहरूले पुटिनलाई अलग्याउन खोजिरहेका बेला मोदीले असाध्यै न्यानो स्वागत र उपहार दिएर ‘भारत रुसको साथमा छ’ भन्ने सन्देश पनि दिन खोजेको देखिन्छ। रुस पनि उदाउँदो अर्थतन्त्र भएको भारतको दरिलो साथ चाहन्छ।
पुटिनको यो भारत भ्रमणअघि इन्डिया टुडेका पत्रकार अञ्जना ओम कश्यप र गीता मोहनले क्रेमलिनको ऐतिहासिक क्याथरिन हलमा पुटिनसँगको ‘विशेष’ अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्तामा राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीको अडिग नेतृत्व, स्पष्ट दृष्टिकोण र बाह्य दबाब नमान्ने क्षमताको प्रशंसा गर्दै भारतलाई प्रमुख विश्व शक्ति भएको उल्लेख गरे। उनले मोदीसँगको सम्बन्धलाई व्यावसायिक र व्यक्तिगत दुवै स्तरमा विश्वास र दीर्घकालीन सहयोगमा आधारित रहेको बताए।
गत सेप्टेम्बरमा चीनमा भएको सांघाई सहयोग संगठन शिखर सम्मेलनका क्रममा मोदीसँग पुटिनले आकस्मिक ‘कार–राइड’ गरेका थिए। यी दुई नेताबीचको मित्रताले त्यति बेला पनि अन्तर्राष्ट्रिय ध्यान खिचेको थियो। क्रेमलिनको अन्तर्वार्तामा पत्रकारले त्यही सन्दर्भ कोट्याए। यसबारे टिप्पणी गर्दै पुटिनले भने, “प्रधानमन्त्री मोदीसँग कारमा सँगै यात्रा गर्ने विचार मेरो नै थियो। त्यो हाम्रो मित्रताको प्रतीक थियो।”

पुटिनका अनुसार, त्यो भेट पूर्णरूपमा आकस्मिक थियो। “हामी बाहिर निस्कियौँ, कार त्यहीँ थियो र मैले सुझाव दिएँ— सँगै बसौँ,” उनले भने, “कुनै विशेष तयारी थिएन। हामी दुई मित्रझैँ कारमा बस्यौँ।”
यात्राभरि उनीहरू शिखर सम्मेलनको अजेन्डासहित विभिन्न विषयमा कुरा गर्दै बसेका थिए। होटल आइपुगेपछि पनि दुवै नेताले करिब ४५ मिनेटसम्म कारमै बसेर कुराकानी गरेका थिए, त्यसपछि मात्र औपचारिक द्विपक्षीय भेटमा प्रवेश गरेका थिए।
त्यति बेला पनि प्रधानमन्त्री मोदीले सो कार–राइडको तस्वीर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका थिए, “राष्ट्रपति पुटिनसँगको संवाद सधैँ ज्ञानवर्धक हुन्छ।”
बीबीसीले पनि यी दुई नेताको मित्रतालाई ‘इतिहासका पानाहरूबाट लिइएको र समयको कसौटीमा परीक्षण गरिएको मित्रता’ भनेको छ।
दुईको यारी, अमेरिकालाई भारी
अहिले भारत र अमेरिकाबीचको सम्बन्ध पहिलेजस्तो छैन। ट्रम्पको दोस्रो कार्यकालपछि अमेरिकासँग भारतको व्यापार र कूटनीतिक सम्बन्धमा दरार परेको छ। पुटिनसँग घनिष्टता बढाउँदै मोदीले त्यो दरार पुर्न खोजेको देखिन्छ। भारतले रुसबाट इन्धन नकिनोस् भन्ने ट्रम्प चाहन्छन्, भारतलाई रुसको इन्धन सस्तो पर्छ।
२३औँ भारत–रूस शिखर सम्मेलनमा भाग लिन त्यहाँ पुगेका पुटिनलाई मोदीले देखाएको न्यानो आतिथ्य अन्तर्राष्ट्रिय मिडियामा हेडलाइन बने। सम्मेलनपछि दुई देशका प्रमुखले गरेको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले भने, “प्रधानमन्त्री मोदीसँगको मेरो रात्रिभोज वार्ता हाम्रो रणनीतिक साझेदारीको लागि धेरै उपयोगी थियो। प्रधानमन्त्री मोदी र मैले घनिष्ठ कार्य संवाद विकास गरेका छौँ।”
लगभग ५० वर्षदेखि रुसले भारतीय सेनालाई हतियार र आधुनिकीकरणमा सहयोग गर्दै आएको छ। यो भेटले भारत–रुस रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने पुटिनले विश्वास व्यक्त गरेका छन्। यस्तै, दुई देशबीचको व्यापार गत वर्ष मात्रै १२ प्रतिशतले बढेको छ। पुटिनले यस वर्ष पनि व्यापार बलियो रहने भन्दै दुवै देशहरू यो व्यापार मात्रा १०० अर्ब अमेरिकी डलरमा लैजान तयार रहेको पनि बताए।
पुटिनले भारतमा आवश्यक सबै प्रकारका इन्धनलाई निर्बाध रूपमा पूर्ति गर्न रुस तयार रहेको प्रमुखकताका साथ उल्लेख गरे। पुटिनको यो प्रतिबद्धताले नयाँदिल्लीलाई मस्कोबाट तेल खरिदमा अमेरिकी दबाबको सामना गर्दा राहत दिने अपेक्षा गरिएको छ। तीव्र गतिमा बढिरहेको भारतीय अर्थतन्त्रका लागि इन्धनको निरन्तर आपूर्ति अनिवार्य छ।
उनले मोदीसँग नियमितजसो फोनमा संवाद भइरहने गरेको उल्लेख गर्दै भारतका ठूला परियोजनामा साथ दिने दृढता पनि व्यक्त गरे। “हामी भारतीय अर्थतन्त्रको प्रगतिको लागि सबै प्रकारका इन्धनको निर्बाध आपूर्ति जारी राख्न तयार छौँ, रुसले भारतको सबैभन्दा ठूलो आणविक प्लान्टको निर्माणमा पनि सहयोग गरिरहेको छ,” उनले भने, “दुवै देशहरू भुक्तानीको लागि आफ्नो राष्ट्रिय मुद्राको प्रयोगतर्फ पनि बिस्तारै अघि बढिरहेका छन्। हामी वार्षिक द्विपक्षीय व्यापारलाई १०० अर्ब डलरमा बढाउने आशा गर्दछौँ।”
यस भेटमा दुई देशबीच खासै ठूलो ‘डिल’ (अनुमान गरिएअनुसार हातहतियार तथा रक्षा सम्झौता) नभए पनि विश्व व्यवस्थामा अमेरिकाको एकलौटी प्रभावलाई चिर्न ग्लोबल साउथ तत्पर छ भन्ने संकेत देखाएको छ। भारत, रुस, चीनसहित १० देशको समूह ब्रिक्सप्रति अमेरिकी राष्ट्रपति ट्रम्प असहीष्णु देखिन्छन्। उनी विश्व व्यवस्थामा अमेरिकी प्रभावसामु ब्रिक्स बाधक बन्ने ठान्छन्।

ओपी जिन्दल ग्लोबल युनिभर्सिटीकी सहायक प्राध्यापक डा. अनुराधा मित्र चेनोय पुटिनको भारत भ्रमण दुवै देशका लागि महत्त्वपूर्ण भएको बताउँछिन्। भ्रमणले रुस एक्लो नभएको सन्देश दिएको र पश्चिमाबाहेकका देश भारत, चीन वा अफ्रिका र पश्चिम एशियामा उनको स्वागत भइरहेको देखिएको उनको भनाइ छ।
“यो भारतको लागि पनि महत्त्वपूर्ण छ। भारतले १० वर्षदेखि अमेरिकासँग रणनीतिक साझेदारी विकास गर्न ठूलो लगानी गरेको छ। तर ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि, भारतको रणनीतिक स्थिति घटाइएको छ,” बीबीसी हिन्दीसँग डा. चेनोय भन्छिन्, “यसको एउटा कारण यो हो कि उनी द्विपक्षीय सम्बन्धलाई समान आधारमा कायम राख्न चाहँदैनन्। युरोप उनको पुरानो साझेदार भए पनि उनले यससँग समान सम्बन्ध कायम राखिरहेका छैनन्, बरु उनीहरूलाई निर्देशन दिइरहेका छन्।”
मोदीले पुटिनसँग जसरी मितेरी गाँस्दै छन्, त्यसले विश्व शक्ति अमेरिकालाई टक्कर दिने रुस भारतकै पक्षमा छ भन्ने देखाउन खोजेका छन्। भारतका पूर्वकूटनीतिज्ञ अनिल त्रिगुनायत भन्छन्, “भारत आज बलियो रूपमा देखा परेको छ, जसले प्रधानमन्त्री मोदीको प्रत्यक्ष दृष्टिकोणलाई देखाउँछ कि, हामी जससँग मित्रता वा साझेदारी छ त्यसलाई हामी कुनै दबाबमा छोड्दैनौँ।”
एजेन्सीहरूको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
