नेपाल–साइनो जोगाइराखेका मलेसियाका ‘गुर्खा’

क्वालालम्पुरको कोटा राया क्षेत्रमा ‘फैसन सेन्टर’ चलाउने शान्ति थापाका जिजुबाजे मलेसिया पुगेका थिए। यसरी चारपाँच पुस्ताअघि नै यहाँ आएका परिवारका सन्तान मलेसियाभरि छरिएका छन्। १०० वर्षअघि नै नेपाली कसरी मलेसिया पुगे?

क्वालालम्पुर (मलेसिया)– १९६६ मार्च २३ को साँझ मलेसिया पेराक प्रान्तको गोपेङ शहरमा मानबहादुर कार्कीकी ११ दिनकी छोरीको न्वारान चलिरहेको थियो। मानबहादुरले मलेसियामै चिनजान भएका केही नेपालीलाई पनि निम्त्याएका थिए। तीमध्ये सार्वजनिक निर्माण विभागमा चौकीदार रहेका करन बहादुर पनि थिए। उनले आफ्नो ७ वर्षका छोरा शंकरका लागि ११ दिने शिशुलाई भविष्यमा बुहारी बनाउने प्रस्ताव राखिहाले।

मानबहादुरलाई पनि यसमा कुनै आपत्ति थिएन। छोरीको नाम राखियो तारा। ताराका हजुरबा मानसिंह कार्की रुपन्देहीको मणिग्रामबाट १०० वर्षभन्दा अगाडि मलेसिया पुगेका थिए। उनको छोरा मानबहादुरको जन्म सन् १९४८ मा मलेसियामै भयो। 

“म ११ दिनको मात्र हुँदा शंकरको बुवाले बुहारी बनाउन मागेको सुन्दा अहिले आएर मेरा दुई छोरीहरू सेनिता र सेरिनालाई अचम्म लाग्छ,” ताराले आफ्नो कथा सुनाइन्, “समय बित्दै गयो। सामाजिक जमघटहरूमा हाम्रो भेटघाट भइरहन्थ्यो। म १८ वर्षको हुँदा बिहेको कुराकानी चल्न शुरू भयो। उसको बुवाआमा मलाई माग्न घरमा आए र बिहेको मिति तय भयो।”

तारा र शंकरले यसमा किन्तु परन्तु गरेनन्। “बिहे अगाडिदेखि नै ससुराले धेरै माया गर्थे, ऊ पनि ह्याण्डसम थियो, मलाई मन परेको थियो,” ताराले हाँस्दै भनिन्, “खासमा उसको बुवाले चाहेका थिए, बुहारी नेपाली नै होस्। मेरो बुवा पनि नेपालीलाई नै छोरी दिन पाउँदा खुशी थिए, थोरै मान्छेहरूको उपस्थितिमा बिहे सम्पन्न भएको मलाई झल्झली याद छ।”

अहिले ७ वर्षीय नातिनी आर्या आचार्यले शुद्ध नेपाली बोलेको सुन्दा तारा गद्गद् हुन्छिन्। “९१ वर्ष पुगेकी मेरो सासु सानै हुँदा नेपालबाट बिहे गरेर मलेसिया आइन्, उनलाई नेपाली आउँदैन, मलाया भाषा मात्र बोल्छिन्,” ताराले भनिन्, “नातिनीले नेपाली सिकेकी छन्, उसको बोली सुन्न कति मिठो हुन्छ मलाई।”

चारपाँँच पुस्ताअगाडि मलेसिया पुगेकामध्ये तारा र शंकरको परिवार पनि एउटा हो। शंकर सन् २००६ देखि तीन कार्यकाल एनआरएनए मलेसियाको अध्यक्ष थिए। उनी मलेसियास्थित ब्राजिलियन दूतावासमा कार्यरत छन्। शंकर र ताराका ज्वाइँ सुरज बहादुर र विष्णुकुमार क्षेत्रीको परिवार पनि चारपाँच पुस्ताअघि नै मलेसिया पुगेको हो।

शंकरका बुवा करन बहादुर नेपालबाट सन् १९४२ मा मलेसिया पुग्दा शुरूमा पेनाङमा बसेका थिए। वृक्षरोपणसम्बन्धी कम्पनीमा काम पाएपछि त्यहाँबाट उनी केमरन हाइल्यान्ड गए। पछि सरकारी निकायमा चौकीदार भए।

बिहेका लागि भने करन बहादुर नेपाल नै गए। त्यहाँ लीलावती देवी थापासँग बिहे गरेर फर्किए। बिहे गर्दा आफ्नी आमा १४ वर्षकी मात्र भएको आफूले थाहा पाएको शंकर बताउँछन्। 

शंकरको परिवार। सबै तस्वीर: रितेश/उकालो।बुवा करन बहादुर सन् १९५२ मा बिहे गरेर कोलकाता बन्दरगाह हुँदै मलेसिया आउँदा बनाएको राहदानी शंकरले अझै जोगाएर राखेका छन्। केमरन हाइल्यान्डमा बसोबास थालेपछि उनकी आमा त्यहाँ ‘अक्जुलरी पुलिस’ (अतिरिक्त प्रहरी) मा जागिरे भएकी थिइन्। मलेसियामा सन् १९४८ देखि १९६० पहिलो र १९६८ देखि १९८९ दोस्रो आपतकालका बेला त्यस्ता प्रहरी भर्ना लिइएको थियो।

पछि लीलावती अस्पतालमा परिचारिका भएर पेन्सन पाउने गरी अवकास भएको शंकर बताउँछन्। “म सानो हुँदा मेरो नाम शंकर बहादुर थियो, पछि मात्र पौडेल थर थाहा पाएँ। यहाँ गुर्खा भनेपछि जागिर पाउन सजिलो थियो, त्यस कारणले यो पहिचान धारण गरेकोमा दुई राय छैन,” उनी भन्छन्, “मेरो बुवा गुल्मीबाट यहाँ आउनु भएको थियो, हाम्रो आईसी (नागरिकता)मा नेपाली नभएर मूल गुर्खा उल्लेख छ।”

नेपाल थाहा छ, ठाउँ यकिन छैन
शंकरले छोरीहरूका लागि नेपाली मूलका ज्वाइँ पाउन सफल भएजस्तै, सन्तानको बिहेवारी नेपाली मूलकै सँग गर्ने धेरैको धोको छ। केलाङमा बसोबास गर्ने व्यवसायी रोशन राणालाई नेपाली बुहारी भित्र्याउने चाहना जेठो छोरा श्रेयसले मास्दैन भन्ने लागेको छ। कान्छो रेयान्स बल्ल ६ वर्ष पुगेका छन्।

रोशनले नेपाली नागरिकसँगै बिहे गरेका छन्। उनकी श्रीमती श्वेता मिश्र एयरलाइन्स कम्पनीमा कार्यरत थिइन्। उनीहरूले प्रेम विवाह गरेका हुन्। 

नेपालमा आफ्नो थातथलो जान्ने हुटहुटी भए पनि ठम्याउन सकेका छैनन्। “जिजुबाजे नन्दलाल राणा गोर्खाबाट पहिला आसाम, त्यहाँबाट बर्मा र थाइल्यान्डको सुराक थानी पुग्नुभयो। त्यहाँ हाम्रो घर थियो। हजुरबा भक्तबहादुर त्यहीँ जन्मिनुभयो,” रोशनले भने, “जिजुबाजे किन नेपाल छोडेर हिँड्नुभयो थाहा छैन। तर हजुरबालाई उनकी आमाले नेपाल नजानु मार्दिन्छन् भनेकी थिइन्।”

रोशनको परिवार। गोर्खा एसोसिएसनको अध्यक्ष रहेका रोशनका हजुरबा भक्तबहादुरको कथा मलेसियासँग जोडिन्छ। “सानैमा थाइल्यान्डबाट भागेर यहाँ आइपुग्दा पोर्ट–डिक्सन (समुद्र तटको एउटा ठाउँ) पुग्नुभयो। त्यहाँ एक जना पञ्जाबीले सुवर्धन राईसँग भेट गराइदिएका थिए,” रोशनले भने, “ती राईले नै थाइल्यान्डमा रहेको परिवारलाई चिठी लेखेर जानकारी गराएपछि परिवारै यहाँ आयो। उति बेला सीमा खुल्ला हुँदा समस्या थिएन।” 

रोशनका अनुसार उनको परिवार मलेसिया आएको १०० वर्षभन्दा धेरै भयो। हजुरबा भक्तबहादुर र हजुरबाका भाइ भोटेबहादुर प्रहरी भए। “जागिरकै क्रममा हजुरबाले हजुरआमालाई पानी जहाजमा भेटाएर बिहे भएको र बुवा बलबहादुरको जन्म यतै भएको हामीलाई थाहा छ,” रोशनले भने, “पछि हजुरबाको अर्को बिहे पनि भयो। त्यो हजुरआमाबाट पनि सन्तान भए।”

बेलायती गोर्खा सेनामा लागेर र अरू प्रयोजनले आएका गुर्खाहरूको एउटा गाउँ सन् १९९६ तिर सरकारको ‘प्लानिङ’को क्रममा हटाइएपछि रोशन केलाङ सरे। त्यहाँ नेपाली मूलका मानिसहरूको आधा दर्जन जति घर छन्। छरिएर रहेका मालाया गुर्खाहरू चाडबाडको अवसरमा ठाउँठाउँमा जमघट हुन्छन्। तीज, दशैँ, देउसीभैलो, सन्सारीमाईको पूजा र कालरात्रीको पूजामा जमघट हुने रोशन बताउँछन्।

मलेसियामा ३०० भन्दा बढी परिवार नेपाली मूलका रहेको उनले बताए। अग्रज पुस्ता बुढो भइसकेको र आफूहरूजस्तो ‘नेपाल मोह’ नयाँ पुस्तालाई नभएको ४० कटिसकेका रोशन बताउँछन्। “त्यसैले नेपाली नै खोजेर बिहे गर्ने हाम्रो जोड हुन्छ। अब भने बाबुआमाको कुरा नसुन्ने आफ्नै हिसाबले बिहे गर्ने पनि भइसके,” उनले भने।

मलेसियासहित बर्मा, थाइल्यान्ड, भुटान, फिजीलगायत देशका नागरिक भइसकेका नेपाली मूलका मानिसहरूले ‘पिपुल अफ नेपाली ओरिजन’ (पीएनओ) संस्था बनाएका छन्। “धेरै पुस्ता बिताइसकेका हामीजस्तालाई एनआरएनएको रूपमा गन्दैनन्,” उनले भने, “त्यसैले हाम्रो अनुकूलको एउटा संगठन आवश्यक थियो, नेपालमा जग्गा किन्न पाउने र त्यहाँ बस्न पाउने हाम्रो माग हो।”

सेक्युरिटी सेवाको व्यवसाय सञ्चालन गर्ने रोशनले आफ्ना बुवा बलबहादुरले नै मलेसियामा पहिलो सेक्युरिटी समूह ‘सेक्योगार्ड’ १९६५ तिर शुरू गरेको बताउँछन्। उनले शुरू गरेको कम्पनीमा अहिले करिब ४०० नेपाली कार्यरत छन्। पछिल्लो समय मलेसियामा अवैध अप्रवासीहरू विरुद्ध सरकारले कडाइ गरेपछि कानूनी विवादमा परेका कतिपयलाई आर्थिक सहयोग गर्ने, नेपाल फर्किन हवाई टिकट किनिदिने जस्ता परोपकारी काम पनि उनी गर्छन्।

सेक्युरिटी गार्ड अर्थात्, नेपाली
रोशनका बुवाले सेक्युरिटी सेवा थलानी गर्दा दर्ता गर्ने चलन थिएन। सन् १९८१ मा कम्पनी दर्ता भयो, त्यसमा काम गर्नेहरू नेपाली नै हुन्थे। उनले भने, “धेरैजसो पूर्वसैनिक हुन्थे र कतिपय छेउका अरू देशबाट पनि काम गर्न आए। १९९७ देखि नेपालबाट वैदेशिक रोजगारीको भिसा प्रक्रियाबाट यहाँ सेक्युरिटी गार्डमा काम गर्न आउन थाले।”

अहिले करिब १२ सय सेक्युरिटी कम्पनीमध्ये धेरैजसो नेपाली मूलका व्यक्तिले सञ्चालन गर्छन्। मलेसियामा नेपाली र मलेसियन नागरिकले मात्र सेक्युरिटी कम्पनी सञ्चालन वा त्यसमा काम गर्ने अनुमति थियो। सन् २०१६ पछि अरू मुलुकका मानिसलाई पनि खुला भयो।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले मलेसियामा सन् २०२४ र २०२५ मा नेपालीहरूको स्थिति अध्ययनका लागि गरेको ‘भ्याकेन्सी अनाउन्समेन्ट’मा मलेसियाको गृह मन्त्रालयको एउटा अध्ययनलाई उधृत गर्दै यहाँको सेक्युरिटी सेवामा २८ हजार ३२१ नेपाली कामदार रहेको उल्लेख गरेको छ।

यसैबीच, नेपालीले प्रतिबन्धको सामना पनि गर्नुपरेको थियो। अदक्ष श्रमिकको कारण देखाउँदै सन् २००९ मा सेक्युरिटीमा नेपालीलाई रोक लगाइएको थियो। २०१२ जुनदेखि यो प्रतिबन्ध हट्यो। अहिले मलेसियामा सेक्युरिटी गार्ड प्रायः नेपाली नै हुने गरेको र यो सेवा रोजगारको एउटा ठूलो क्षेत्र भएको क्वालालम्पुर बस्ने मन्दीप भट्टराई बताउँछन्।

“यहाँ उद्योग, व्यवसायिक प्रतिष्ठान, कृषि फार्महरूमा पनि केही नेपाली भेटिन्छन्। आफै व्यवसाय सञ्चालन गर्ने र विभिन्न संस्थाका उच्च ओहदामा पुगेका केही नेपाली छन्। सेक्युरिटी गार्डको काममा भने प्रायः नेपाली नै छन्,” भट्टराईले भने, “मुख्य कुरा यहाँ नेपालीमाथि सरकार र ठूला व्यवसायी तथा उद्योगीहरूले भरोसा गरेको देखिन्छ।”

गुर्खा सम्बोधनको अन्तर्य
सन् १८२४ मा भएको एंग्लो–डच सन्धिसँगै मालाया क्षेत्रमा पूर्ण नियन्त्रण प्राप्त गरेको बेलायतको उपनिवेश १९५७ सम्म कायम थियो। विश्लेषक हरि शर्मा मलाया क्षेत्रका गुर्खा नेपालको पहाडी भूभागबाट सर्दै र बेलायतको सेनामा लागेर पनि पुगेको बताउँछन्। 

“नेपालको पहाडलाई हेर्ने हो भने पश्चिममा अग्ला छन्, पूर्व जाँदै गर्दा होचो हुँदै गएका छन्। यसको श्रृंखला दार्जिलिङ, असम, मेघालय हुँदै बर्मासम्म पुग्छ। नेपाली पहाडीयाहरूको प्रवासनको एउटा त्यो ढाँचा छ,” शर्माले भने, “आसाममा बेलायती उपनिवेश पुगेपछि त्यहाँ चियाबारीको विकास भएसँगै संस्थागत रूपमा खेती गर्ने अवस्था आयो। असम वा मेघालयमा पहाडीया नेपालीले खेतिपाती र पशुपालन गरेर दुध उत्पादन गर्न सिकाए।”

१८२६ फ्रेब्रुअरी २४ मा ब्रिटिस इन्डिया कम्पनी र बर्माका राजाबीच ‘यान्डाबोको सन्धि’ भएर प्रथम अंग्रेज–बर्मी युद्ध समाप्त भयो। बर्माले असम, मणिपुर, र अरकान क्षेत्र बेलायतलाई दियो

ब्रिटिस–इन्डिया कम्पनीले यस क्षेत्रलाई बंगाल ‘प्रेसिडेन्सी’को हिस्सा बनाएर कृषिलाई प्रोत्साहन गर्‍यो। खासगरी, सन् १८३७ मा व्यवसायिक चियाखेती शुरू गरे। चिनियाँ व्यापारी यहाँ आउन थाले र स्थानीय मानिसहरूको संख्या न्यून हुँदा बिहार, बंगाल र नेपालबाट श्रमिक मगाउन थालियो।

सन् १९४७ मा बेलायती उपनिवेशबाट भारत स्वतन्त्र हुनुअगाडि त्यस क्षेत्रमा नेपालीहरूको उपस्थिति उल्लेखनीय भइसकेको थियो। कतिपय भने अनुकूल जीवनको खोजीमा त्यहाँबाट बर्मा, थाइल्यान्ड र मलेसियातिर बसाइँ सरे। तिनैमध्येको एउटा परिवारको सन्तान हुन् मलेसियाको रेवाङ निवासी रोशन राणा।

त्यस्तै, बेलायती सेनामा सामेल भएर पनि धेरै नेपाली मलेसिया पुगको शर्मा बताउँछन्। एंग्लो–नेपाल युद्ध (सन् १८१४–१८१६) सुगौली सन्धिसँगै समाप्त भयो। इस्ट इन्डिया कम्पनीले आफ्ना सेनामा गोर्खाहरू भर्ती गर्न थाल्यो। द्वितीय विश्वयुद्धपछि उपनिवेशहरू सकिने बेला सन् १९७० को दशकामा बेलायतले रक्षासंयन्त्र  परिवर्तन शुरू गर्दा गोर्खा फौजको संख्या १४ हजार रहेको र सशस्त्र बलको पुनर्गठन पछि यो घटेर लगभग आठ हजार पुगेको पाइन्छ। यसबीच, कतिपय गोर्खा सेना पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा जंगलमै छुटे, जो त्यतै बसे।

क्वालालम्पुरस्थित कोटा राया क्षेत्रमा रहेको शान्ति थापाको पसलमा शनिबार भेला भएका गुर्खा।भारतीय क्षेत्रमा बेलायती उपनिवेश समाप्ती पनि गोर्खाको बसाइँसराइको कारण बन्यो। “भारतको स्वतन्त्रतापछि बेलायती सेनामा भएको गोर्खा पल्टनहरू भागबण्डा भएर ६० प्रतिशत भारतमै रहे, ४० प्रतिशत बेलायतसँग गए। बेलायतसँग गएको बटालियन भारतमा राख्न नमिल्ने हुँदा मलेसियामा लगेर राखे,” शर्माले भने, “मलेसियाले स्वतन्त्रतापछि यतिका वर्ष सेवा गरेको हुनाले इच्छा भएकालाई त्यहाँ बस्न पाउने विकल्प दियो।”

मलेसियामा सन् १९६८ देखि १९८९ सम्म चलेको कम्युनिस्ट विद्रोहको समयमा सरकारले बेलायतसँग सहयोग मागेपछि केही बटालियन स्वतन्त्रतापछि पनि त्यहीँ बसिरहे। त्यो बेलादेखि गोर्खाहरू बस्न दिने नीति आयो।

यसैबीच, भूमिपुत्र आन्दोलनले मलेसियाको अवस्था प्रतिकूल बनायो। सन् १९६९ देखि शुरू यो आन्दोलनमा रैथाने मलायाहरूले संविधानमा विशेष स्थिति सुनिश्चित गर्न र चिनियाँहरूको वर्चश्व विस्थापित गर्न माग गरेका थिए। यो आन्दोलनका कारण पनि केही नेपाली विस्थापित भए।

यतिका उतारचढावबीच गोर्खा पहिचानसहित नेपाली मूलका मानिसको बसोबास कायम छ। यहाँको सरकारले सन् १९७४ सम्ममा गोर्खाहरूलाई उपयुक्त ठाउँमा पुनस्र्थापित गरेको थियो।

बर्मामा सैनिक शासन शुरू भएपछि केही नेपालीहरू त्यहाँबाट निस्केर मलेसिया पुगे। ‘नेपाली हुँ’ भनेपछि बस्न गाह्रो हुने भएकाले ‘गुर्खा’ पहिचान नै अंगालिएको शर्माको भनाइ छ। “नेपाली भनेर बस्दा आफ्नो गृहभूमि छ, भाषा छ। आफ्नो ठाउँमा जा भन्ने कुरा आयो,” उनले भने, “यही कुरा बर्मा र दार्जिलिङमा पनि छ। गुर्खा भनेपछि लडाइँसँगै जोडिएर आएकोजस्तो भयो।”

युद्धको साइनो
राजधानी क्वालालम्पुरको मुख्य शहरी क्षेत्रको करिब बीचमा एउटा ऐतिहासिक राष्ट्रिय स्मारक छ। सन् १९१४ देखि १९१८ सम्म चलेको पहिलो विश्वयुद्ध, १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्ध र १९४८ देखि १९६० सम्मको मलेसियाको आपतकालमा शहीद भएका करिब ११ हजार सिपाहीहरूको सम्झनामा स्मारक समर्पित छ।

स्मारकको मध्यमा रहेको स्तम्भमा प्रथम विश्वयुद्धमा मृत्यु भएका सिपाहीहरूको नाम छ। त्यसमा गुर्खा फौजीहरूको नाम पनि छ। मंसिर ७ मा विभिन्न देशका दूतावासहरूले आफ्नो देशका फौजीहरूको स्मृतिमा फूलमाला चढाए। त्यसमा एउटा माला मलेसियास्थित नेपाली दूतावासको पनि थियो।

स्मारक प्रांगणमा विभिन्न सैनिक समूहको चिह्न अंकित छ। खुकुरी क्रस भएको गुर्खा सिपाहीका तीनथरी चिन्ह देखिन्छन्। मलेसियाका लागि निवर्तमान नेपाली राजदूत नेत्र तिमिल्सिनाका अनुसार त्यहाँका गुर्खाहरू मुख्यतः राजधानी क्वालालम्पुर बस्छन् भने, अन्य केही ठाउँमा पनि छरिएका छन्। “त्यहाँ दुई हजार गुर्खाहरू रहेको बुझिन्छ,” उनले भने, “युद्धमै भाग लिएका मानिस त भेटिँदैनन्, तर नयाँ पुस्ता छन्। जे होस्, मलेसियाको नेसन बिल्डिङमा योगदान गरेको रूपमा पनि चिनिन्छ।”

मिनी नेपाल ‘कोटा राया’ 
क्वालालम्पुरको बीचमा पर्ने कालाङ र गोम्बक नदीको दोभान नजिकै सेन्ट्रल मार्केट, चाइनाटाउन बजार, कोटा राया कम्प्लेक्स र ऐतिहासिक मारदेका मस्जिद आसपासको इलाका कोटा राया क्षेत्र हो। यहाँ नेपालीहरूको बाक्लो उपस्थिति छ। पसलका साइन बोर्ड, पसल सञ्चालक र ग्राहकले नेपालको झल्को दिन्छन्। 

यहाँ एउटा पुरानो घरको पहिलो तल्लामा मेरी बास्सै रेस्टुरेन्ट छ। त्यसको अगाडि काठमाडौँ रेस्टुरेन्ट र त्यहाँभन्दा एक पसल पर चितवन ट्रेडर्स छन्। नजिकै स्वागतम् भन्साघर र अलि अगाडि मण्डला रेस्टुरेन्ट छन्। ती रेस्टुरेन्टमा मोःमो, ढिडो, सेकुवा र नेपाली खाना पाइन्छ। “यस ठाउँलाई मिनी नेपाल भन्दा हुन्छ,” त्यहाँ भेटिएका विनोद दाहालले भने।

nullधेरै नेपालीले स्वदेश पैसा पठाउने मनी ट्रान्सफर कार्यालयसँगै यही कोटा रायास्थित ‘थापा ग्रेट फैसन सेन्टर’ मा निकै चहलपहल छ। यस पसलकी सञ्चालक शान्ति थापा हुन्। उनको परिवार चारपाँच पुस्तादेखि मलेसियामा छ।

आफ्ना जिजुबाजे तनवीर बुढा मगर कुन प्रयोजनमा मलेसिया पसेका थिए भन्ने यकिन जानकारी नभएको शान्ति बताउँछिन्। तर उति बेला बेलायती सरकारले भारत, नेपाल र अरू देशबाट धेरै मानिसलाई यहाँ ल्याएको उनले अग्रजहरूबाट सुनेकी छन्। 

शान्तिका जिजुबाजे तनवीरले बनाएको काली मन्दिरको शीलालेखमा स्थापना वर्ष सन् १९२६ अंकित छ। तनवीरका छोरा गम्बरसिंह बुढामगरका ६ छोरीमध्ये फूलमायाकी छोरी हुन् शान्ति। सन् १९९० को दशकमा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली बढेपछि शान्तिले व्यवसाय थालेकी थिइन्।

शान्तिले डब्लूआरपी भन्ने पञ्जा बनाउने कारखानाका कामदारहरूले माग गरेअनुसार त्यहाँ सन् १९९९ मा ‘नेपाली क्यान्टिन’ स्थापना गरेर आमासँगै व्यवसायिक जीवन थालेकी थिइन्। शान्तिकी आमा फूलमाया यहाँ सफल व्यवसायी हुनुका साथै सामाजिक रूपमा पनि सक्रिय थिइन्। व्यवसायकै करण दिनहुँ नेपालका मानिससँग संवाद हुँदा शान्तिको नेपाली बोली दुरुस्त छ। 

क्यान्टिनपछि उनीहरूले शुरू गरेको ‘हाम्रो रेस्टोरेन्ट’ नेपालीहरूको लागि जङ्क्सन भयो। शान्तिको नेतृत्वमा एउटा ट्राभल्स ऐजेन्सी पनि थपेका थिए। तर कोरोनाकालमा ती दुवै व्यवसाय बन्द भए।

लकडाउनपछि उनले जेनरल स्टोर शुरू गरेकी हुन्। यहाँ पाँचजना नेपालीले रोजगारी पाएका छन्। “मेरो ग्राहक धेरैजसो नेपालीहरू नै हुन्छन्, मेरोजस्तो पसल आसपास दर्जनभन्दा बढी छन्। अहिले यहाँ मात्र होइन, सबै प्रान्तमा नेपालीहरू छन्,” शान्ति भन्छिन्, “क्वालालम्पुरमा यो ठाउँ भेटघाट एरियाजस्तो पनि भयो। दुई ठाउँमा बसेका मानिसहरू भेटौँ भनेपछि ठाउँ कोटा राया नै हो।”