आवश्यक पूर्वाधार र तयारी अभावका बाबजुद राम्रो प्रदर्शन गरेको नेपाली टोलीले पहिलो पटक आयोजित दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेतामै चित्त बुझाउनुपर्यो।
काठमाडौँ– यतिबेला नेपाली खेलजगतको सम्भवतः सबैभन्दा ठूलो प्रतियोगिता बन्नपुगेको नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ। क्रिकेटप्रेमी स्टेडियममा, टेलिभिजनमा, सोसल मिडियामा जताततै यही प्रतियोगितासँग जोडिएर चर्चा गरिरहेका छन्। विदेशी स्टार खेलाडी, नवनिर्मित त्रिवि क्रिकेट मैदान, फ्लडलाइटको उज्यालोले घट्दो तापक्रमबीच क्रिकेटको माहोल तातेको छ। तर यही रौनकबीच, नेपाली क्रिकेटमा अर्को एउटा इतिहास रचिएको छ— विश्वकप क्रिकेट फर द ब्लाइन्ड २०२५ को फाइनलसम्मको यात्रा।
यद्यपि, नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले उपविजेतामै चित्त बुझाउनुपर्यो। श्रीलंकाको कोलम्बोमा आयोजित टी२० विश्वकप क्रिकेट फर द ब्लाइन्ड २०२५ को फाइनलमा लामो समयदेखि अभ्यासरत शक्तिराष्ट्र भारतसँग प्रतिस्पर्धा गर्दा नेपाल ७ विकेटले पराजित हुन पुग्यो। विजेताको दाबेदारीसहित मैदानमा उत्रिएको नेपाली टोलीले फाइनलसम्मको यात्रा तय गरेर विश्व क्रिकेट जगतको ध्यान खिच्न भने सफल भयो।
नेपाली खेलाडीका लागि यो यात्रा सहज भने थिएन। टोलीले केबल खेलको चुनौती मात्र होइन, घरेलु मैदानमा आवश्यक पूर्वाधार र पर्याप्त तयारी अभावका साथै कोलम्बो भ्रमणको टिकट खर्च जुटाउनसमेत धौधौ पर्यो। यस्तो आर्थिक र भौतिक अभावका बाबजुद खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै नतिजाका लागि हरसम्भव योगदान दिए।
नेपाली टोलीकी कप्तान गीता पौडेल धेरै कुराको अभावबीच करिब एक महिनाको तयारीमै टिमले गरेको प्रदर्शनमा आफू खुशी रहेको बताउँछिन्। १८ वर्षदेखि क्रिकेट खेल्दै आएकी उनले विश्वकप खेल्न पाउँदा लामो समयको मिहिनेतको सदुपयोग भएको बताइन्।
विश्वकप यात्रा अविस्मरणीय सिकाइ भएको उल्लेख गर्दै गीताले भनिन्, “विश्वकप कहिले होला भनेर उत्साहित थिएँ, लामो समयको मिहिनेतको फल पाएको अनुभूति भएको छ।”
स्रोतसाधन अभावका बाबजुद टिमले उत्कृष्ट प्रदर्शन गरेको उनको भनाइ छ। यद्यपि, सानो एकेडेमीमा गरेको तयारी अपर्याप्त भएका कारण उपविजेतामै चित्त बुझाउनुपरेको गुनासो पनि छ।

अभावले उपविजेता
नेपाली टिमका लागि कोलम्बो यात्रा सहज भएन। बजेट अभावका कारण टिकटसमेत उपलब्ध गराउन व्यवस्थापनलाई धौधौ पर्यो। टिमलाई आवश्यक सामग्रीको जोहो झनै चुनौतीपूर्ण रह्यो।
तयारीका लागि जताततै गुहार्दासमेत ग्राउन्ड नपाएपछि सानो ठाउँमा तयारी गरिएको दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे बताउँछन्। “व्यवस्थापनले समस्या झेलिरहँदा कहीँ कतैबाट सहयोग पाइएन, आर्थिक समस्याले पनि साह्रै सतायो,” उनी भन्छन्।
घिमिरेलाई सन् २००६ मा आफूले नै शुरू गरेको दृष्टिविहीन महिला क्रिकेटको कुनै दिन विश्वकप नै होला भन्ने लागेकै थिएन। अहिले यस खेलले लिएको उचाइबाट आफू धेरै खुशी भएको उनी बताउँछन्।
“दृष्टिविहीन विश्वकप नेपालमै आयोजना हुने तयारी थियो। नेपालमा जेनजी आन्दोलन भएपश्चात् आयोजक भारतले उक्त प्रतियोगिता श्रीलंका सारिदिएपछि हामीलाई भिसा, टिकटदेखि अन्य तयारीका लागि समस्या देखिन थाल्यो,” घिमिरेले बताए।
काठमाडौँमा भएका तीन वटै क्रिकेट ग्राउन्ड उपलब्ध नभएपछि पोखरा जाँदा पानी परेर समस्या भयो, जसले गर्दा तयारी नै गर्न नपाएको उनको भनाइ छ। “कम्तीमा ३-४ महिनाको अभ्यास आवश्यक थियो, तर २४-२५ दिन मात्रै तयारी गरेर विश्वकपमा पुग्दा आफैले हराएको टोलीसँग फाइनलमा हार्नुपर्यो,” उनी भन्छन्।
राष्ट्रिय खेलकुद परिषद्, तत्कालीन मन्त्री र अहिलेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासमेतलाई समस्याबारे अवगत गराइए पनि कतैबाट सुनुवाइ नभएको उनीको गुनासो छ।
पूर्वप्रशिक्षक रिजन प्रजुका अनुसार नेपालसँग भारत र पाकिस्तानलाई सहजै हराउन सक्ने क्षमता थियो। तर पछिल्लो दुई वर्षमा भारत र पाकिस्तानले विश्वकपको तयारी गर्ने अवसर पाए, जबकि नेपाल एउटै स्तरमा सीमित रह्यो। यसरी तयारीमा पछि पर्दा नेपाली टोली फाइनलमा पराजित हुनपुगेको उनको विश्लेषण छ। “हाम्रो खेललाई बुझेर भारतले राम्रो तयारी गरेका कारण भारतले सहजै जित्न सक्यो,” उनी भन्छन्।
प्रशिक्षक सञ्जु क्षेत्रीका अनुसार भारतसँगको फाइनल खेलमा टस भारतले जित्दा नेपालले ब्याटिङ गर्नुपर्यो, तर नेपालको ब्याटिङ चल्न सकेन। नेपाल उच्च स्कोर बनाउन चुक्दा खेल हार्न पुग्यो। दृष्टिविहीन क्रिकेटमा पनि राज्यले लगानी गरे टिमले राम्रो प्रदर्शन गर्नसक्ने उनी बताउँछन्। जसरी अन्य क्रिकेटमा समर्थकहरूको लगानी छ, त्यसरी दृष्टिविहीन क्रिकेटमा पनि लगानी आवश्यक रहेको उनको तर्क छ।

उपविजेता बनेर फर्किएको नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले १० लाखको चेक हस्तान्तरण गरेको छ। त्यसलगत्तै क्रिकेट टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेको थियो। प्रधानमन्त्री कार्कीले सहयोगको आश्वासन दिएको अध्यक्ष पवन घिमिरे बताउँछन्।
फाइनलसम्मको यात्रा
प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ राष्ट्र सहभागी थिए। राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले श्रीलंकालाई ९ विकेटले, अस्ट्रेलियालाई ८ विकेटले तथा पाकिस्तान र अमेरिकालाई १०/१० विकेटले पराजित गरेको थियो।
लिग चरणको रमाइलो तथ्य के भने पाकिस्तानविरुद्धको खेलमा नेपालकी विनीता पुनले शतक हानेकी थिइन्। पुनले ५४ बलमा १०७ रनको इनिङ्स खेलेकी थिइन्। अन्तर्राष्ट्रिय क्रिकेटमा विनिताको यो दोस्रो शतक हो। उनले २०८० मा नेपाल, भारत र पाकिस्तानबीच भएको सिरिजको एक खेलमा भारतविरुद्ध विस्फोटक ब्याटिङ गरेर ५७ बलमा अविजित रहँदै १११ रन प्रहार गरेकी थिइन्।
विश्वकपको नेपालले अमेरिकालाई पराजित गर्दाको खेल असाध्यै रोमाञ्चक थियो। अमेरिकालाई १७ रनको निकै सस्तो स्कोरमा रोकेको उक्त खेलमा अमेरिकाका ३ खेलाडीले मात्र ४ रन जोडेका थिए। बाँकी १३ रन नेपालबाट अतिरिक्त रनको रूपमा दिइएको थियो। सेमिफाइनलमा भने नेपालको भेट पाकिस्तानसँग भयो, जहाँ नेपाल ३ विकेटले विजयी भयो। फाइनलमा नेपाल फेरि भारतसँग ७ विकेटले पराजित भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
