नीतीशको जित, खुशी नेपाली

नीतीश कुमार पटक–पटक केन्द्रमा मन्त्री भई दुई दशकयता मुख्यमन्त्री छँदा पनि यतिविघ्न लोकप्रिय, फेरि यताका शीर्ष नेताहरूचाहिँ पार्टीकै बफादार मतदाता पनि दाह्रा किट्नेगरी अप्रिय किन?

बिहारमा डेढ दशकको लालुराज समाप्त भई दुई दशकअघि नीतीश कुमारको शासन शुरू हुँदा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली खुशी थिए। दुई दशक (बीचमा स्वेच्छाले ९ महिना छाडेबाहेक) शासनपछि पुनश्चः नीतीश कुमारले बम्पर जित हासिल गर्दा खुशी हुने नेपाली सीमावर्ती क्षेत्रमा मात्र सीमित छैनन्, पूर्व–पश्चिम राजमार्ग, चुरे–महाभारत क्षेत्रका व्यवसायीसमेत खुशी छन्।

जबर्जस्ती असुली, अपहरण, हत्या आदि अपराध उत्कर्षमा पुगेको लालुराजलाई विपक्षीहरूले ‘जंगलराज’ भनेर स्थापितै गरेका छन्, जुन जंगलराजको बाछिटाले सीमावारि पनि दुःख दिएको थियो। रोटी–बेटी सम्बन्ध भएका नेपालीलाई सीमापारि जाँदा असुरक्षाको डरले घेरेको थियो नै, आपराधिक ग्याङहरूले सीमा वारिसम्मै ‘क्षेत्राधिकार’ विस्तार गरेका थिए।

लालुप्रसाद यादवको शासनकालमा निकै प्रभावशाली रहेका र पछि लालु परिवारले सम्पर्कविच्छेद गरेपछि दिदी–भिनाजु–भाञ्जाकै विरोधी बनेका लालुका साला सुभाष यादवले लालुकालमा अपहरणको फिरौती नै मुख्यमन्त्री निवासमा लेनदेन भएको भनेर सनसनी मच्चाएका थिए। उनले मुख्यमन्त्री आवासमै फिरौती लेनदेन भएको भनिएको घटनाका पीडितचाहिँ नेपाली थिए।

सन् २००२ जनवरी (पटनाका पत्रकार ज्ञानेश्वरका अनुसार २६ वा २७ तारिख) मा विराटनगरबाट व्यवसायी तुलसीराम अग्रवालको अपहरण भएको थियो। मूलथलो विराटनगर भई देशकै ठूलोमध्येको विशाल ग्रुपका साउ तुलसीरामलाई ‘मर्निङ वाक’मा रहेका बेला गाडीमा हालेर सीमा कटाइएको थियो।

पत्रकार ज्ञानेश्वरकै भनाइमा जीटीभी नेटवर्कका साउ सुभाषचन्द्र गोयलको नातेदार भएका कारण बिहारमा उति बेला सामान्यजस्तै भइरहेको अपहरणहरूमा योचाहिँ विशेष हुनपुग्यो। बिहारका कुख्यात अपराधी पप्पुदेव ग्याङले गरेको अपहरणमा २० करोड भारुबाट फिरौतीको बार्गेनिङ शुरू भई ६ करोड भारुमा ‘सेटल’ भएको थियो। तुलसीराम ४० दिन अपहरणकारीको नियन्त्रणमा बस्नुपरेको थियो। (लाइभ सिटिज, युट्युब) 

बिहारका आपराधिक ग्याङबाट त्यसपछि सीमावर्ती बजारमा अपहरण, आक्रमणको श्रृंखला नै शुरू भएको थियो। वीरगन्जमा व्यवसायी मनोज दास, घनश्याम दास चाचान आदिको अपहरणमा करोड भारुमै फिरौती लेनदेन भएको थियो। मोतिहारीको छोटेलाल सहनी ग्याङले वीरगन्जका व्यवसायीलाई टेलिफोन गरी जबर्जस्तीको असुलीको प्रयास गर्थे, पैसा नदिए शहरमै छिरेर भौतिक हमला गर्थे। रमेश केडिया, सत्यनारायण तुल्स्यान, भिखमचन्द अग्रवाल आदि त्यति बेला भौतिक आक्रमणमा परेका थिए। लालुराजको उत्तरार्द्धमा वीरगन्जमा बिहारका आपराधिक ग्याङको त्रासमा थियो।

“त्यो त्रासदी भोग्नेहरू नीतीश कुमार जित्दा नै खुशी हुन्छन्,” त्रासकै कालखण्डमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष रहेका गणेश लाठ भन्छन्, “लालुप्रसादका छोरा मुख्यमन्त्री बन्ने कुराले उनीहरूलाई तर्साउँछ।”

लेखक संकर्षण ठाकुर (द ब्रदर्श बिहारी) ले बिहारमा जंगलराज लालुअघिका जगन्नाथ मिश्रकै पालामा उचाइमा पुगिसकेको तथ्यांक र केही प्रतिनिधिमूलक घटनासहित विश्लेषण गरेका छन्। सन् १९८० नोभेम्बरमा गोलीले घाइते विधायक रामदेव सिंहलाई स्ट्रेचरमा हालेर केही विपक्षी विधायक विधानसभामै पुग्छन्। कांग्रेसबाट निर्वाचित रामदेवलाई मिश्र नेतृत्वको कांग्रेस सरकारमै वित्त राज्यमन्त्री रहेका प्रभुनाथ सिंहको आदेशमा गोली हानिएको थियो।

गोली हनाउने प्रभुनाथलाई मन्त्रालय परिवर्तन गरी ‘दण्डित’ गरिएको थियो। राजनीतिको अपराधीकरण उतिबेलै भइसकेको थियो। सन् १९८०–९० को एक दशक शासन चलाउँदा कांग्रेसले ६ चोटि मुख्यमन्त्री फेरबदल गर्‍यो। “प्रत्येकले कुशासन थप्न योगदान गरे,” ठाकुर लेख्छन्, “आफ्नो हिस्साको त्रासदी थपे।”

१२ सयभन्दा बढीको ज्यान जानेगरी भागलपुर दंगा यही कालखण्डमा भयो (अक्टोबर १९८९)। “जंगलराज जगन्नाथ मिश्रको पालमै थियो,” उनी लेख्छन्, “फरक यति हो, उति बेला जंगलको शेर ब्राह्मण, राजपुत र भूमिहार हुन्थे, लालुकालमा फरक जातिका शेर भए।”

तैपनि बिहारमा शान्ति सुव्यवस्था लालुकाल (सन् १९९०–२००५) मै ध्वस्त भएको भाष्य स्थापित छ, मान्छेलाई त्यसअघिका तथ्य/तथ्यांकको खासै मतलब छैन। चारा घोटालमा अभियुक्त भएसँगै लालुले श्रीमती रावडीदेवीलाई मुख्यमन्त्री बनाएपछि शासनमा रावडीका भाइद्वय साधु र सुभाष यादवको समेत दबदबा कायम भएपछि शान्ति–सुव्यवस्था थप चर्मराएको त्यहाँका विश्लेषकहरू बताउने गर्छन्।

नीतीश कुमारले बिहारको बागडोर सम्हालेपछि शान्ति–सुव्यवस्थालाई पहिलो प्राथमिकतामा राखे। निर्वाध जबर्जस्ती असुली उद्योग चलाइरहेका अपराधीहरू पक्राउ पर्ने मात्र होइन ‘इन्काउन्टर’ हुने क्रम व्यापक भयो। जेलबाटै अपराध उद्योग चलाउने कतिपय जेलमै मारिए। वीरगन्जमा दहसत मच्चाइरहेको (घनश्याम दास चाचानलाई अपहरण गरी फिरौती असुल्ने) छोटेलाल सहनी त जेलबाट अदालतमा ल्याउने क्रममा मारिएको थियो। सहनी मारिएको खबर आएपछि वीरगन्जमा मिठाई वितरण भएको थियो। नेपालमै पक्राउ परी यतै जेलमा पनि बिताएका तुलसीरामको अपहरण योजनाकार पप्पुदेव पनि बिहार प्रहरीबाट मारिए।

नीतीशले दशकअघि बिहारमा ‘शराबबन्दी’ लागू गरेपछि नेपालीहरू थप लाभान्वित भएका छन्। बिहारीहरू मापसे गर्न सीमावर्ती क्षेत्रमा आउने हुँदा सीमावर्ती क्षेत्रका भट्टीहरूको व्यापार चम्किएको छ नै, निकै वरसम्म स्तरीय होटलहरूको व्यापारमा पनि योगदान पुर्‍याएको छ। वीरगन्ज सीमापारिका भारतीयहरू मदिरासमेत खाई रमाइलो गर्न हेटौँडासम्मै आइपुग्छन्। बिहे गर्न पनि नेपालै आउने क्रम बढेको छ। 

पूर्व–पश्चिम राजमार्गमै होटलहरूको संख्या ह्वात्तै बढेको छ। समूह बनाई पूर्वी बिहारका बासिन्दा भेडेटारसम्मै पुग्छन्। पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्मै होटलहरूले बिहारको शराबबन्दीको लाभ लिइरहेका छन्।

“मापसे गरी मस्ती गर्नकै लागि स्तर–स्तरका बिहारी ग्राहक आउँछन्, भैँसे र अझ माथिमाथिसम्मै पुग्छन्,” हेटौँडाको एबोकाडो होटलका प्रबन्धक उमेश सिग्देल भन्छन्, “बिहारमा मदिरा खुला हुँदा नेपालको व्यापार प्रभावित भैहाल्छ।”

नीतीश कुमारको शासन शुरू भएपछि सडक पूर्वाधारमा काफी सुधार हुँदाको लाभ पनि सीमावर्ती क्षेत्रका बासिन्दाले पाए। वीरगन्ज–पटनाको २०० किमि छिचोल्न पूरापूर १२ घण्टा लाग्दै आएकोमा ४–५ घण्टामा छोट्टियो। पूर्वाधार विकासकै कारणले जनकपुरका मात्र होइन वीरगन्जका मान्छे पनि दिल्ली, मुम्बई आदि भारतीय शहर पुग्न काठमााडौँ नआई दरभंगा विमानस्थल प्रयोग गर्छन्।

“नीतीशले सीमावर्ती रक्सोलमै विमानस्थल निर्माणमा चासो दिई प्रारम्भिक काम शुरू भइसकेकाले पनि अबको कार्यकालमा सम्पन्न हुने आश पलाएको छ,” लाठ भन्छन्।

सन् १९८९ मा पहिलोचोटि लोकसभा चुनाव जितेर केन्द्रमा राज्यमन्त्री भएका नीतीश कुमार पटक–पटक केन्द्रमा मन्त्री भई दुई दशकयता मुख्यमन्त्री छँदा पनि यतिविघ्न लोकप्रिय, फेरि यताका शीर्ष नेताहरूचाहिँ पार्टीकै बफादार मतदाता पनि दाह्रा किट्नेगरी अप्रिय किन?

बिहारमा भ्रष्टाचार, बेथिति व्याप्त छ, तर नीतीश कुमार बेदाग छन्। विपक्षीहरूले समेत भ्रष्ट भन्न नसक्ने छवि उनले बनाएका छन्। जबकि, हाम्रा शीर्षहरूले प्रधानमन्त्री छँदा मन्त्रीहरूबाट छ्याकन खाएकोमात्रै होइन पछिल्ला वर्षहरूमा प्रिपेडमार्फत मन्त्री पद बेचेकै सम्बद्धहरूबाटै सानो स्वरमा सुन्न सकिन्छ। सार्वजनिक संस्थानदेखि नियामक निकाय हुँदै राजदूतसम्मका पदहरू खरिद–बिक्री भए।

कहिले भारतीय जनता पार्टी त कहिले राष्ट्रिय जनता दलसँग सत्ता साझेदारी गरेका कारण यहाँका प्रचण्डजस्तै पल्टुरामको छवि उनको पनि नबनेको होइन।

पछिल्लोचोटि (२८ जनवरी २०२४) मा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल (राजद) र कांग्रेससहितको गठबन्धनबाट फुत्किएर भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको ‘एनडीए’ गठबन्धनमा सामेल भई नयाँ सत्ता साझेदारी शुरू गरेपछि नीतीश कुमारलाई व्यंग्य गरी बुनिएका अनेकन गीत, प्यारोडी, किस्सामध्येको एउटाको अंश थियो–
पलटु चाचा फेरु पलट गइले 
राजद छोडी बीजेपीले सट गइले 
माटीमे मिल जाएम 
बीजेपी मे नजाएम 
अपनी बात से वह हट गइले

रेल दुर्घटनामा मान्छेहरूले ज्यान गुमाउँदा उनले सन् १९९९ मा एकदमै आकर्षक मानिने रेलमन्त्रीबाट राजीनामा गरेका थिए। प्रधानमन्त्री अटलविहारी वाजपेयीले सम्झाउँदा पनि उनले निर्णयमा पुनःविचार नगरेको उनको विगत छ। सन् २०१४ को लोकसभा चुनावमा आफ्नो पार्टी जनता दल (युनाइटेड) बिहारका ४० मध्ये दुई सिटमा मात्रै जितेपछि मुख्यमन्त्री पदबाट राजीनामा गरी त्यहाँ महादलित भनिने दलित समुदायको पनि पुछारमा पर्ने मुसहर समुदायका जितनराम माझीलाई मुख्यमन्त्री बनाइदिए। भलै उनी नौ महिनामै माझीलाई बेदखल गरी आफै मुख्यमन्त्री बन्न पुगे।

पहिलो कार्यकालदेखि नै उनका कार्यक्रमबाट लाभान्वित हुँदा महिला मतदातामा उनको लोकप्रियता पुरुषको तुलनामा चर्को छ। पहिलो कार्यकालै ‘बेटी बचाओ, बेटी बचाओ’ कार्यक्रम लागू गरी स्कुले बालिकाहरूलाई निःशुल्क साइकल वितरण गरेका थिए। साइकल पाएका बालिकाहरू अहिले बालिग छन्, उनीहरूमध्ये धेरै नीतीशकै पक्षमा हुने नै भए।

शराबबन्दीको कारण महिला मतदातामा उनको लोकप्रियता चुलिएको छ। मदिराको तस्करी भएको, घटिया/विषाक्त मदिरा सेवनले मान्छेको ज्यान गएको जस्ता तमाम घटनाका बाबजुद मापसे गर्न आपूर्ति दुष्कर छ। सेवन गरेको थाहा पाए पुलिसले हिरासत होइन, जेलै चलान गर्ने कडिकडाउ छ। श्रीमान्, बुबा, दाजु–भाइले रक्सी खान नपाउँदा महिलाहरू खुशी छन्।

बिहारमा मात्र होइन, भारतमै वंशवादको राजनीति बलियोगरी स्थापित छ। नीतीशकै प्रतिस्पर्धी राष्ट्रिय जनता दल होस् वा उत्तर प्रदेशको समाजवादी पार्टी– परिवारको कम्पनीजस्ता छन्। लालुप्रसादको परिवारमा दुई छोरा र दुई छोरी राजनीतिमै छन्। नीतीश अरूभन्दा फरक छन्– भएको एउटै छोरालाई पनि राजनीतिमा आउन दिएका छैनन्।