सुरक्षण मुद्रण केन्द्रबाट थालियो लाइसेन्स छपाइ

विदेशी कम्पनीलाई ठेक्का दिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स), राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका महत्त्वपूर्ण कागजात छपाइँदै आएकोमा, सरकारले अहिले लाइसेन्सको छपाइ आफ्नै मुद्रण मेसिनबाट थालेको छ।

बनेपा– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न शुरू गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले शुक्रबारबाट लाइसेन्स छाप्न शुरू गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे। मन्त्री खरेलले कानूनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ शुरू गरिएको बताए।

उनले लामो समयदेखि सुरक्षण मुद्रण केन्द्रका मेसिन तथा पूर्वाधारहरू निष्क्रिय अवस्थामा रहेका र अत्यावश्यक मर्मतपश्चात् छपाइ शुरू गरिएको बताए। उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने छ। उनले करिब २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको जानकारी दिए।

लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर गरिन्थ्यो। मन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भए पनि नीतिगत कमजोरीले गर्दा छपाइ गर्न नसकिएको अवस्थामा सुधार गरी अहिले शुरू गरिएको स्पष्ट पारे।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले विभिन्न कानूनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ शुरू गरिएको जानकारी दिए। पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता अनुसार शुक्रबारबाट काम शुरू गरिएको छ। शुरूआतमा दैनिक ५०० छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ।

कार्यकारी निर्देशक ढुंगानाका अनुसार शुक्रबारदेखि नै नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ। सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झन्डै तीन अर्ब रुपैयाँ लगानी भएको छ।