संसद् विघटन विरुद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।

काठमाडौँ– प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको छ।

पाँच सदस्यीय संवैधानिक इजलासमा रोल क्रमअनुसार न्यायाधीश राखिएको छ। इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध १६ वटा रिट परेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि बुधबारदेखि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। एनेक्स भवनको संवैधानिक इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने अदालत प्रशासनले जनाएको छ।

जेन–जी प्रदर्शनपछि सुशीला कार्की नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोही दिन प्रतिनिधिसभा विघटन गरेका थिए । 

भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुंगामुढा तथा तोडफोडबाट क्षति पुगेपछि सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेक काम स्थगित गरेको थियो। असोज २८ गते रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता भएका थिए। 

अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, खडकबहादुर शाह, आभाष पोखरेल, आयुष भण्डारी, डम्बरप्रसाद शिवाकोटी, अनिल कार्की, दलबहादुर धामीलगायतले रिट दर्ता गराएका थिए।