जेनजी आन्दोलन

गम्भीर सुरक्षा कमजोरीले निम्तिएको हिंसा, सुरक्षा रणनीति नै ‘फेलियर’

‘सम्भावित परिस्थिति मूल्यांकन गर्ने, घुसपैठ भएर आन्दोलन अराजक हुनसक्छ भन्नेसम्म आकलन गरेर सुरक्षा रणनीति बनाउनुपर्नेमा त्यो गरेकै देखिएन। यसलाई हल्का रूपमै लिएको देखियो।’

काठमाडौँ– स्थानीय प्रशासनमार्फत काठमाडौँको माइतीघर मण्डल क्षेत्रलाई ‘निषेधित क्षेत्र’ घोषणा गरेर सरकारले यसअघि कुनै पनि समूहलाई त्यहाँ आन्दोलन वा प्रदर्शन गर्न अनुमति दिने गरेको थिएन। तर जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आइतबार त्यसमा अनौठो निर्णय गर्‍यो। भ्रष्टाचार रोक्न र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध रोक्न माग गर्दै सामाजिक सञ्जालबाटै स्वःस्फूर्त उदाएको ‘जेनजी’ समूहले सोमबार माइतीघर मण्डलमै गर्न लागेको विरोध प्रदर्शनलाई भने काठमाडौँ प्रशासनले केही शर्तसहित अनुमति दियो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जिल्ला सुरक्षा समितिमा छलफल गरेर लिएको यो निर्णय कति हचुवामा भएको थियो भन्ने एक दिनमै प्रष्ट भएको छ। माइतीघर मण्डलमा जम्मा भएर नयाँ बानेश्वरतर्फ लागेका जेनजी प्रदर्शनकारी र प्रहरीबीच संघीय संसद् भवन वरिपरि भएको झडप अनि त्योसँगै प्रहरीले गरेको अनियन्त्रित गोली प्रहारका कारण अकल्पनीय मानवीय क्षति निम्तिएको छ। 

अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि छ भने अस्पताल पुर्‍याइएका कैयौँ घाइतेको अवस्था गम्भीर छ। सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, केएमसी अस्पताल, एभरेस्टलगायतका अस्पताल घाइतेले खचाखच छन्। प्रशासनले कर्फ्यु लगाए पनि प्रदर्शन रोकिने संकेत छैन। सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोगका घटना पनि जारी छन्। 

अस्पतालहरूले मृतक र घाइतेको विवरण सार्वजनिक गरिरहे पनि सरकारले आधिकारिक रूपमा क्षतिको विवरण सार्वजनिक गरेको छैन। गृह मन्त्रालय र नेपाल प्रहरीका अधिकारीहरू सम्पर्कमै आउन चाहिरहेका छैनन्। गृह मन्त्रालयका प्रवक्ता, सहसचिव आनन्द काफ्लेले अहिलेसम्म यकिन विवरण आइनसकेकाले आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए।

 null

यो हद्को खेलाँची
काठमाडौँमा राजावादी समूहले गत चैत १५ गते गरेको प्रदर्शन हिंसात्मक हुनुमा जति आन्दोलनकारीका गतिविधि जिम्मेवार थिए, उत्तिकै गृह प्रशासन र सुरक्षा निकायहरूको कमजोरी पनि जिम्मेवार थिए। त्यो कमजोरी सोमबार जेनजी समूहले गरेको प्रदर्शनका क्रममा उदांगो भएको छ।

सरकारले केही दिनअघि फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोध भइरहेकै बेला सामाजिक सञ्जालमै एकीकृत भएको ‘जेनजी’ समूहले गत शनिबार नै माइतीघर मण्डल क्षेत्रमा भेला भएर प्रदर्शन गर्ने घोषणा गरेको थियो। दुई दिन पहिल्यै भएको यो घोषणा र प्रदर्शनले निम्त्याउन सक्ने सम्भावित परिणाम आकलन नगरेरै काठमाडौँ प्रशासनले आइतबार सो क्षेत्रमा प्रदर्शनको अनुमति दियो। गृह प्रशासनबाट भएको पहिलो कमजोरी यही थियो।  

“माइतीघर क्षेत्रलाई प्रदर्शनका लागि अनुमति दिनु नै ठूलो कमजोरी भयो। प्रदर्शन नियन्त्रण बाहिर जान्छ भन्ने विश्लेषण हुँदाहुँदै त्यहाँ अनुमति दिनु हुँदैन्थ्यो,” काठमाडौँ प्रहरी परिसरका एक अधिकृतले भने, “माइतीघरमा ठूलो मास जम्मा भएर बानेश्वरस्थित संसद् भवनतर्फ जाने आधार बनाइदिनु नै कमजोरी भयो।”

प्रदर्शनलाई मध्यनजर गरेर सोमबार बिहानैदेखि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। तर प्रदर्शनकारीहरू सुरक्षा घेरा तोड्दै बानेश्वर चोक र संसद् भवनतर्फ अघि बढ्दा सुरक्षाकर्मीले रोक्न सकेनन्।

null

पहिलो, प्रदर्शनकारीको संख्या यति धेरै थियो कि, बानेश्वरमा तिनलाई रोक्न सकिने अवस्था भएन। माइतीघर मण्डलबाट अघि बढेको समूहलाई बिजुली बजार क्षेत्रमै रोक्न बल प्रयोग गर्न पनि सुरक्षाकर्मीले अग्रसरता देखाएनन्। “यसको कारण के हो भने प्रदर्शन कत्रो हुन्छ भन्ने आकलन नै गर्न सकिएन। त्यो भनेको या हामीले यसलाई असाध्यै हल्का रूपमा लियौँ, या हाम्रो सुरक्षा रणनीति पूर्णतः फेलियर भयो,” एक पूर्वएआईजीले भने।

हुन पनि, त्यसपछि प्रदर्शनकारीहरू बानेश्वरस्थित संघीय संसद् भवनका गेट नै तोडेर भित्र प्रवेश गरे। दुई नम्बर गेटमा प्रदर्शनकारीहरूले आगो लगाएपछि प्रदर्शन झन् उग्र बन्यो। त्यसै क्रममा प्रहरीले अनियन्त्रित रूपमा गोली चलायो। प्रदर्शनकारीले संसद् भवन नै कब्जा गर्न खोजेको भन्दै त्यहाँ सेनासमेत खटाइएको छ। 

आन्दोलन नियन्त्रणबाहिर गएको भन्दै काठमाडौँ प्रशासनले काठमाडौँका विभिन्न ठाउँमा साढे १२ बजेदेखि नै कर्फ्यु लगाएको छ। तर कर्फ्युमा पनि प्रदर्शन रोकिएका छैनन्। 

यस्तो अवस्था कसरी आयो? के यस्तो अवस्था आउन सक्छ भन्ने आकलन सरकारले गरेकै थिएन? गृह प्रशासन र सुरक्षा संयन्त्रले यसको भेउ पाएकै थिएन?

सोमबारको प्रदर्शनको अगुवाइ गरिरहेका जेनजी समूहका केही युवा प्रदर्शनका बारेमा छलफल गर्न आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका थिए। त्यसपछि नै जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरुलाई माइतीघर मण्डलमा प्रदर्शनका लागि अनुमति दिने निर्णय गरेको थियो। यही निर्णय र सुरक्षा चुनौतीको विश्लेषण हुन नसकेकै कारण सोमबारको प्रदर्शन उग्र बनेको र अनियन्त्रित हिंसा निम्तिएको सुरक्षा अधिकारीहरू बताउँछन्।

“सुरक्षा समितिको बैठकमै माइतीघर मण्डलमा प्रदर्शन गर्न दिने कि नदिने भन्ने छलफल भएको हो। तर जेनजी समूहले माइतीघरमा सामान्य रूपमै प्रदर्शन गर्छ, आत्तिनुपर्दैन भन्ने कुरा उठ्यो, अनि अनुमति दिने निर्णय भयो,” समितिको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने, “अवस्था मूल्यांकन गर्न चुक भयो, त्यही भएर आन्दोलन हिंसात्मक बन्यो।”

null

नेपाल प्रहरीका पूर्वएआईजी उत्तम सुवेदी सुरक्षा सजगता नपनाएकै कारण सोमबारको आन्दोलन हिंसात्मक बनेको बताउँछन्। “सुरक्षा निकायले जसरी तयारी गर्नुपर्ने थियो, त्यो हुन सकेन। यसलाई सामान्य रूपमा लिए जस्तो लाग्यो, त्यो नै प्रमुख कमजोरी देखियो,” उनले भने, “वस्तुपरक रूपमा चुनौतीको मूल्यांकन नगरेर सुरक्षाकर्मी परिचालन गरेको देखियो।”

उनले जिल्ला सुरक्षा समितिले प्रदर्शनका लागि अनुमति दिने बेला नै परिस्थितिको विश्लेषण गर्नुपर्नेमा त्यसो नगरिएको बताए। “आन्दोलन घोषणा भइसकेपछि शान्तिपूर्ण हुन्छ भनिने हो। सुरक्षा निकायले पनि शान्तिपूर्ण नै होस् भन्ने चाहन्छ,” उनले भने, “तर त्यसको राम्रोसँग मूल्यांकन गर्ने र घुसपैठ भएर अराजक हुन सक्छ भन्नेसम्मको सोचेर रणनीति बनाउनुपर्नेमा त्यो बनाएको देखिएन।”

उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले पनि सानो समूहमा प्रदर्शन होला भन्ने आकलन गरेर रणनीति तय गरेकै कारण स्थिति नियन्त्रणबाहिर गएको बताए। “माइतीघरमा प्रदर्शनका लागि ठाउँ नै दिन हुने थिएन। दिए पनि निश्चित क्षेत्र तोकेर त्योभन्दा अघि बढ्ने अवस्था भइसकेपछि रोक्न सक्नुपर्ने थियो, तर त्यो भएन,” उनले भने, “सिंहदरबार, संसद् भवनलगायतका क्षेत्रमा भीड जान सक्छ भन्ने आकलन गरेर रोक्नुपर्ने थियो। दुःखको कुरा, त्यो हुनै सकेन।”