जुडिबेला खानेपानी आयोजना: १० वर्षमा आधा काम, समस्यामा स्थानीय

२०७२ सालमा निर्माण शुरू भएको आयोजनाको अहिलेसम्म ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ। आयोजना सम्पन्न नहुँदा स्थानीय आर्सेनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन्।

चन्द्रपुर– निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर  नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीय आर्सेनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन्। जुडिबेलाका दुई हजार ५०० घरका करिब १० हजार नागरिकलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने जनाइएको छ। 

चन्द्रपुर नगरपालिकाका अन्य नौवटै वडामा खानेपानी आयोजना सञ्चालनमा आएको भएता पनि वाड नं २ जुडिबेलामा अहिलेसम्म शुद्ध खानेपानीको पहुँच पुगेको छैन। २०७२ बाट निर्माण शुरू भएको उक्त आयोजनाको अहिलेसम्म ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको सर्लाहीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकमा उल्लेख छ। आयोजना शुरू भएको १० वर्ष बित्दा पनि सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले बताए। 

“यस क्षेत्रका नागरिकले ३० देखि ५० फिटमुनिको आर्सनिकयुक्त पानी पिइरहेका छन्,” उनले भने, “संघीयतामा कार्यान्वयनमा पहिलादेखि नै यो आयोजना शुरू भएको हो, संघीयतामा गएपछि यो आयोजना न संघीय सरकारको ध्यानमा गयो न त प्रदेशको प्राथमिकतामा नै पर्‍यो।” 

जुडिबेलावासीलाई शुद्ध पानी खुवाउनका लागि विभिन्न निकायमा धाइरहेको पनि उनले दुःखेसो गरे। करिब २०० घरलाई सिधै मोटरबाट ट्यांकीमा जम्मा नगरीकन पानी पठाइरहेको उनले जानकारी दिए। 

यस वडाको घरघरमा धारा पुर्‍याउनका लागी अझै करिब ३५ किलोमिटर मेनलाइन पाइपको आवश्यकता रहेको सोही समितिका सदस्य टेकनाथ खरेलले जानकारी दिए। फूलबारीबाट वनटोल र रैयाटोलसम्मका नागरिकको घरघरमा पानी पुर्‍याउनका लागि मेनलाइनको पाइप अत्यावश्यक रहेको उनले बताए। 

यो आयोजनाबाट मात्र यहाँका नागरिकलाई खानेपानी नपुग्ने हुँदा अर्को फेरी खानेपानीको योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको खरेलले सुझाव दिए। यस वडामा जनगणना २०७८ अनुसार नौ हजार ९८२ जनसंख्या रहेको छ। उक्त जनगणनाअनुसार दुई हजार ४८ घरपरिवार जनाएको भएता पनि हालसम्म सो वडामा दुई हजार ५०० भन्दा बढी  घर रहेको वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए। 

आर्थिक वर्ष २०८०/८१ सम्म उक्त आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजना हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर विवेक झाले जानकारी दिए। अहिलेसम्म जुडिबेला खानेपानी आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण सम्पन्न भएको भएता पनि ट्यांकी निर्माण गर्ने ठेकेदारको ५४ लाख भुक्तानी हुन नसकेको इन्जिनियर झाले बताए।  

आयोजनाअन्तर्गत डिपबोरिङ जडान, कार्यालय भवन निर्माण, विद्युतीकरण, पम्पहाउस निर्माण तथा करिब २७ किलोमिटर मेनलाइनको पाइप गाडिसकिएको उनले जानकारी दिए। उनका अनुसार बजेट अभावका कारण मेनलाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको छ। “बजेट माग गरिए पनि आउने नआउने ठेगान छैन। बजेट समयमा नै आउने हो भने काम सम्पन्न गर्न सकिन्छ,” उनले भने।

यस आयोजना सम्पन्न गर्नका लागि अझै अनुमानित २ करोड बजेट लाग्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई गत भदौ १४ गते पठाएको पत्रमा उल्लेख छ।