कांग्रेसले विश्वासघात गरेपछि नयाँ गठबन्धन : माओवादी

नेकपा माओवादीको पदाधिकारी बैठकले नेपाली कांग्रेसले विश्वासघात गरेपछि नयाँ गठबन्धन बनाउनु परेको निष्कर्ष निकालेको छ।

काठमाडौँ- नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसले पुर्व सहमतिअनुसार विश्वासघात गरेपछि एमालेसितको सहकार्यमा नयाँ गठबन्धन बनाउनु परेको निष्कर्ष निकालेको छ। 

पार्टी कार्यालय पेरिसडाडामा आज बिहान बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले जानकारी दिए। 

बैठकमा अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो गठबन्धन बन्नुको कारण बारे बृफिङ गरेका थिए। 

“कांग्रेसबाट धोका र विश्वासघात भएपछि नयाँ सहकार्य शुरू भएको हो”, दाहालले भने, “सरकारले नयाँ हिसाबले अब काम गर्छ।” 

अर्का एक पदाधिकारीका अनुसार दाहालले कांग्रेस बेइमानी गरेर अहिले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफू राख्न खोजेपछि गठबन्धन भत्किएको बताएका हुन्।