पार्टीभित्रको आन्तरिक विवादका कारण जित सुनिश्चित नहुँदा कांग्रेस नेता विमलेन्द्र निधि प्रत्यक्षतर्फ उम्मेदवार नबनेको कांग्रेसकै स्थानीय नेता बताउँछन्।
काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि यसपटक प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का राजेन्द्र महतोसँग धनुषा क्षेत्र नं. ३ बाट पराजित भएका थिए।
उनले प्रत्यक्षतर्फ गृहक्षेत्रसमेत रहेको धनुषा-३ छोडेपछि सत्ता गठबन्धनले साझा उम्मेदवारका रूपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झालाई उठाएको छ। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट जुली महतो उम्मेदवार बनेकी छन्। उनी एमाले नेता हुन्।
सत्ता गठबन्धनका झा अघिल्लो निर्वाचनमा रौतहट–१ बाट विजयी भएका थिए। यो क्षेत्रमा कांग्रेस नेता निधिलाई बलियो उम्मेदवार मानिएको थियो। तर उनी समानुपातिकमा बसेपछि जुली महतोको दाबेदारी बलियो भएको कांग्रेस नेता अमित साह बताउँछन्। “जुली महतोले झन्डै दुई तिहाइ मत पाउने सम्भावना छ,” साह भन्छन्, “उनले आफ्नो ‘लेभल’को प्रतिस्पर्धी नै पाइनन्।”
पार्टीभित्रको अन्तरद्वन्द्वको डर
चुनावको मिति घोषणापछि निधि गृहजिल्ला धनुषा आएका थिए। जिल्लाभित्र आफ्ना खास मान्छेहरूसँग चुनावको स्थिति बुझ्न लगाए। तर स्थिति अनुकूल नदेखेपछि निर्वाचनमा प्रतक्ष्यतर्फ उम्मेदवार नबन्ने निर्णय गरेको हुनसक्ने कांग्रेस नेता साह बताउँछन्।
पार्टीभित्र निधिको विरोध गर्ने ठूलो जमात खडा भएकाले उनले यस्तो निर्णय गरेको हुनसक्ने पाँच दशकदेखि कांग्रेसबाट राजनीति गर्दै आएका रामनारायण झा बताउँछन्। “निधि आफ्नो पक्षमा माहौल नदेखेपछि मैदान छोडेर भागेका हुन्,” उनी भन्छन्, “कांग्रेसभित्रै उनको विरोध गर्ने ठूलो जमात छ। उनी यसपटक प्रत्यक्षबाट चुनाव उठेको भए अघिल्लो वर्षभन्दा भारी मतले पराजित हुनसक्थे।”
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि जिल्ला, क्षेत्र र नगरमा निधिको प्रभाव पनि कम भएको स्थानीय नेताहरू बताउँछन्। महाधिवेशनमा खसेको कुल चार हजार ६२३ मध्ये उनले २५० मत पाएका थिए।
सभापतिमा आफू पराजित भए पनि मधेश प्रदेशको पदाधिकारीमा आफ्नै गुटका नेताहरू विजयी हुने उनको आशा थियो। तर, प्रदेशमा देउवा प्यानल नै विजय भएपछि निधि सांगठनिक हिसाबले पनि कमजोर बनेको स्थानीय नेताहरूको भनाइ छ। महाधिवेशनमा निधि समूहबाट जिल्ला तहका प्रतिनिधि मात्रै विजयी भए पनि अहिले विद्रोह गर्नेको संख्या धेरै छ।
कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले निर्वाचनको परिणाममा असर पर्ने देखेर निधि समानुपातिकमा बसेको धनुषा कांग्रेसका उपसभापति राकेशविक्रम साहको दाबी छ। “गुटको द्वन्द्व र पार्टीभित्रको विद्रोहले पनि ह्याम्पर गर्ला कि भन्ने आशंकाले निधि ब्याक भए,” साह भन्छन्, “जातिगत मुद्दाहरूका कारण पनि उनले आफूलाई सुरक्षित नदेखेका हुनसक्छन्।”
विमलेन्द्र निधिका स्वकीय सचिव गणेश तिवारीले भने सम्भावित हारको कारण प्रत्यक्षबाट पछि हटेको भनेर प्रचार गरिनु अफवाह मात्र भएको बताए। “निधिजी कसैसँग डराउने मान्छे होइन, उहाँ अब केन्द्रीय राजनीति गर्ने भनेर क्षेत्रीय राजनीतिबाट बिदा हुनुभएको हो,” उनले भने, “जिल्लामा उहाँको राम्रै जनमत छ, चुनाव उठेको भए जित निश्चित नै थियो।” धनुषामा पार्टीभित्र कुनै प्रकारको आन्तरिक द्वन्द नभएको पनि तिवारीको दाबी छ।
कांग्रेस धनुषा सभापति योगेन्द्र पजियार पनि देशभरी कांग्रेसको प्रचारप्रसार गर्न निधि समानुपातिक उम्मेदवार बनेको बताउँछन्। “पार्टीको सल्लाह र निर्णय अनुसार नै उहाँ समानुपातिकतर्फ जानुभएको हो ।,” सभापति पजियारले भने, “निधि असुरक्षित महसुस गरेर समानुपातिक बाटो रोजेको कुरा एकदम गलत हो।”
निधि देशभरिको चुनावी कमाण्ड सम्हाल्न प्रत्यक्षमा उम्मेदवार नबनेको धनुषा कांग्रेसका अर्का नेता रमेश यादवको दाबी छ। उनी ‘देशकै नेता’ भएका कारण पनि उम्मेदवार नभएको उनले बताए। “समानुपातिकबाट संसदमा गएर उहाँ अब सारा नेपालीका मुद्दामा बोल्ने उद्देश्य राख्नु भएको छ,” यादवले भने, “निर्वाचनमा उठेर क्षेत्रमा खुम्चिन चाहनु भएन।”
निधि पहिलोपटक २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा तत्कालीन धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०५६ सालमा धनुषा ४ बाटै उम्मेदवार बनेका उनी पराजित भएका थिए। २०६४ र २०७० सालमा भएको संविधानसभा चुनावमा धनुषा-३ बाट निर्वाचित भएका थिए।
स्थानीय तहमा अन्तर्घात गरेको आरोप
निधिले स्थानीय तहको निर्वाचनताका अन्तर्घात गरेकाले अहिले परिस्थिति असहज भएको गत स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यका उम्मेदवार रहेका पंकज महतो बताउँछन्। निधिले जनकपुरस्थित वृन्दावन होटेलमा कार्यपालिका सदस्य सिटका लागि ‘सौदाबाजी’ गरी आफ्नै पार्टीका एक जनालाई जिताउन र दुई जनालाई हराउन लगाएर अन्तर्घात गरेको उनको भनाइ छ।
“विमलेन्द्र निधिले आफ्ना स्वकीय सचिव गणेश तिवारी, क्षेत्रीय सभापति (निधिका भाइ) श्याम निधि र ४-५ वटा वडाका सदस्यहरूलाई लिएर दुई उम्मेदवारविरुद्ध षड्यन्त्र रचेका थिए,” महतो भन्छन्, “कांग्रेससँग बहुमत हुँदाहुँदै पनि हामीलाई हाम्रै नेताले हराए।”
कार्यपालिका निर्वाचनको टिकट आफूले निधिसँग नभइ आरजु देउवा राणासँग लिएकोले आफूसँग प्रतिशोध साँधेको महतोको दाबी छ। “जिल्लाभित्र राजनीति गर्नेले निधिलाई ‘बाइपास’ गरेर हिँड्यो भने त्यसलाई उनले सिध्याउन लागि पर्छन्,” महतो भन्छन्, “जिल्लाभित्र राजनीति गर्न अझै निधिकै छत्रछायामा बस्नुपर्ने बाध्यता छ।”
महतोका अनुसार, कार्यपालिका निर्वाचनमा कांग्रेसबाट आठ जना उम्मेदवार थिए। जसमा पाँच जना महिला तथा तीन जना ‘दलित वा अल्पसंख्यक’ पुरुष उम्मेदवार थिए। कांग्रेसका पाँच जना महिला उम्मेदवारको जित निश्चित नै थियो तर तीन जना पुरुषबाट एक जना मात्र विजयी भए। निधिको निर्देशनमा कांग्रेस कार्यपालिका सदस्य मतदातालाई ‘एक जना कांग्रेसको र दुई जना एमालेका जिताऔं’ भन्ने ह्विप नै जारी गरिएको महतोको आरोप छ।
तर, निधिका स्वकीय सचिव तिवारीले निधि कांग्रेसविरुद्ध लाग्न नसक्ने बताए। कार्यपालिका निर्वाचनमा भएको हारमा निधिको कुनै भूमिका नभएको उनको दाबी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
