प्रदर्शनकारीहरू आपराधिक कृत्यमै उत्रिएपछि पत्रकारहरू तिनको भण्डाफोरमा केन्द्रित हुँदा सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरी र सुरक्षाकर्मीको ज्यादती केही दिन ओझेलमा परे।
राजावादी प्रदर्शनमा सुरक्षा व्यवस्थामा देखिएको कमजोरीमा आँखा चिम्लिएको भनेर मूलधारका भनिने मिडिया आलोचित छन्। चैत १५ गते ५८ राउण्ड गोली चल्दा दुई महिलासहित २१ जनालाई लागेको तथा ७४६ राउण्ड टियर ग्यास प्रहार भएको सूचना घटनाको छैटौँ दिन प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरी जनाएपछि मात्र सार्वजनिक भएपछि पत्रकारिता आलोचित भएको हो। प्रहरीकै गोप्य रिपोर्टको हवाला दिँदै ‘हिमालखबर’ले ‘जंगी फायर’ नै ९२ राउण्ड चलाएको दाबी गरेको छ। यस्तै सशस्त्र प्रहरीले थप १८ राउण्ड गोली चलाएको थियो। टियर ग्यास पनि प्रहरीले भने भन्दा बढी चलाइएको (प्रहरीले ८६४ र सशस्त्रले १०४) मनबहादुर बस्नेतको बाइलाइनमा रिपोर्ट प्रकाशित छ।
“राजालाई गाली गर्न र गणतन्त्र बचाउन त नेपाली पत्रकारिता सफल अनि सम्पादकहरूको तँछाडमछाड,” पूर्व प्रधानसम्पादक अजयभद्र खनालले एक्समा लेखेका छन्, “लोकतन्त्र बचाउने क्रममा पत्रकारिता भने मरेको छ।” फायरिङ र टियर ग्यास बर्सिएको र गोली लागेका २० जना अस्पतालमा उपचार भइरहेको खबरबाट पत्रकारहरू नै किन बेखबर रहे त?
लोकतन्त्रप्रति प्रतिबद्ध र संविधानको पक्षधर मूलधारे मिडिया राजावादी सक्रियताको आलोचक हुने नै भयो। फागुन २५ गते पोखराबाट फर्किने क्रममा एयरपोर्टदेखि निर्मल निवाससम्म राजावादीहरूले गरेको शक्ति प्रदर्शन पत्रकार बिरादरीलाई चित्त बुझेको छैन नै, कतिपयलाई चासोसँगै चिन्तित पनि बनाएको छ। कान्तिपुर जस्ता चल्तीका मिडियाले त राजावादीको शक्ति प्रदर्शनलाई ‘ब्ल्याक आउट’ नै गर्न उचित सम्झिए।
राजा पुनर्स्थापित गर्ने आन्दोलनको त्यही कडीमा चैत १५ गते प्रदर्शनकारीहरू आपराधिक कृत्यमै उत्रिएपछि पत्रकारहरू तिनको भण्डाफोरमा केन्द्रित हुँदा सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरी र सुरक्षाकर्मीको ज्यादती केही दिन ओझेलमा परे। पत्रकारहरू प्रदर्शनकारीहरूले मच्चाएको वितण्डाकै खोजबिनमा सक्रिय भए। आयल निगमको एयरपोर्टस्थित डिपोमा कथमकदाचित केही भइहाले शहर नै तबाह हुने रिपोर्ट बेलाबखत प्रकाशन/प्रसारण भइरहेकै हो। प्रदर्शनकारीले त्यतै लक्षित गरी एयरपोर्टभित्र आगो फाल्ने जघन्य हर्कत गरेका थिए।
जडीबुटी प्रशोधन केन्द्रमा लगाइएको आगो धन्न त्यहाँ भण्डारण गरिएको तेलमा पुग्न पाएन, नत्र बस्तीमा के हुन्थ्यो अनुमान मात्रै गर्न सकिन्छ। तितरबितर भएपछि तिनले सवारीसाधनमा गरेका आगजनी र लुटपाट त बरु झिनैमसिना थिए भन्ने अवस्था थियो। प्रदर्शनकारीमा आपराधिक मानसिकताका मान्छेहरूको उपस्थिति थियो भन्ने दाबीका साथ भन्न सकिन्छ।
फेरि प्रदर्शनकारीकै कारण (प्रथम दृष्टया) आफ्नै बिरादरीका सुरेश रजक जिउँदै जलेको घटनाले त पत्रकारहरू राजावादीविरुद्ध ‘आगबबुला’ नै भइहाले। सार्वजनिक भएका फुटेजहरूले घरलाई ‘लक’ गरिएका कारण रजक बाहिर निस्कन नपाई जलेको देखिन्छ।
पत्रकार सुफल काफ्लेले फेसबुकमा लेखेको ‘मूलधारकै पत्रकारलाई फिल्डमा जलाएर मारिएको छ, मूलधारकै पत्रकार खुट्टा भाँचेर थला परेको छ, मूलधारकै पत्रकार साथीको जलेको शव देखेपछि भएको आघात घटाउन मनोपरामर्शमा धाएको छ। तर तपाईं मूलधारकै सूचनालाई आधार मानेर बनेका कन्टेन्टमा रमाउँदै आन्दोलनमा सुनको सिक्री हराएर घर पुगेका दाइलाई भाउजूले के भनिन् भन्ने भिडियो हेरेर भन्नुहुन्छ– मूलधारका पत्रकारले आन्दोलनको रिपोर्टिङ गरेनन्’ भनाईले पत्रकारहरूको मनोदशा बुझ्न सघाउँछ।
शुरूमा कमजोरी देखिएपछि, गल्ती औँल्याइदिएपछि मूलधारे पत्रकारिताले सच्याउन थालिसकेको छ। चैत १५ गते सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरी, प्रहरीको ज्यादती/लापरबाहीको रिपोर्टिङ भइरहेको छ।
नेपाली पत्रकारिता पञ्चायतविरुद्ध मिसन पत्रकारिता गर्दै हुर्किएको हो। पञ्चायतकालभरि एकथरिले संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्थालाई मिसन बनाए भने अर्काथरिले गणतान्त्रिक कम्युनिष्ट प्रणालीकै लागि पञ्चायतविरुद्ध लडे।
व्यवस्थाको विरोध गरे सरकारले तत्कालै दर्ता खारेज गरिदिन सक्ने कानून भएको त्यो कालखण्डमा प्रकाशकहरू केही अतिरिक्त पत्रिकासमेत दर्ता गरी बसेका हुन्थे, एउटाको दर्ता खारेज भए अर्को पत्रिका निकाल्न। पञ्चायतकालमा धेरै पत्रकारले जेल भोगेका छन्। सत्ताविरोधी यही अभ्यासबाट आएको कारण मूलधारे पत्रकारिता सत्ताप्रति आलोचक हुने धर्म छाडेको छैन। अनेकन कमजोरीका बाबजुद नेपाली पत्रकारिताको भारतमा संकटकालमा अनि मोदीकालमा देखिएको फजिती भएको छैन। ‘बाइटिङ टिथ’ बरकरार छ।
सँगसँगै २०४६ को राजनीतिक परिवर्तनपश्चात संविधानको पनि पक्षधर रहँदै आएको छ। २०४७ सालको संविधान सक्रिय रहुन्जेल संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रलाई स्विकारेको मूलधारे पत्रकारिताले गणतन्त्र लागू भएपछि तदनुरूप नै धार बनाएको छ। संविधानप्रदत्त गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको पक्षमा अविचल रहेकै कारण यी तीनै उपलब्धिप्रति असन्तुष्टहरू मूलधारे मिडियाप्रति आलोचनात्मक त छन् नै, मिडियाविरुद्ध खनिएकै छन्। गणतन्त्रवादीहरूको चालु कुशासन कायम रहुन्जेल प्रहार जारी नै रहनेछ।
त्यो दिन तीनकुने क्षेत्र
चैत १५ गते के हुन्छ भन्ने चासो, आशा, चिन्ता, अन्योल सर्वत्र थियो, केही दिनअघि देखि। पूर्वराजा ज्ञानेन्द्र शाहलाई फागुन २५ गते एयरपोर्टमा स्वागत गरी निर्मल निवाससम्म पुर्याउन भेला भएका जति मान्छे जम्मा हुन्छन् कि हुँदैनन् भन्ने चासो धेरैमा थियो। राजावादीहरूलाई आन्दोलनले राजा फर्किने नै वातावरण बनाइदेला कि सम्मको आशा देखिन्थ्यो। खासगरी राजावादीहरूले बंगलादेशको रट लगाइरहेकाले प्रदर्शन हिंसात्मक हुने त होइन भन्ने चिन्ता धेरैमा थियो। सुरक्षा व्यवस्थालाई लिएर एकाध दिनदेखि काठमाडौँ जिल्लाको सुरक्षाप्रति जिम्मेवार निकायबीच श्रृंखलाबद्ध बैठकहरूको दौर चलिरहेको थियो।
त्यो दिन बिहान साढे ११ बजेसम्म पनि तिनकुने–कोटेश्वर सडक खण्डमा सवारी अवागमन रोकिएको थिएन। जब १२ बज्यो, पुलिसले सबै गाडीहरूलाई बागमती करिडोरतर्फ डाइभर्ट गर्न थाल्यो। छिनभरमै मूलसडक सवारीसाधनविहीन बन्यो, ट्राफिकले करिडोर अस्तव्यस्त देखियो। ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’द्वारा ११ बजे निर्धारित सभा साढे १२ बजेसम्म पनि शुरू नहुँदा फागुन २५ गतेकै जति समर्थक भेला नहुने लक्षण देखिइसकेको थियो। यद्यपि, कम आँक्न नमिल्ने संख्यामा समर्थकहरू भेला भइसकेका थिए।
सुरक्षाकर्मीको ठूलो समूह तिनकुनेबाट संसद् भवन जानेतिर तीन वटा अवरोध खडा गरी तैनाथ थिए। त्यतिकैमा एक हुल मान्छे (सम्भवतः सन्तोष राजावादीको नेतृत्वमा) राजा महेन्द्रको श्रीपेचधारी तस्वीर लिएर प्रहरीसामु पुग्यो। जोडजोडले नारा लगाउनुसिवाय केही गरेनन्– ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘गणतन्त्र धोका हो, धोका हो’। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लागिरहेको थियो।
मञ्चमा उद्घोषक सबैलाई तिनकुने चौरमा एकत्रित हुन आग्रह गरिरहेका थिए। घाम चर्कै भए पनि माहोल गर्माएको थिएन। एक हुल प्रदर्शनकारी फेरि प्रहरीतिर लम्किए, महेन्द्रको साथै पृथ्वीनारायण शाहको तस्वीर बोकेर। उनीहरू मञ्चबाट प्रहरीतर्फ फेरि मञ्चतिर ओहोरदोहोर गरिरहेका देखिन्थे। एकाधपटक हल्का ठेलाठेल पनि भयो। प्रहरीले ‘तपाईंहरू सबै कार्यक्रमस्थलतिर जानुस्, यहाँ नाराबाजी नगर्नुस्’ भन्दै फर्काइरहेका थियो।
१ बज्न लाग्दा तिनकुने चौरमा सभा शुरू हुने छाँटकाँट देखिँदा दुईचोटी प्रदर्शनकारी र प्रहरीबीच सामान्य धक्कामुक्की भयो। लाठी नै उज्याएपछि प्रदर्शनकारीको भागाभाग भयो। अब प्रहरी र प्रदर्शनकारी एउटा दूरीमा थिए। प्रदर्शनकारीहरूले छिट्फुट ढुंगा हानेपछि प्रहरीले त्योभन्दा बेसी टियर ग्यासको सेल बर्साउन थाल्यो। भिड तितरवितर भइहाल्यो। मञ्चमा जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत नेताहरू चढिसकेका थिए।
भागाभाग भएका प्रदर्शनकारीहरू प्रहरीतिर ढुंगा बर्साउन थाले। ठूल्ठूला ईंटा र ढुंगा नै प्रहार हुन थालेपछि माइक समातेका प्रहरीले ‘ब्याक, ब्याक’ भन्न थाले। एकैछिन ढुंगा रोकिँदा ‘होल्ड, होल्ड’ सुनियो। प्रहरीहरू फेरि सडक छेकेर उभिए। कान्तिपुर टेलिभिजनको कार्यालय भएको गल्ली प्रहरीले थुन्यो। टियर ग्यासले भागाभाग भएका प्रदर्शनकारीको रिस कान्तिपुरको कार्यालयमाथि पोखियो।
ठीक त्यही बेला मञ्चमा राष्ट्रगान गुञ्जियो। चौरको छेवैको एउटा बिल्डिङबाट प्रहरीले हानेको टियर ग्यासको मुस्लो खसेपछि मञ्चबाटै भागाभाग शुरू भयो, राष्ट्रगान पूरै बज्न पाएको पनि थिएन। उपाध्यक्ष मिश्र संयोजक सुवेदीलाई सम्हाल्दै सडक किनारतिर लागे। बाँकी छेउछाउको गल्लीतिर पसे। खाली मञ्चको पण्डाल हावाले फर्फराइरहेको थियो।
एकछिनमा प्रहरीलाई मञ्चतिर टियर ग्यास नफाल्न भन्दै आन्दोलनको कमान्डर दुर्गा प्रसाईं मञ्चमा उक्लिए। “साथीहरू सबैजना यहाँ आउनुस्, प्रहरीसँग धक्कामुक्की नगर्नुहोस्” भन्दै मञ्चतिर बोलाउन थाले। सुवेदी, मिश्र र राणाको नामै लिएर मञ्चमा आउन आग्रह गरे। तर करिब १५ मिनेटसम्म पनि कोही आएनन्, उनी जति जनासहित मञ्चमा चढेका थिए, त्यही संख्या कायम रह्यो। आँखा भत्भती पोलेका प्रदर्शनकारी मञ्चतिर जान तयार थिएनन्।
त्यसपछि उनी गाडीमा बसे र बानेश्वरतिर आउन सबैलाई आह्वान गरे। सुवेदीलाई सुरक्षितस्थलमा पुर्याएर सडकमा फर्किएका मिश्र र राणाले पनि प्रदर्शनकारीहरूलाई बानेश्वरतिरै अगाडि बढ्न भने। केही मान्छेहरू अघि बढे पनि, केही अल्मलिए। भिडबाट कसैले ‘ऊ त्यो घरबाट पुलिसले टियर ग्यास फालेको हो’ भन्दिएपछि सबैको नजर उतैतिर गयो। कोही ‘त्यो घरभरि पुलिस छ’ भन्नथाले। त्यसपछि त्यो घरमा यसरी ढुंगामुढा भयो कि छिनभरमा सिसा एउटै सग्ला रहेनन्। केही घरभित्रै छिरे। केहीबेरमा त्यो घरबाट पत्पती धुवाँ देखियो।
फितलो सुरक्षा व्यवस्थापन
यति सबै भइरहँदा प्रहरी कमान्डररहित जस्तो देखिएको थियो। शुरूदेखि नै प्रहरीको ‘सिंगल प्वाइन्ट एजेन्डा’ भिडलाई तिनकुने पुल कट्न नदिनु जस्तो देखियो। जबजब भिड पुलतिर बढ्थ्यो, प्रहरी टियर ग्यास हान्थ्यो। ढुंगा बर्सिंदा फायर खोल्थ्यो।
अधिकृत ओहोदा प्रहरीको उपस्थिति निकै कम थियो, घटनास्थलमा मुस्किलले एक जना डीएसपी देखिए। यसैले दुर्गा प्रसाईं सुरक्षा घेरालाई पेलेर अघि बढ्न खोज्दा प्रहरी नै अन्योलमा देखियो। टियर ग्यास बेलगाम पड्काउन थाल्यो। प्रतिकारमा प्रदर्शनकारीले हानेको ढुंगाले कैयन पुलिसलाई चोटपटक लाग्यो। प्रदर्शनकारीहरू पनि घाइते भए। घाइतेहरू नजिकैको कान्तिपुर अस्पताल छिरिरहेको देखिन्थ्यो।
प्रहरी निरीक्षक तिलकबहादुर बमचाहिँ ‘हिरोगिरी’ गरिरहेको देखिन्थे। फोहरावाल गाडीको बोनटमा चढेर सडकमा जलिरहेको टायर निभाउन निर्देशन दिइरहेका उनलाई सञ्चारकर्मीहरूले ‘त्यो घरमा आगो लागेको हो, गाडी लिएर उतै जानू’ भनेपछि त्यतै हुइँक्याउन निर्देशन दिए। १०० मिटरजति अघि नबढ्दै प्रदर्शनकारीले गाडीलाई अगाडि बढ्न दिएनन्। निकैबेर पछि त्यहाँ सशस्त्र प्रहरीको दमकल आइपुग्यो। त्यसअघि आएका महानगरको दमकलमाथि ढंगामुढा भएको थियो।
प्रहरीको संख्या बाक्लै भए पनि उनीहरू बिना कुनै योजना र तयारी खटाइएको जस्तो देखियो। सबै एकैठाउँमा गुजुमुज्ज थिए। प्रदर्शनस्थल वरपरका धेरै ठाउँमा सुरक्षाकर्मीको उपस्थिति थिएन। यसैले टियर ग्यास र फायरिङ भएपछि तितरबितर भएको समूहले फर्किदा लुटपाट, आगजनी र तोडफोड गरी वितण्डा मच्चायो।
पोहोर बल्खुमा
गत वर्ष (२०८० मंसिर ७ गते) प्रसाईंकै नेतृत्वमा भएको प्रदर्शनसँग तुलना गर्दा सुरक्षा व्यवस्थापन धेरै फरक थियो। त्यति बेला पनि ठूलै आन्दोलनको हल्ला र पूर्वानुमान थियो। कार्यक्रमस्थलमा प्रसाईं आउनु अगावै झडप भएको थियो। शुरूमा सम्हाल्न हम्मेहम्मे परे पनि झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
बल्खुमा प्रसाईंको ‘एन्ट्री’ भव्य थियो। उनको प्रवेशसँगै भिड उत्तेजित हुन खोजे पनि सुरक्षाकर्मीले सम्हालेका थिए। प्रहरीले नै स्कर्टिङसहित ल्याएका कारण दायाँबायाँ गर्नै पाएनन्। मञ्च त्रिविको चौरमा बनाइए पनि ‘साउन्ड बक्स’ भएको गाडीमा चढेर सडकबाटै प्रसाईंले गणतन्त्रविरुद्ध आक्रोशपूर्ण भाषण ठोकेका थिए। भाषणमा ताली पिट्ने प्रदर्शनकारीहरू नै ‘नेताहरूलाई लखेट्नु पर्छ, जाऔँ सिंहदरबार घेर्न’ भन्दै हतारिन थालेपछि प्रसाईं पनि शहर छिर्ने घोषणा गरेर गाडीबाट ओर्लिएका थिए। उत्साहित भिड बल्खु चोकतिर अगाडि बढेपछि प्रहरीले काँडेतार र लठ्ठीले कालिमाटीतिर जान दिएन।
भिडले ढुंगा हान्न थाल्यो। प्रहरीले पनि टियर ग्यास हान्यो। छिनभर भागदौड शुरू भयो। प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठचार्ज शुरू गर्यो। प्रहरी डीएसपीको कमाण्डमा विभिन्न समूहमा विभाजित भई खेद्न थालेपछि बल्खु क्षेत्र एकैछिनमा खाली भएको थियो। प्रदर्शनकारीहरूलाई खेदाउन कुदेका प्रहरी नफर्किदै कार्यक्रमस्थलमा थप प्रहरी बल उत्रिसकेको थियो।
त्यति बेला बल्खुमा जता पनि डीएसपी देखिन्थे। १२ जना डीएसपी त गन्न भ्याइएको थियो। जिल्ला प्रहरी परिसरका तत्कालीन प्रमुख एसएसपी भूपेन्द्र खत्री, एसपी कुमोद ढुंगेल आत्मसुरक्षाका लागि ‘डिफेन्सिभ युनिफर्म’ मा कार्यक्रमस्थलमै थिए।
गत चैत १५ मा अझ भयानक घटना पनि घट्न सक्थ्यो। विश्लेषण गर्दा प्रदर्शनका लागि तिनकुने क्षेत्र दिनु नै महाभूल देखिन्छ। आपराधिक मनोवृत्तिका प्रदर्शनकारीले एयरपोर्टतिर आगो फालेका कारण केहीबेर विमानको उडान–अवतरणै बन्द गरियो। अन्तर्राष्ट्रिय विमानस्थल वरपर आगामी दिनमा आन्दोलन निषेधित घोषणा गर्नुपर्ने देखिएको छ। आयल निगमको डिपोका कारण पनि त्यो अनिवार्य छ।
उडान–अवतरणका क्रममा विमानस्थल वरपरको प्रदर्शनमा हवाई फायरिङ हुदा विमानमा लाग्नसक्ने सम्भावनालाई समेत मध्येनजर गरेको देखिएन। नेपालमा राजावादी प्रदर्शनका कारण एयरपोर्ट बन्द भएको समाचार भारतीय मिडियाहरूमा प्रसारण–प्रकाशन भएका कारण काठमाडौँ, अझ नेपाल नै अशान्त रहेको सन्देश जानपुग्यो। आन्दोलनले एयरपोर्ट बन्द भन्ने समाचारका कारण कतिपयले काठमाडौँ आउने टिकट रद्द गरे।
आन्दोलनकारीले बंगलादेशको रट लगाइरहेको सन्दर्भमा हिंसात्मक हुनसक्ने सम्भावनालाई मध्यनजर गरी पर्याप्त तयारी गरेको देखिएन। सुरक्षाकर्मीले बल प्रयोग गरेपछि तितरबितर भएकाहरू सामान्यतः वासस्थानतिर फर्किन्छन्, चैत १५ गते फर्किनेहरूले नै आगजनी, तोडफोड गरी वितण्डा मच्चाए।
गल्ती–कमजोरीको श्रृंखलामा विराम लागेको छैन। मौकामा चौका हान्न भाटभटेनी छिेरर फलफूलका दाना गोजीमा हाल्नेहरूलाई हत्कडी लगाएर म्याद थपी अधिक दण्डित गर्न आवश्यक छैन। राप्रपा नेताद्वय राणा र मिश्रलाई पनि राज्यविरुद्धको कसुर आदिमा मुद्दा लगाउन खोज्नु अर्को भूल हो। उनीहरूले भिडलाई आपराधिक कृत्यको लागि उक्साएकै पुष्टि गर्न सजिलो छैन। वितण्डा मच्चाउदै गर्दा क्यामेरामा कैद गर्नेहरूलाई चाहिँ खोजीखोजी पक्रिदै कानून बमोजिम कारबाही गरिँदा भोलि आन्दोलनको आवरणमा हुने सार्वजनिक/व्यक्तिगत सम्पत्ति नष्ट गर्ने कृत्य नियन्त्रित हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
आदित्य नेपाल
