दल र तिनका नेता शिक्षालाई अनि शिक्षणलाई कसरी हेर्छन्? मेरो शिक्षक जीवनमा सबभन्दा अनुत्तरित प्रश्न भएर आएको छ त्यो।
आधी शताब्दीभन्दा बढी विद्यार्थीसँग अन्तरंग सम्बन्ध भएको र पढाइआएको व्यक्तिले विद्यार्थी राजनीतिबारे सोधिएको प्रश्नको उत्तर कसरी दिन्छ? त्यसको सहज उत्तर दिएका कुनै लेख र शिक्षक अनुभवका दस्ताबेज मैले खासै पढ्न पाएको छैन। बरु आफैले आफ्ना अनुभव राखेर अनेकौँ पटक लेख लेखेको छु। मलाई यो प्रश्नको उत्तर खोज्ने सबभन्दा बलियो आधार आफ्नै अनुभव र दृष्टि भएको कुरा स्वीकार गर्नु बढी सहज हुन्छजस्तो लाग्छ आजकाल। म यो छोटो लेखमा त्यो अनुभव र त्यसबाट खुलेका एकाध दृष्टि मात्र प्रस्तुत गर्न चाहन्छु। विद्यार्थीका क्रियाशील पक्षका कुरा त्यसमा केही आउनेछन्। सिर्जनशील पक्षका कुरा पनि आउने छन्।
एउटा सानो तर वाचाल घटनाबाट शुरू गर्न चाहन्छु। केन्द्रीय अंग्रेजी विभाग कीर्तिपुरको एउटा कक्षा लिँदाको अनुभव हो। मेरो एमएको कक्षामा एउटा अलिक जटिल विषयको छलफल र व्याख्या गर्नु थियो। मलाई शान्त परिवेश चाहिएको थियो। तर बाहिरपटि विद्यार्थीको हलचल थियो। विद्यार्थी युनियनको चुनावसँग जोडिएको कुनै मिटिङ थियो क्यारे। बाहिर एउटा मञ्च तयार थियो। माइक राख्ने, जाँच्ने काम हुन लागेको थियो। मैले आयोजकलाई बोलाएर भने, ‘हल्ला नगर्दिनू एक घण्टा जति।’ उनीहरूले सहयोग गर्ने भए। हल्ला नहुने भयो। मैले कक्षामा गएर अमुक विषय व्याख्या गर्न थालेपछि अकस्मात् बाहिर भाषण आरम्भ भयो। लाउड स्पिकरले हावामा एक पुरुष स्वर फैलायो।
त्यो स्वर घरी नजिक घरी टाढा भएर उठ्यो। एक राजनेताको स्वर थियो त्यो। थाहा पाएँ, त्यो किसुनजीको स्वर थियो। जसोतसो क्लास छिटो सकेँ। अनि कार्यक्रम भएको ठाउँमा गएर भाषण सकेर बसेका किसुनजीलाई मैले यो सबै कुरा सुनाएँ। विद्यार्थीसँग भएको समझदारीका विषयमा पनि भने। किसुनजीले विद्यार्थी नेतालाई बोलाए अनि उनलाई त्यो कुरा नभनेकोमा आक्रोश व्यक्त गरे। उनले विद्यार्थीलाई भने, ‘प्राज्ञिक कर्ममा राजनीतिक क्रियाकलापले बाधा गर्नु नराम्रो कुरा हो। विद्यार्थीको प्राथमिकता पढाइ लेखाइमा हुनुपर्छ। त्यसपछि राजनीति वा अरू कुरा आउँछन्। विद्यार्थी र शिक्षकहरू सँगै राखेर यो कुरा गर्नुपर्छ र राजनीति कहिले गर्नुपर्छ भन्ने कुराको पद्धति बसाउनु पर्छ।” सबै राजनेतामा यो दृष्टि छ कि छैन मलाई प्रस्ट थाहा छैन।
दल र तिनका नेता शिक्षालाई अनि शिक्षणलाई कसरी हेर्छन्? मेरो शिक्षक जीवनमा त्यो सबभन्दा अनुत्तरित प्रश्न भएर आएको छ। ठूला नेतामा यो विषयमा मैले कुरा गरेका किसुनजी भए। अर्का मैले यो विषयमा कुरा गरेका पहिलेका ठूला राजनेतामा मनमोहन अधिकारी थिए। उनी विद्यार्थीमा राजनीतिक चेतना बलियो हुनुपर्छ, ती भोलि देशको जिम्मा लिने मानिसहरू हुन् भन्थे। तर राजनीतिले शिक्षा र यसको विधिलाई हस्तक्षेप गर्यो भने त्यो प्रत्युत्पादक हुन्छ भन्ने उनको धारणा थियो। पछिल्लो समय र पुस्ताका राजनेता यस विषयमा विभाजित छन्।
मैले यस विषयमा राजनेता आफ्ना पूर्वविद्यार्थी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कमल थापासँग कुरा गरेको छैन। गिरिजाबाबुसँग छोटो कुरा गरेको थिएँ। मेरा विद्यार्थी माओवादी नेता राजनीतिमा विद्यार्थीको संलग्नता हुनुपर्छ, तिनीले यो देशमा राजनीतिक परिवर्तन ल्याउन ठूलो काम गरेका छन् भन्ने तर्क गर्छन्। यो आफैमा एक चलेको धारणा हो। उनीहरू भारतको जवाहरलाल उर्फ जेएनयूको विद्यार्थीको राजनीतिक संलग्नता विषयका छलफल राख्छन्। यसमा जेएनयूकी भूतपूर्व प्राध्यापक र इतिहासकार रोमिला थापरले पनि आफ्ना विचार राखेकी छन्। जेएनयू बन्द गर्ने अधिकारीको निर्णय र विद्यार्थीले त्यसलाई सफलतापूर्वक खुला राखेको कुराले व्यापक चर्चा पाएको कुरा यहाँ पनि चर्चित भएको थियो।
मैले आफ्ना विद्यार्थी जीवनका अनुभवभन्दा अहिले अनौठो लाग्छ। त्रिभुवन विश्वविद्यालयका कलेज र केन्द्रमा पढ्दाको मेरो सक्रिय जीवनका कुरा गरौँ। मैले कलेजमा विद्यार्थी संगठनमा काम गरेँ, चुनावमा जितेँ। आन्दोलनमा सक्रिय भएर काम गरेँ। ट्राटस्कीको अराजकतावादको प्रभावमा ट्राटस्की समूह पनि बनाएँ। तर यी सबै क्रियाकलापपछि मेरो राजनीतिक भविताको कुनै कल्पना थिएन। मेरो कल्पना पढ्ने, प्राज्ञिक कर्म गर्ने मात्र थियो। तर विद्यार्थी जीवनमा राजनीतिमा किन सक्रिय भएँ त भन्ने प्रश्नको उत्तर मैले आफैलाई दिएको छु। पञ्चायत राजको एकतन्त्रीय पद्धतिमा सबैतिर बन्द परिवेश चिर्ने आधार राजनीतिक आवाज र चेतना थियो। त्यसलाई फैलाउन सक्ने विद्यार्थी वर्ग मात्र थियो। ती स्वतन्त्र थिए। जेल जान र आउन सक्थे। तिनका संगठन थिए। तिनका जनता वा आफ्ना समूह थिए, जो विद्यार्थी संगठन र तिनका नेताहरूको आह्वानमा जुलुस गर्न सक्थे र दलको नाममा ती खुला बोल्न सक्थे। उनीहरूका संगठनको चुनाव हुन्थ्यो।
विश्वविद्यालयले चुनावको व्यवस्था मिलाइदिन्थ्यो। यति संगठित राजनीतिक रूपले सक्रिय अनि आफ्ना नारा लिइदिएर राजनीतिक हल्ला गर्ने समूह पाउनु दलका निम्ति ठूलो कुरा थियो। उनीहरूको आफ्नो संगठन यति व्यापक थिएन। ती भूमिगत थिए। यसो हुँदा उनीहरूले विद्यार्थी संगठनलाई आफ्ना दलीय संगठन बनाउने कर्म बिनासंकोच गर्न थाले। त्यो विद्यार्थी संगठनको मोह दलबीच यति धेरै भयो कि उनीहरूले विद्यार्थीको अस्मिता नै बिर्सेर विद्यार्थी विभागको निम्ति दलको नेता खटाउन थाले। विद्यार्थी दलका खेमामा बाँडिएर काम गर्न थाले। विद्यार्थी कुन खेमाको भनेर चिनिन थाले।
यो पनि: कसको आवाज बोल्छन् विद्यार्थी संगठन?
यसरी विद्यार्थी विद्यार्थीकर्मबाट टाढा हुने क्रम बलियो हुँदै गयो। तर यसरी विद्यार्थीको अस्मिता दलले लिएपछि उनीहरूको राजनीतिक सामर्थ्य र प्रभावकारिता पनि कमजोर हुँदै गयो। यो विषयमा यहाँ कुनै छलफल भएन। जेएनयूमा विद्यार्थी राजनीतिक रूपले सक्रिय छन् भन्ने कुरा स्थापित छ तर उनीहरूका क्रियाकलाप हेर्दा राजनीतिको चर्चामा विद्यार्थी भन्ने विषय प्रमुख रूपमा रहिरह्यो। विद्यार्थी युनियनका अध्यक्ष कन्हैया कुमारको गिरफ्तारीसँग जोडिएको निकै वर्षअघिको घटना र त्यसपछिका छलफल, विरोध र आलोचनाका शृंखलाले त्यो कुरा बुझाउँछन्। अहिले पनि त्यो विषयमाथि बहस हुने क्रम जारी छ।
विद्यार्थी यहाँ नेपालका राजनीतिक घटनासँग पनि जोडिने क्रम चल्यो। मूल राजनीतिक घटनाले विद्यार्थीको स्वतन्त्र अस्मिता गौण बन्दै गयो। नेपालमा माओवादी र राज्यको युद्धका कारण बहसको विषय भयो– हिंसा र विद्यार्थी त्यससँग पनि जोडिए। यसले पहिलेको विद्यार्थी र दलसँगका उनका सम्बन्ध जटिल भए। विद्यार्थीका प्राज्ञिक र शिक्षित हुने क्रमको सहजता टाढा हुँदै गयो। विद्यार्थीमा राजनीतिक संगठनको प्रभाव यति धेरै भयो कि उनीहरूले आफ्नो मूल कर्म बिर्सिन थाले।
अर्को घटना भयो। राजनीतिक दलले मात्र होइन, शिक्षकले समेत त्यो माथि भनिएको राजनीतिक प्रणाली र संरचना बनाउने कर्मलाई ग्रहण गरे। उनीहरूले त झन् सुविधा र शक्तिमा आउने बाटो यसबाट सजिलो हुने रहेछ भन्ने बोध गरे। शिक्षक दलमा विभाजित भएर लाग्नु अत्यन्त प्रत्युत्पादक भयो शिक्षाक्षेत्रको निम्ति। उनीहरू अनेकौँ तर्क र छलफल लिएर आए। विश्वविद्यालयदेखि स्कुलसम्म अब यो दलीय विभाजन हुने क्रम बढ्यो। विद्यार्थी र शिक्षकका दलगत समूहको पहिचान हुन थालेपछि त्यो एक अकाट्य संस्कृति बन्यो। अहिले हामी त्यो अवस्थामा छौँ। यसमा विश्वविद्यालयका पदाधिकारीका नियुक्तिमा दलले सोझै चाख लिए। नेपालमा शिक्षाप्रणालीको ह्रासोन्मुख अवस्था हो यो। शिक्षाको मूल कर्म टाढिँदै गयो। अहिलेको अवस्थाले सोझै शिक्षा प्रणाली र पद्धतिमा असर पर्यो।
शिक्षा पद्धतिमा दलीय भागबन्डाले नोक्सान पुर्याउँछ भन्ने सैद्धान्तिक सहमति भयो तर दल र तिनका नेताले यो चलनको उन्मुलन गर्न चाहेनन्। कुनै कुनै दलले त शिक्षा र राजनीति, शिक्षक र राजनीति अलग गर्नु कल्पना पनि गर्न नहुने विषय ठाने। पदाधिकारी र शिक्षाको जिम्मा लिनेहरूको नियुक्ति अहिले पनि अल्झोमा परेको कारण त्यही हो। यो घटनाबाट विद्यार्थीमा नकारात्मक प्रभाव पर्यो। उनीहरूले वैचारिक भन्दा दलबन्दी र गुटको महत्त्व बढी हुन्छ भन्ने मान्यता राखे। दलगत नारा र धारणाको रक्षाको निम्ति उनीहरू विश्वविद्यालयमा तालाबन्दी गर्न थाले। पढाइको तालिका र कार्यक्रमको कुरा गौण भयो। हप्तौँसम्म अत्यन्त व्यस्त रहनुपर्ने इकाई र अफिस अनि संस्थामा अलग अलग ताला झुन्डिएपछि त्यो एउटा विसंगत नाटक भयो।
विद्यार्थी दलको अह्रन–खटनमा काम गर्न थाले। आफूहरू शैक्षिक कर्म र त्यसको संस्कृतिबाट कति टाढा भयौँ भन्ने कुरा उनीहरूले बिर्से। उतापट्टि दल र तिनका सरकार, अनि तिनका मन्त्रीहरू शिक्षकले राजनीति गर्नुहुन्न भन्ने विषयमा विभाजित भइरहे। राजनेता र शक्तिमा आसीन दलका पदाधिकारी यति सहजै पाएको विद्यार्थी संगठन अनि यसका कार्यक्रमले आफ्ना पक्षमा पुर्याउने बल कम हुने हो कि भनेर तर्से। अनि उनीहरूले यो बहसलाई ठट्टामा परिणत गरे। विद्यार्थीले आफ्ना समूहभन्दा दलको निर्णयलाई बढी महत्त्व दिए। दलमा विभाजित विद्यार्थी शिक्षकमाथि नै सांघातिक हमला गर्न पछि परेनन्। शिक्षकले पनि आफूहरू दलमा आबद्ध भएर त्यसबाट फाइदा लिने संस्कृतिमा परिवर्तन गर्ने तत्परता देखाएनन्।
हामी अहिले लगभग यो अवस्थामा नै छौँ। यसरी नेपालको विद्यार्थीलाई हेर्ने हाम्रो दृष्टिमा परिवर्तन गर्नु पर्ने अवस्था आएको हो त भन्ने प्रश्न आउँछ। यो प्रश्नका केही आधार छन्। एउटा आधार यस्तो छ। अहिले राजनीतिक दलले विद्यार्थीको राजनीतिक दलीय आलम्बनलाई सितिमिति छोड्ने सम्भावना देखिँदैन। उनीहरूका पार्टी मिटिङबाट विद्यार्थीले के गर्ने, कुन दलको कस्तो नेता हुने भन्ने निर्णय हुने क्रम बढेको छ, घटेको छैन। दलहरू जसले विद्यार्थी र शिक्षकको दलीय राजनीतिलाई उपयोगी ठाने अनि उनीहरूले त्यसलाई चेतना र इतिहास निर्माण गर्ने शक्तिको पर्यायवाची कुरा हो भन्ने क्रम झन् बढाए।
दोस्रो कुरा, विद्यार्थीको राजनीति आलम्बन जनिन चरित्र बनिनुमा पछिल्ला दलीय राजनीति र शक्ति संघर्षका प्रभाव छन्। ती बलिया बन्दै गएका छन्। त्यसको अर्थ अबको विद्यार्थीको दलीय राजनीति एउटा मानक, पढाइभन्दा अलग एउटा काम गर्ने पद्धति भएको छ। त्यसमा सपना, भरोसा, अनि आइडियोलोजी वा सिद्धान्त बोकेर हिँड्ने बानी पर्यो। त्यस अर्थमा विद्यार्थीले क्रियाशील हुने एक सहज बाटो बन्न पुग्यो राजनीति। म आफै युवा जीवनका अनेकौँ अनुभव र आलम्बनको भुक्तभोगी भएको मानिस भएकोले विद्यार्थीले राजनीति गर्ने पद्धतिलाई केही होइन, नकारात्मक मात्रै हो भन्न चाहन्न। युवकहरू तथाकथित स्थायी पद्धतिभित्र मात्र बस्दैनन्। उनीहरू नयाँ प्रयोग र खोजी गर्न चाहन्छन्।
हाम्रोतिर मात्रै होइन, पश्चिमी मुलुकमा पनि युवाहरूले खासगरी राजनीतिक विश्वास र दर्शन अनि वैचारिक लगनशीलताका अनेकौँ कर्म गरेका उदाहरण र इतिहास छन्। पश्चिमी देशका ठूलो संख्यामा युवायुवतीले विद्रोह गरे। तिनलाई हिप्पी भन्ने नाम दिए। ती ठूलो संख्यामा नेपाल पनि आए। म आफैँ सन् साठीको अन्त्यतिर विश्वविद्यालय त्रिविमा एमए अंग्रेजी पढिबसेको विद्यार्थी तिनको जीवन र दर्शनले पूरै प्रभावित भएँ। तिनलाई अन्तरंग बुझ्दाखेरि तिनको विद्रोहको धरातलमा विद्यार्थी राजनीति थियो। तिनीहरूले अमेरिकाले भियतनाममा गरेको युद्धलाई विरोध गरे। युद्धले उनीहरू वाक्क भएका थिए। कतिपय ती युद्धमा अनिवार्य सैनिक सेवामा पनि गए।
मेरो दुई जना यस्ता हिप्पी युवासँग मित्रता भयो, जसका अङ्ग सद्दे थिएनन्। एउटाको खुट्टो नराम्ररी जखम भएको थियो। अर्कोको हातमा चोट थियो। तिनले हामीले भियतनाममा भोगेको नियति हो यो भनेका थिए। एउटा नाटकमा पात्रको रूपमा राखेको छु तिनीहरूलाई। नाटक गरिएको छैन। मलाई अरू थाहा हुने कुरा भएन। उनीहरूले जे भए पनि आफ्नो जखमीलाई युद्ध-विद्रोहसँग जोडेका थिए। पछि तिनीहरूसँग सम्पर्क र भेटघाट भएन। विद्यार्थीको राजनीतिक आलम्बन र विद्रोहले बिसौँ शताब्दीमा ठूलो परिवर्तन ल्याएको हो।
सन् १९६८ मेको फ्रान्सको विद्यार्थी आन्दोलनको चरित्र राजनीतिक थियो। उनीहरूले विश्वविद्यालय कब्जा गरे। त्यो क्रान्तिमा एउटा नारा थियो ‘हामीलाई सुख-आनन्द देऊ’! यसको व्याख्या चाहिन्छ। अर्कै लेखको विषय हो। त्यो आन्दोलनलाई एक करोड श्रमिकको सहयोग भयो। यो क्रान्ति छोटो थियो, त्यसै एकाएक सकियो। तर यसले विश्वमा परिवर्तन ल्याइदियो। नेपालमा आउने युवामा पनि त्यसको प्रभाव थियो। मित्रहरूले यो फ्रेन्च क्रान्ति १९६८ को महिमा मण्डन गरेको सुनेको छु मैले।
नेपालमा विद्यार्थीले राजनीतिमा चाख राखे, तिनका आन्दोलन प्रभावकारी छन् भन्ने कुरा मानियो। राजनीतिक दलले त्यो कुरा सबभन्दा धेरै माने। तर उनीहरूले विद्यार्थीका सपना र भविताका कल्पना जोडिएका हुन्छन् भन्ने कुरा बुझेनन्। बुझे पनि मानेनन्। दल उपयोगितावादी भए। विद्यार्थीका चाहना बुझेका भए उनीहरूले पढ्ने संस्था, तिनले ज्ञान खोजी गर्ने अनुष्ठानको सम्मान र तिनको संवर्द्धन गर्ने थिए दलले। त्यसो गरेनन्। अहिले विद्यार्थीका संघलाई पार्टीकै इकाईजस्तो गर्नु अनि तिनमा पार्टीका नेता खटाएर सघाउन पठाउनुजस्ता कर्मबाट त्यो कुरा देखिन्छ। अर्को चिन्ताको विषय हो–विद्यार्थीले त्यो कुरा राम्ररी बुझ्ने गरेको देखिएन। अब रह्यो प्रश्न–अब त्यो कुरा कसले बुझ्ने त? उत्तर छ, सबैले बुझ्नु पर्छ। विद्यार्थीले हामी यति मात्र गर्छौं, त्यसभन्दा उता दलको राजनीति हो र हामी त्यो गर्दैनौ भन्न सक्नुपर्छ। यता समाजले पनि विद्यार्थी भनेको ह्रासोन्मुख शक्ति हो र यसले दलका नारा मात्र बोकी बस्छ भन्ने धारणा पाल्नु हुँदैन।
यो पनि: शिक्षामा राजनीतिक हस्तक्षेप र व्यापारीकरण रोक्नुपर्छ भन्नुहुन्थ्यो बीपी
सबैले बुझ्नुपर्ने कुरा के हो भने अध्ययनका योजना, उमेर सपना र पढाइको कर्मका संयोगले बनिएको वर्ग हो विद्यार्थी। त्यो वर्गलाई हेर्ने दृष्टिकोण त्यसैबाट बन्नुपर्छ। समाजको पनि त्यही दृष्टिकोण हुनुपर्छ। दलले विद्यार्थीलाई प्रयोग गर्दा पाएका सहजताको मोह छोडिदिनु पर्छ। त्याग गर्न सक्नुपर्छ केही दलीय स्वार्थ। यस्तो मोह नछोड्ने दलका नेताका भनाइ र भाषण सुनेका छौँ। उनीहरू भन्छन्, ‘विद्यार्थी राजनीतिक चेतनाको पुञ्ज हो, यिनीहरूले राजनीतिक परिवर्तन ल्याएका छन् ,यसबाट विद्यार्थीको मोड अन्ततिर खिच्नु भनेको प्रतिगामी कर्म हो,’ इत्यादि।
त्यस्ता राजनीतिक दलीय तर्कमा विद्यार्थीलाई उसको अवस्थाको सिर्जनशील पक्षबारे केही योजना पनि नगरिएको प्रस्ट हुन्छ। त्यसले विद्यार्थीको नराम्रो गरी गुटबन्दी गर्छ। अर्को कुरा, विद्यार्थी आफैले गर्नुपर्ने काम धेरै छन्। त्यतातिर ध्यान दिनु पर्ने बेला पनि हो यो। यही सन्दर्भमा भन्नुपर्छ अब विद्यार्थीको राजनीतिलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। त्यसलाई चेतनशील, सिर्जनशील र अग्रगामी विचारको रूपमा लिएर काम गर्नुपर्छ। यसमा चुनौती छन् तर यसलाई साधना र चुनौतीको रूपमा लिनु पर्छ। दृष्टि बदलौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
