मिनामाता सन्धि: मर्करी प्रदूषणबाट जोगाऊँ, जोगिऊँ

मूलतः जनस्वास्थ्यका दृष्टिले मर्करीको प्रयोग निकै घातक छ। त्यसो हुँदा सबै नागरिकले मर्करी रसायन निषेधबारे बुझ्दै वातावरणीय तथा मानव स्वास्थ्यको पक्षमा उभिन आवश्यक छ। 

लामो समयता संसार वायु प्रदूषणजस्तो गम्भीर समस्यासँग जुधिरहेको छ। खासगरी शहरी क्षेत्रमा बढ्दो पेट्रोल एवं ग्यास–डिजेलयुक्त सवारीसाधनको प्रयोग, अधिक प्लास्टिक जलन तर रुखबिरुवा कमीजस्ता कारण प्राणदायी वायुको शहरमा कमी छ। भित्री शहरका प्राकृतिक रचनाको नोक्सानी तथा हावामा अक्सिजन कम भएसँगै कार्बन, सल्फर, धूलाका कण, मेटालिक कण (पीएम २.५ तथा पीएम १०) लगायत सूक्ष्म पार्टिकल मेटरको मात्रा बढेको छ।

त्यस्तै, अचेल वैश्विक रूपमा मर्करी (पारो)को रासायनिक प्रदूषणबारे उत्तिकै चर्चा हुने गरेको छ। हावा, पानी, माटो, औषधि र खाद्य तत्त्वमा मर्करी केमिकल प्रवेश गरी वाली चक्र र खाद्य शृंखलामार्फत मानिसको बाहिरी छाला र भित्री अंगमा समेत पुगेका छन्। पारो यौगिकले जनस्वास्थ्यमा घातक तथा विषाक्त प्रभाव देखाएका छन्। यो रसायन बच्चा, गर्भवती र वृद्धका लागि निकै हानिकारक हुन्छ। यसले बच्चाको दिमागी विकास अवरुद्ध गर्छ, स्मरण शक्ति क्षयीकरण पार्छ। शरीरभित्र रहेका मुटु, फोक्सो, मिर्गौला, दिमाग/गिदी र आँखालगायत कमलो अंग बिगार्दै बाहिरी छालामा समेत नकारात्मक प्रभाव ल्याउँछ।

मर्करीजन्य समस्या आधुनिक जीवनशैलीका कारण संसारभर तीव्र रूपले फैलिँदै गएकोले यसको प्रयोजन, उत्सर्जन र फैलावट रोक्न संयुक्त राष्ट्रसंघले 'मिनामाता कन्भेन्सन अन मर्करी–२०१३' मा ल्याएको हो।

यो महासन्धि (ट्रिटी) सन् २०१७ बाट वैश्विक तहमा प्रभावकारी भएको छ भने पक्ष राष्ट्रका रूपमा हालसम्म नेपाललगायत १५० मुलुकले हस्ताक्षर गरेका छन्। नेपालको संसद्ले यसलाई अनुमोदन गर्न बाँकी रहेकाले यस सिलसिलामा नागरिकस्तरमा छलफल चलेका पनि छन्। यसै जनवरी १६ का दिन नेपालमा पनि मर्करी प्रयोगको प्रभाकारी रोकथामबारे वन तथा वातावरण मन्त्रालयको सरकारी टोली, मर्करी अध्येता एवं नेपाली तथा जापानी विज्ञ र वरिष्ठ वैज्ञानिकको सामूहिक छलफलमा भाग लिने अवसर जुट्यो।

त्यहाँबाट मर्करीबारे थप जानकारी हासिल भयो। मूलतः जनस्वास्थ्यका दृष्टिले यसको प्रयोग निकै घातक छ। त्यसो हुँदा सबै नागरिकले मर्करी रसायन निषेधबारे बुझ्दै वातावरणीय तथा मानव स्वास्थ्यको रक्षाका पक्षमा उभिन आवश्यक छ। 

यो पढौँविषाक्त लेड: चाडबाडका रङदेखि बच्चाका खेलौनासम्म

मिनामाता अभिसन्धि: मर्करी बन्द गरौँ
सन् १९५० बाटै औद्योगिकस्तर र घरेलुस्तरमा पारो अर्थात् मर्करी (एचजी ८० एटोमिक संकेत नम्बर भएको प्राकृतिक तत्त्व, जो तरल धातुका रूपमा पनि रहन्छ)को प्रयोग बढ्दै गयो। प्रयोगसँगै जनस्वास्थ्यमा गम्भीर न्यूरोलोजिकल रोग फैलिँदै भयानक र दीर्घकालीन विषाक्त प्रभाव देखिन गयो। यसले जल, थल र हावामा समेत वातावरणीय समस्या पैदा गरेको हुँदा जनस्वास्थ्यको हितका लागि यसको उत्खनन, उत्सर्जन, प्रसारण र खपत रोक्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले स्विट्जरल्यान्डको जेनेभामा वैश्विक मर्करी सम्मेलन आयोजना गर्‍यो। सो सम्मेलनले यो सन्धि सन् २०१७ बाट लागू हुनेगरी पास गरेको हुँदा यसलाई मिनामाता सन्धि/अभिसन्धि भनिएको हो। हालसम्म १५० देश यसका पक्षधारक भएका छन्।

जापानको कोमोमोतो परफेक्चरस्थित मिनामाता शहरमा ६० को दशकताका अधिक पारो निष्कासनका कारण फैलिएको स्नायुसम्बन्धी रोग, जसलाई मिनामाता डिजिज पनि भनिन्छ।  यस्तै रोग अन्यत्र नफैलिओस् भन्ने अभिप्रायले अभिसन्धिलाई मिनामाता नाम दिइयो। यसका पक्षधरबीच यो सन्धि सक्रिय रूपले कार्यान्वयन गर्न, प्राविधिक तालिम दिन र अन्य सहयोग एवं अनुगमन समेतका लागि यूनेप र ईपीए (इनभारोन्मेन्टल प्रोटेक्सन एजेन्सी)ले सहकार्य गरेका छन्।

कुनै राष्ट्रले यो अन्तर्राष्ट्रिय सन्धिको अनुमोदनपछि त्यसमा रहेका विभिन्न ‘आर्टिकल’अनुसार सो मुलुकका अनेक दायित्व सिर्जना हुन्छन्, जसअनुसार उक्त देशले मर्करी इन्भेन्ट्रीको अवस्थाबारे कागजात बनाएर हरेक दुई वर्षमा रिपोर्टिङ गर्ने र अन्य वित्तीय सहयोग आदानप्रदानका व्यवस्थातर्फ बढ्न सकिन्छ। खासमा कुनै पनि देशको स्थित पत्र अर्थात् एमएमएफ (मर्करी मटेरियल फ्लो) चित्र बनाउन यूनेपले तयार गरेको मर्करी टुलकिटको प्रयोगबाट उक्त देशमा कति परिमाण र स्रोतका पारोजन्य पदार्थ छन् र तिनको आगत–निर्गत (आउने-जाने) अवस्था कस्तो छ भनेर चित्रांकन गरिने व्यवस्था रहेको छ। मिनामाता सन्धिले सन् २०२५ पछि मर्करी स्रोतहरूको उत्खनन र उत्सर्जनलाई बन्द र उन्मूलन (फेजआउट र फेजडाउन)को उद्देश्य लिएको छ भने मर्करी प्रयोग नगरी नहुने अवस्थामा, सुरक्षित प्रसारण र भण्डारणका लागि सुरक्षाका मापदण्ड बनाएको छ। 

मर्करीका स्रोत चिनौँ:  

क) भौतिक वस्तु
हुन त मर्करी प्राकृतिक रूपमा पृथ्वीको भित्री भागमा रहन्छ भने ज्वालामुखी विस्फोटजस्ता कारण कतिपय अवस्थामा बाहिर आउँछ। कोइलालाई मर्करीको मुख्य उत्सर्जन स्रोतका रूपमा लिइएको छ। संसारमा कोइला जलनबाट २४ प्रतिशत मर्करी उत्सर्जन भएको छ। जब औद्योगिक प्लान्टमा कोइला बालिन्छ, तब कार्बनसँगै उत्सर्जन भई मर्करी वायुमण्डलमा जान्छ र त्यहाँबाट वर्षाको पानीमा मिसिएर फेरि पृथ्वीको माटो, समुद्र, रुखबिरुवा तथा बालीनाली हुँदै चरणबद्ध खाद्य चक्रमा बस्दै मानिसको शरीरभित्र पस्छ। प्रतिकेजी कच्चापदार्थ कोइलामा ०.१६ केजी मर्करी रहन्छ। यस्तो मर्करीका १० भन्दा बढी आइसोटप छन्, जसले विभिन्न यौगिकसँग सहकार्य गरी खाद्यतत्वभित्र अस्तित्वमा रहिरहन्छन्। मर्करी उत्सर्जन हुने दोस्रो स्रोत सुनखानी हो। सुन उत्खननका बेला पनि मर्करी सतह बाहिर आउँछ।

मानवीय र औद्योगिक क्रियाकलाप अनि विभिन्न बस्तु उत्पादन र प्रशोधन कार्य अर्को स्रोत हो। यसमा कास्टिक सोडा, छाला चम्काउनेजस्ता क्रिम, अन्य कस्मेटिकलगायत सौन्दर्य सामाग्री, अबीर/सिन्दूर (सिन्नाबार–मर्करी सल्फाइड), रातो माटो, काँचो फलाम, तामा र सल्फाइड ओरको उत्पादन मुख्य हुन्। यसरी नै धेरै इलेक्ट्रिकल सामग्री, स्विच, गाडीका ब्याट्री, उज्यालो चिम, बत्ती, सीएफएल, धेरै मेडिसिनल सामग्री, एन्टिसेप्टिक, दिसा खुलाउने लेक्साटिभ, पिसाबजन्य ‌औषधि, आँखामा लगाउने थोपा औषधि, थर्मोमिटर र ब्यारोमिटर पनि पारोजन्य सामग्री हुन्। उसरी नै यो सिमेन्ट उत्पादनबाट धेरै मात्रामा उत्सर्जन हुन्छ, किनकि चुनढुंगा (लाइमस्टोन) र कोइला उक्त उद्योगले कच्चा पदार्थका रूपमा व्यापक प्रयोग गर्छ। भौतिक विकास र पूर्वाधार निर्माणमा सिमेन्ट उत्पादन बढ्दा पारो उत्सर्जन पनि बढ्न गएको छ। यो कुरामा हामी निकै जागरूक हुनुपर्ने देखिन्छ।  

ख) खाद्यवस्तु
खासमा माछा नै धेरै मर्करी पाइने जैविक खाद्य हो। टुना, सार्क, सेलफिसलगायत अन्य सबै समुद्री खानेकुरामा केही न केही अंश अर्ग्यानिक मर्करी (कार्बनसँग जोडिएर यौगिक भएको) रहन्छ। माछामा मिथाइल मर्करी रहन्छ। माछामा बायो–एकुमलेसन प्रक्रियाबाट मर्करी रहिरहेको हुन्छ। संसारमा तीन अरब मानिस यस्तो खाद्यशृंखला र खाद्य चक्रमा रही माछा र समुद्री खानासँग जोडिन्छन्। कसैले लामो समयसम्म खानेकुरा बचाउन, प्रिजर्भेटिभका रूपमा इथाइल मर्करी पनि प्रयोग गर्छन्, जो घातक हुन्छ। खाने सोडा (कास्टिक सोडा) उत्पादन प्रक्रियामा मर्करी प्रयोग हुन्छ। यो प्रक्रियालाई क्लोरेअल्काली प्रोसेस भनिन्छ। उक्त खाने सोडाको उत्पादन र यो प्रक्रिया ठूलो र औद्योगिक स्तरमा भइरहेको छ। यो रोक्नुपर्छ।

ग) गोल्ड प्लेटिङ (स्वर्ण लेपन)
स्वर्ण उत्खननका अतिरिक्त स्वर्ण लेपन गर्दा यसमा पनि पारोको प्रयोग हुन्छ। सुनका गरगहना, स्वर्ण मूर्ति तथा फोटो उपहारहरूमा गरिने गोल्ड प्लेटिङले यसलाई चम्किलो त बनाउँछ, तर त्यही बेला निस्कने पारो पानीमा मिसिएर र बगेर अन्यत्र पानीका स्रोत, ताल तलैया एवं नदीहरूमा फैलिन्छ। फोहर पानीका साथ यो डम्पिङ साइटमा पनि जान्छ र जनस्वास्थ्यमा डरलाग्दो असर गर्छ। स्वर्णकारिता गर्ने कामदारको स्वास्थ्यमा त गम्भीर असर गर्छ नै।

घातक मर्करीदेखि सतर्क बनौँ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार मर्करी संसारका १० घातक रसायन (विषाक्त रसायन)भित्र पर्छ। यसको १० लाखको एक भाग मात्रै हाम्रो शरीरमा गए मात्रै पनि स्नायु प्रणाली र पाचन प्रणाली पूरै तहसनहस पार्छ, दिमागको विकास अवरुद्ध गर्छ, बिर्सिने रोग ल्याउँछ भने मांसपेशी खुकुलो बनाउँछ। वातावरणमा, सामानहरूमा र हाम्रो वरपर अर्ग्यानिक र इनअर्गानिक रूपमा मर्करी रहन्छन् र दुवै उत्तिकै घातक हुन्छन्। 

विश्व स्वास्थ्य संगठनले मर्करीको मापदण्ड (नर्म्स) तोकेको पनि छ। जसअनुसार हावामा यसको घनत्व ०.१ मिलिग्राम प्रति घनमिटर तोकेको छ भने मिनरलवाटर र खानेपानीमा ०.००२ मिलिग्राम प्रतिलिटर र समुद्री उत्पादन/खाद्यमा १ मिलिग्राम प्रति घनमीटरको परिधीभन्दा कम रहनु पर्ने भनेको छ। डाइमिथाइल मर्करी भने शून्य हुनुपर्ने भनेको छ किनकि यो इथाइल र मिथाइल मर्करीलगायत अन्य मर्करी यौगिकमध्ये सबैभन्दा घातक मानिन्छ। त्यसो हुँदा खाद्य उद्योगले यो मापदण्ड पालना गरे/नगरेबारे बुझ्न आवश्यक छ। स्वर्ण लेपन, सिमेन्ट उद्योग, खानी क्षेत्र, मेडिकल क्षेत्रजस्ता क्षेत्रमा रहेका कामदारहरूको स्वास्थ्यमा गम्भीर असर परे नपरेको बारे सोधखोज गरिराख्नु उत्तिकै आवश्यक छ। 

यो पनिघरमा प्रयोग गरिने रङमा भेटियो अत्यधिक सिसा, उच्च जोखिममा मानव स्वास्थ्य

खासगरी कोइला र चुनढुंगा/सिमेन्ट उद्योग धेरै रहेका क्षेत्र र सो वरपरको जनसंख्यामा प्रतिकूल असर पर्नबाट जोगाउन आवश्यक छ। उदयपुर, मकवानपुर, सिरहा–मिर्चैया क्षेत्र, दाङ घोराही–देउखुरी क्षेत्र, रोल्पा, प्युठान कोइलाका खानी क्षेत्र, पाल्पा–नवलपरासीका चुनढुंगा–कोइला क्षेत्रमा व्यापक जनस्वास्थ्य सजगता आवश्यक देखिन्छ। सुन लेपनमा काम गर्ने उद्यमी र कामदारबीच उत्तिकै मर्करी सचेतता आवश्यक छ। देश बाहिरबाट पारो आयात गर्दा भन्सार, पारवहन र औद्योगिक क्षेत्रमा उच्च सुरक्षा उपाय अपनाऔँ। भरसक पारो आयात नगरौँ।

मर्करी प्रयोग कसरी रोक्ने?
सन् २०२२ को 'युनेप टुलकिट'का अनुसार वैश्विकस्तरमा संकलित ७८ देशको तथ्यांकले मर्करी उत्सर्जनको कुल मात्रा अहिले ४० लाख किलोग्राम प्रतिवर्ष हुने देखिएको छ। यो निकै डरलाग्दो अवस्था हो। प्राकृतिक रूपमा एक लाख किलो उत्सर्जनलाई पनि धेरै मानिन्छ। यसैबाट थाहा हुन्छ मर्करी उत्सर्जनको स्थिति कति गम्भीर छ भनेर। सबैभन्दा बढी मर्करी उत्सर्जन अमेरिकाले गर्छ, यसले विश्वको ५० प्रतिशतभन्दा बढी परिमाण उत्खनन/उत्सर्जन गर्छ। 

मर्करी उत्सर्जनमा योगदान दिने क्षेत्रमा सुन उत्खनन सबैभन्दा अगाडि छ, जसले ९.९० लाख केजी प्रतिवर्ष उत्सर्जन गर्छ। त्यसपछि क्रमशः कोइला र सिमेन्ट, डम्पिङ साइट, ब्याट्री तथा फोहोर पानीका क्षेत्र पर्छन्। दक्षिण एशियामा वार्षिक एक लाख ९७ हजार केजी पारो उत्सर्जन हुने देखिन्छ। यहाँका ल्यान्डफिल र डम्पिङ साइटमा पारो धेरै छ। नेपालमा पारोको यकिन तथ्यांक उपलब्ध भने छैन। सन् २०१९ मा भएको एक अनौपचारिक सर्वेक्षणबाट यहाँ ४ देखि १२ हजार केजीसम्म वार्षिक पारो उत्सर्जन र 'फ्लो' भएको अनुमानित तथ्य देखिन्छ। नेपालमा गोल्ड प्लेटिङ, कोइला र सिमेन्ट क्षेत्र तथा फोहोर मैला क्षेत्र बढी उत्सर्जक देखिन्छन्।

केही अध्ययनले काठमाडौँको हावामा रहेको पारोको तथ्यांक नापेको थियो, जसमा ८ नानोग्राम प्रतिघनमिटर देखाएको थियो। यो पनि गम्भीर हो। नमूना अध्ययनकर्ताले ललितपुरमा स्वर्ण लेपन र गरगहनामा काम गर्नेको छालामा पारो जाँच गर्दा १ पीपीएमभन्दा बढी मर्करी देखिएको थियो, यो डरलाग्दो हो। खासगरी खानीबाट सुन निकाल्ने इन्डोनेसिया, केन्या र म्यानमारमा नेपालमा भन्दा बढी पारो देखिए पनि यसको निराकरण यहाँ पनि जरुरी छ, किनभने यहाँ स्वर्ण लेपनका व्यवसाय छन्।

नेपालले मर्करी उत्सर्जनको परिमाण कम गर्दै उन्मूलनतर्फ जान र सुरक्षित भण्डारण गर्न ढिला भइसक्यो। अन्यथा हामी र हाम्रा ससाना बच्चा क्यान्सर, अल्जाइमर, डिमेन्सिया, न्युरो/मेमोरी डिफेक्टलगायत धेरै घातक रोगको सिकार हुन्छौँ। जापानमा झैँ 'मिनामाता डिजिज' दोहोर्‍याउन पुग्छौँ। कलिला बालबालिकालाई यसबाट बचाउनु पर्छ।

नागरिक स्तरमा हामीले मिनामाता सन्धि अनुमोदन गर्न संसद्लाई आग्रह गरौँ। 'नेसनल मर्करी इन्भन्टोरी' गरी यकिन तथ्यांक संकलित गरौँ। कडा खाले स्वदेशी नियमन व्यवस्थासहित मर्करीको आयात रोकौँ। यसको ऐन कानून तर्जुमा गरौँ, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभित्र रही यस्ता खाले औद्योगिक कार्य गरौँ, गराऊँ। कोइला खानी, चुनढुंगा खानी र सिमेन्ट उद्योग सञ्चालनको मापदण्ड कडा बनाऔँ। 

यी खानी र उद्योगको वातावरणीय अध्ययन (आईईए/ईआईए) गर्दा यो विषय सम्बोधन गरौँ। नभई नहुने मेडिकल सामग्रीलाई मात्रै पारोको भण्डारण स्थलमा सुरक्षित गरौँ र यसबारे व्यापक तवरले सामुदायिक स्तरमा जनचेतना बिस्तार गर्न ढिलाइ नगरौँ। नेपालले मर्करी प्रदूषणका सन्दर्भमा उन्नत र सुरक्षित पर्यावरणीय चेतना निर्माण गर्न ढिला भइसक्यो।

(घिमिरे वन तथा भूसंरक्षण विभागसँग सम्बद्ध छन्।)