Thursday, February 29, 2024

-->

विषाक्त लेड: चाडबाडका रङदेखि बच्चाका खेलौनासम्म

लेडको परिमाण धेरै र अलि लामो समयसम्म रहँदा छारे रोग लाग्न सक्छ। पाचनप्रणालीलाई असर पार्ने भएका कारण खानामा अरुचिलगायत समस्या देखिन्छ। रक्तसञ्चार प्रणाली र रक्तकोषिका वृद्धिमा पनि असर गर्छ।

विषाक्त लेड चाडबाडका रङदेखि बच्चाका खेलौनासम्म

लेडलाई नेपालीमा सिसा पनि भनिन्छ, तर यो ऐना या झ्यालमा प्रयोग गरिने सिसा भने होइन। यो गह्रौँ धातु हो। यसलाई लेड भन्दा सबैलाई बुझ्न सहज होला। त्यो आफैँमा गह्रौँ धातु भएकाले कुनै पनि पदार्थमा मिसाउँदा यसले चमक प्रदान गर्छ, धातुलाई खिया लाग्नबाट रोक्छ, वस्तुलाई लामो समयसम्म बिग्रनबाट बचाउने काम गर्छ। सोही कारण कतिपय व्यापारीले सामान आकर्षक देखाउन खाद्य र पेन्टमा लेड प्रयोग गर्ने गरेको भेटिन्छ।

यस्ता वस्तुमा पाइने लेड खाना, छाला, श्वासप्रश्वास लगायतका माध्यमबाट शरीरभित्र पुग्छ, तर त्यसलाई हाम्रो शरीरले पचाउन सक्दैन। शरीरले पचाउन नसकेका त्यस्ता मसिना कण-सिसा शरीरका कोष कोषिकामा छिरेर गम्भीर असर पुर्‍याउँछ। सोही कारण पछिल्लो समय यसबारे सचेतना जगाउने प्रयास भइरहेको छ। लेडको सम्पर्कमा नजाऊँ र त्यसको जथाभाबी सेवन नगरौँ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत लागिपरेको छ।

केमा पाइन्छ लेड?
स्वास्थ्य मन्त्रालय, केही विदेशी संघसंस्था तथा नेपालभित्र नेपाल हेल्थ रिसर्च काउन्सिल, कृषि अनुसन्धान परिषद् तथा आयुर्वेदिक अनुसन्धान परिषद्ले लेड विषाक्तताबारे खोज अनुसन्धान गरेका छन्। तथापि, त्यस्ता अनुसन्धान देशभरको प्रतिनिधित्व गर्ने खालका भने छैनन्। यद्यपि, ती अनुसन्धानले इनामेल, सानो लगानीमा गाउँघरमा खुलेका दर्ताबिना सञ्चालित चाउचाउ र जडीबुटी भन्दै बेचिने हर्बल औषधिमा समेत लेड मिसाइने गरेको पहिल्याएका छन्।

मान्छेले 'यो त जडीबुटी हो, यसको साइड इफेक्ट हुँदैन' भनेर प्रयोग गर्ने त्यस्ता स्थानीय औषधि नै लेडयुक्त हुने गरेका छन्। त्यससँगै सानो लगानीमा खुलेका कतिपय स्थानीय र कतिपय आयातित गाजल, लिपस्टिक र अन्य सौन्दर्य प्रसाधनमा समेत लेड मिसाइने गरेको पाइन्छ। नेपालमा चकलेटलगायत खाद्यमा चाहिँ अहिलेसम्म लेड भेट्टाइएको देखिएको छैन। 

पहिले–पहिले गाउँघरतिर 'बिजुलीको तेल'को प्रयोग हुन्थ्यो। अहिले पनि कतैकतै हुन्छ। बिग्रेको मेसिनबाट निस्केको फोहोर तेललाई नै बिजुलीको तेल भनिन्छ, त्यसमा लेड हुन्छ। पछिल्लो पटक सबैभन्दा डरलाग्दो रूपमा लेडको परिमाण देखिएको चाहिँ बालबालिकाका खेलौनामै हो। भवन रङ्गाउन प्रयोग हुने पेन्टहरूमा समेत लेड भेटिएको छ। शंकास्पद लाग्दा त्यस्ता सामानसँग निकट नहोऊँ, सेवन र प्रयोग नगरौँ भनेर मन्त्रालयले जागरणका लागि काम गरिरहेको छ। 

      यो पनि: घरमा प्रयोग गरिने रङमा भेटियो अत्यधिक सिसा, उच्च जोखिममा मानव स्वास्थ्य

सामान चम्काउन जलप लगाउने र रङ दल्ने पुरानै अभ्यास हो। सामान्य काठको खेलौनामा प्राकृतिक रूपमा लेड हुँदैन, तर जब त्यसमा रङ दलिन्छ, त्यहाँ दलिएको रङको गुणस्तर कस्तो होला भन्नेबारे हामी सचेत हुनैपर्छ। त्यसो हुँदा प्लास्टिकका सामान हुन् या रङिन काठका अथवा धातुकै किन नहुन्, रङमार्फत ती सामानमा लेड जान्छ।

आम मान्छे 'प्लास्टिकमा टाँसिने कुरा नै के हुन्छ र?' भन्ने ठान्छन्, तर धेरै चम्काउन र आकर्षक बनाउन कतिपय खेलौना र प्लास्टिककै भाँडामा लेड हालिएको हुनसक्छ। त्यस्ता सामान छुने, रगड्ने र चुस्ने  गर्दा त्यहाँबाट व्यक्तिको शरीरभित्र लेड छिर्छ। त्यसो हुँदा बालबालिकाका लागि कम चम्किलो र रङ प्रयोग नभएका सादा खेलौना किन्नु सुरक्षित हुन्छ। 

अनुसन्धानले प्राय: स्वास्थ्यकर्मी, विद्यालयमा पढ्ने बालबालिका, रङ्गीचङ्गी खेलौना बढी खेल्ने बालबालिका र गाउँघरमा प्रयोग गरिने 'हर्बल औषधि' खाइरहेका मान्छेमा धेरै लेड रहेको देखाएको छ। यस्तो अवस्थामा सबैले सरकारले मान्यता दिएका या नेपाल गुणस्तर चिह्नप्राप्त रङ, सौन्दर्य सामग्री र स्वास्थ्य मन्त्रालयको औषधि व्यवस्था विभागमा दर्ता भई मापदण्ड पूरा गरेका आयुर्वेदिक औषधि मात्रै प्रयोग गर्नुपर्छ। 

कतिपय बिरामी 'हामीले आयुर्वेदिक औषधि खाइरहेका छौँ' भन्छन्, तर  ती औषधि सरकारी निकायमा दर्ता भएका कम्पनीले बनाएका हुँदैनन्। सोही कारण अहिले औषधि व्यवस्था विभागमा दर्तावाल कम्पनीले बनाएका आयुर्वेदिक जडीबुटीको समेत परीक्षण गर्ने गरिएको छ। लेड या लेडजस्तै अन्य धातु छ या छैन भनेर अनुसन्धान हुने गरेको छ। यस्तो अवस्थामा कुनै पनि उत्पादनबारे आम जनतामा सचेतता आवश्यक छ। उपभोक्ता आफैँ जागरूक बन्न सक्दा लेडको विषादीबाट बच्न सकिने देखियो। 

दीर्घकालीन असर
शरीरमा प्रवेश गरेको लेडको मात्राले असर निर्धारण गर्छ। लेडको थोरै मात्रा शरीरमा छिर्‍यो भने त्यसको कालान्तरमा असर देखिन सक्छ, धेरै लेड शरीरमा छिरेको अवस्थामा तत्कालै असर देखिन सक्छ। अनुसन्धानहरूले खास गरी बालबालिका र केही वयस्कमा पनि लेडको विषाक्तताले मस्तिष्कको बौद्धिक क्षमतामा ह्रास ल्याएको देखाउँछ। मस्तिष्क र स्नायुमा लेडले सबैभन्दा बढी असर पार्छ। यसको असरले स्नायु र मस्तिष्कले सामान्य अवस्थामा झैँ काम गर्दैनन्, तिनको वृद्धि विकासमा कमी आउँछ। 

यसका अतिरिक्त बालबालिका र वयस्क झनक्क रिसाउने तथा सामान्यभन्दा छुट्टै व्यवहारसमेत गर्छन्। व्यक्ति एक्लै बस्न रुचाउने, अनिन्द्रा हुने र चिडचिडाहट देखिनु लेडकै कारण हुनसक्छ। लेडको परिमाण धेरै र अलि लामो समयसम्म हुँदा छारे रोग पनि लाग्न सक्छ। पाचनप्रणालीलाई असर पार्ने भएका कारण खाना अरुचीलगायत समस्या देखिन सक्छ। रक्तसञ्चार प्रणाली र रक्तकोषिका वृद्धिमा यसले असर गर्छ, रक्तअल्पता बनाउँछ। मुटु र हड्डीमा समेत असर गर्छ।

लेडको विषाक्तताले नपुंसक बनाउने, मानसिक समस्या उत्पन्न गराउने र क्यान्सर लाग्नेसमेत देखाएको छ। लेडको मात्रा अत्यधिक रूपमा शरीरमा पस्दा मान्छे बेहोस पनि हुन्छ। समयमै उपचार नहुँदा मृत्यु पनि हुनसक्ने भयो।  

चाडपर्वका रङमा लेड 
खेलौना र खाद्य पदार्थमा हुने रङको कुरा छँदैछ, होली र तिहारजस्ता चाडपर्वमा प्रयोग हुने रङमा लेडका साथै क्याडमेम र कोवाल्ट, निकेल, मर्करीजस्ता गह्रौँ धातुसमेत भेटिएको छ। त्यसले थप जटिलता निम्त्याउँछ।

यस्तो अवस्थामा एनएस चिह्न पाएका रङ या प्राकृतिक रङ मात्रै र जतिसक्दो कम रङ प्रयोग गर्न सर्वसाधारणलाई हामी अनुरोध गर्छौं। हामीले के भुल्नुहुन्न भने वर्षौंअघि हाम्रा पुर्खाले समेत पर्व मनाउँथे, त्यतिखेर रङका रूपमा चामलको पिठो, माटो, चुना, कमेरो, बेसार तथा वनस्पति र फूलहरूलाई समेत रङका रूपमा प्रयोग गर्थे। अहिले सिन्थेटिक (कृत्रिम) रङको प्रयोगसँगै यी समस्या निम्तेकाले प्राकृतिक रङ प्रयोग गर्ने प्रयास गरौँ।   

कृत्रिम रङले छालामा एलर्जी, डाबरदेखि लिएर रङ सिधै आँखामा पर्दा ज्योति गुम्ने, आँखा पाक्ने, कानमा पर्दा सुन्ने शक्ति ह्रास हुने र रगतमा पर्दा रक्तअल्पता बनाउनेदेखि लिएर रक्त क्यान्सर बनाउनेसम्म हुन्छ। त्यसो हुँदा तिहार, होली तथा नियमित पर्व र पूजाआजामा समेत रङको प्रयोग गर्दा धेरै सचेत हुनुपर्छ। सचेत बन्दा धेरै स्वास्थ्यजन्य जटिलता र क्यान्सर रोगबाट समेत बच्न सकिन्छ। 

उपचार
हामीसँग लेडको विषाक्तताबाट मुक्त गराउने कुनै औषधि/एन्टिडोट छैन। बाँकी सबै लक्षणअनुसार नै औषधि दिने हो। कुनै कारणवश रगतमा लेडको मात्रा धेरै देखियो र लक्षण पनि धेरै गम्भीर देखिन थाल्यो भने चिलेसन थेरापी गरिन्छ। जसमा 'इडिटिए' गरेर व्यक्तिलाई मुखबाट औषधि खान दिएर या इन्जेक्सन लगाएर कोष कोषिकामा भएका या रगतमा भएका लेडलाई तानेर मिर्गौलाका माध्यमबाट बाहिर फ्याँक्न सकिन्छ। तर त्यसका धेरै साइड इफेक्ट छन्। त्यतातिर सोच्नुभन्दा पहिल्यै लेडका असरबाट बच्नु उत्तम हुन्छ। 


स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीसँग गरिएको कुराकानीमा आधारित।


सम्बन्धित सामग्री