पोल्ट्री व्यवसायी भन्छन्, ‘हाम्रो समस्या सुन्ने कोही भएनन्’

लागत मूल्यभन्दा कममा उत्पादन बिक्री गर्नुपर्दा दुई वर्षयता एकोहोरो नोक्सान बेहोरिरहेको पाेल्ट्री व्यवसायीले बताएका छन्।

तस्वीर : रासस

चितवन– अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय चरम समस्यामा परेको छ। दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा र भारतीय उत्पादनले निर्वाधरूपमा प्रवेश पाइरहेपछि व्यवसाय समस्यामा परेको हो।

आइतबार दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहँदा व्यवसायी अब के गर्ने भन्ने चिन्तामा परेका छन्। नेपालको पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्बभन्दा बढी लगानी भइसकेको छ। जसमध्ये आधाभन्दा बढी बैंकको ऋण छ। उत्पादित वस्तु लागत मूल्यमा बिक्री गर्न नसकेपछि व्यवसायीले दुई वर्षयता एकोहोरो नोक्सान बेहोर्दै आएका छन्।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले सबै कुखुराजन्य उत्पादनमा नोक्सान रहेको जानकारी दिए। दैनिक घाटा बेहोरिरहेको, बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको र खोरमा राखिएका कुखुरा बचाउनसमेत मुस्किल परेको उनको गुनासो छ। “बैंकले चाहिने जति ऋण दिँदैन, भएको ऋणमा मनपरी ब्याज बढाउँछ। कच्चा पदार्थको मूल्य आकासियो, व्यवसाय कसरी धान्ने ?”

नेपालमा २३ वर्षदेखि पोल्ट्री व्यवसाय आत्मनिर्भर भए पनि अहिले मारमा परेको उनको भनाइ छ। “हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्”, उनले भने। नेपालमा आधाभन्दा बढी व्यवसाय बन्द भइसकेको महासंघले जनाएकाे छ। ३८४ ह्याचरी उद्योगमध्ये अहिले २०० मात्रै सञ्चालनमा रहेको र ती पनि पूर्ण सञ्चालन हुन नसकेको विष्टकाे भनाइ छ। हप्तामा ४५ लाख चल्ला उत्पादन हुँदै आएकामा अहिले २५ लाखमा झरेको छ। यसमा पनि आधा बिक्री हुन सकेका छैनन्। “चल्ला उत्पादनको लागत ६० रुपैयाँ पर्छ। अहिले हामीले बढीमा २५ रुपैयाँमा बिक्री गर्दै आएका छौँ।” 

महासंघका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ब्रोइलर र लेयर्सको चल्ला उत्पादन गर्ने अधिकांश माउ (प्यारेन्ट) विदेशबाट आउने गर्दछ। कोभिडपूर्व मासिक एक लाख ५० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकामा वैशाखयताको सरदर मासिक ६० हजारमात्रै आउने गरेको पोखरेलको भनाइ छ। प्यारेन्टबाट उत्पादित चल्लासमेत बिक्री भएका छैनन्।  

मासुको माग निकै घटेकाले उत्पादन भएर पनि कुखुरा नबिकेको व्यवसायीकाे गुनासो छ। भारतमा बिक्री गर्न नमिल्ने गरी बूढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य नपाएको पोखरेलले बताए। “ब्रोइलर कुखुरा २८ देखि ३५ दिनभित्रको खान उपयुक्त हुन्छ। तर बजारमा बूढा कुखुराको मासु आउने गरेको छ”, उनले भने। ती धेरैजसो भारतबाट आउने गरेका छन्। 

भारत सरकारले कुखुरापालन गर्न जग्गा खरिददेखि सबै कार्यमा अनुदान दिने हुँदा सस्तोमा कुखुराजन्य उत्पादन हुने गर्दछ। भारतमा लागत कम रहेकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उनी बताउँछन्। देशभर ब्रोइलरका २५ हजार फार्म रहेकामा आधाभन्दा बढी बन्द छन्। नेपालमा लेयर्स अण्डा उत्पादन गर्ने फार्म दुई हजार ५००  रहेकामा ७० प्रतिशत हाराहारी बन्द भइसकेका छन्। यसले ७५ प्रतिशत अण्डा उत्पादन गर्दछ। पोल्ट्री व्यवसाय चरम संकटमा पुगेपछि केही महिनाअघि ठुला लेयर्स फार्मका सञ्चालकहरू संगठित भएर नेपाल लेयर्स कुखुरापालक संघ गठन गरेका छन्। 

संघका अध्यक्ष विनोद पोखरेलले अवस्था सुधार नभए सबै बन्द गरेर बस्नुकाे विकल्प नरहेकाे बताए। “साना व्यवसाय धेरै बन्द भइसके, ठुला व्यवसायी पनि आगामी वर्षसम्म यस्तै अवस्था रहे बन्द हुन्छन् ।” 

बर्डफ्लुका कारण मारिएका कुखुराको क्षतिपूर्ति १० महिना पुग्दासमेत नपाएको उनको गुनासो छ। दुई वर्षअघि एक क्रेट (३० वटा)  अण्डा ४०५ रुपैयाँमा बिक्री हुँदा दानाको मूल्य ४५ रुपैयाँ थियो। उनले भने, “अहिले दानाको मूल्य  ७० पुग्यो, हामीले अण्डा २२५ रुपैयाँमा पनि बिक्री गरेका छाैँ।” अहिले कृषकले प्रक्रिकेट ३५० सम्ममा बिक्री गर्न सकेका छन्।

लागत मूल्य प्रतिक्रेट ४५० रहेको पोखरेलले बताए। नेपालमा दैनिक ४० लाख वटा अण्डा उत्पादन हुने गरेको छ। नेपालमा दानाका लागि आवश्यक अधिकांश कच्चा पदार्थ र औषधि विदेशबाट आउने गर्दछ। देशभरमा १२० वटा दाना उद्योग छन्।

पछिल्लो समय कच्चा पदार्थको मूल्य अत्यधिक बढेसँगै दानाको मूल्य बढेको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेकाे भनाइ छ। सरकारले सम्बोधन गरेमा लागत मूल्य घट्ने उनले बताए।