भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस तथा विदेशी फ्रेन्चाइज टिम नेपाली कानूनअनुसार शुक्रबारसम्म दर्ता थिएनन्। न आयोजकले कबुलअनुसार क्यानको खातामा रकम हालेको छ, न फ्रेन्चाइज टिमले खेलाडीलाई रकम दिएका छन्।
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले गत भदौमा नेपाल टी-२० लिग घोषणा गर्दा नै चर्चा र विवादको भुमरी शुरू भएको थियो। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई गोप्य रूपमा प्रतियोगिताको सम्पूर्ण अधिकार आठ वर्षको लागि ३३ करोडमा सुम्पिएपछि शुरूमै क्यानले विरोधको सामना गर्नुपर्यो।
त्यो विवाद सर्वोच्च अदालतसम्म पुग्यो। क्यानले अन्य फ्रेन्चाइजी लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेपछि एभरेष्ट प्रिमियर लिगका आयोजक र ६ टिमले रिट हालेका थिए। उक्ता मुद्दा अहिले पनि विचाराधीन छ।
त्यही मुद्दाको कारण गत असोज ८ गतेदेखि शुरू हुने भनिएको प्रतियोगिता मंसिर २६ मा सरेको थियो। तर, दोस्रोपटक निर्धारण गरेको मितिमा पनि प्रतियोगिता हुन सकेन। क्यानले पुन: पुस ८ गतेबाट प्रतियोगिता गर्ने भन्दै खेल तालिका सार्वजनिक गरेको थियो। अन्तिम समयमा प्राविधिक कारण देखाउँदै क्यानले प्रतियोगिता एक दिन पछाडि सारेको थियो।
क्यानले प्राविधिक कारण बताए पनि आयोजनाको जिम्मा दिइएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट तथा विदेशी फ्रेन्चाइज टिम नेपाली कानूनअनुसार दर्ता नभएको, विदेशी खेलाडीको श्रम स्वीकृति नलिइएको, क्यान र खेलाडीले पाउने रकम नदिइएको लगायत लापरबाहीका कारण खेल सरेको क्यान स्रोतले जनाएको छ।
तर, क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने प्रतियोगिता सरेको कारण प्रष्ट बताउन चाहेनन्। प्रतियोगिताको एक दिनअगाडि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सबै प्रकृयामा 'बाहिरी तत्त्व' हाबी भएको आरोप लगाए। बाहिरी तत्त्व को हो भन्ने उनले खुलाउन चाहेनन्। “क्रिकेटलाई ध्वस्त पार्न एक तत्त्व लागि परेको छ। यो तत्त्वले क्रिकेटलाई सकाउन कुनै पनि निकाय बाँकी राखेको छैन। त्यसैले यी सबै बाधालाई तोडेर अगाडि बढ्ने चुनौती छ, हामी अगाडि बढ्छौँ”, उनले भने।

क्यान स्रोतका अनुसार आयोजक सेभेन थ्री स्पोर्ट्सले कम्पनी दर्ताको काम मंगलबार मात्रै अगाडि बढाएको हो। यता, प्रतियोगितामा सहभागी हुने भनिएको काठमाडौँ नाइट्स र पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फारवेस्टन युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अलस्टारले पनि कम्पनी दर्ताको प्रक्रिया बल्ल थालेका छन्। उनीहरूले सोमबार मात्रै कम्पनी दर्ताको आधिकारिक प्रमाणपत्र पाउने छन्। क्यान भने प्रमाणपत्र नआउँदै प्रतियोगिता शुरु गर्ने तरखरमा छ।
अध्यक्ष चन्दको भनाइ मान्ने हो भने, क्यानले सेभेन थ्री स्पोर्ट्सबाट वार्षिक ४ करोड १२ लाख ५० हजार रुपैयाँ पाउनुपर्ने थियो। उनका अनुसार सम्झौता भएपछि १५ प्रतिशत रकम क्यानको खातामा सेभेन थ्री स्पोर्ट्सबाट दाखिला भइसकेको थियो। अर्को १५ प्रतिशत त्यसको ४५ दिनपछि र बाँकी ७० प्रतिशत प्रतियोगिता शुरू हुने अघिल्लो दिनसम्म दाखिला गरिसक्नुपर्ने प्रावधान थियो। शुक्रबारसम्म कति रकम क्यानको खातामा दखिला गरियो त्यो भने चन्दले खुलाउन चाहेनन्। “सम्झौता अनुसार पैसा आउने क्रम जारी छ। अहिलेसम्म कति आयो भनेर नखुलाम् होला”, उनले भने।
प्रतियोगिता नेपालको, कानून भारतको!
क्यानले गत जेठ १३ गते ६ फ्रेन्चाइज टोलीको स्वामित्व खरिदका लागि टेन्डर आह्वान गरेको थियो। त्यस बेला सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन आलुवालियाले टोली खरिद गरेबापत तिर्नुपर्ने सम्पूर्ण रकम भारतमा रहेको बैंकमा जम्मा गर्न लगाएका थिए। उनले सम्पूर्ण टोलीका मालिकलाई रकम जम्मा गर्न ड्यूश बैँक गुँडगाव (हरियाना गुरूग्राम) शाखाको ००००१९४८२२००२८ एकाउन्ट नम्बर पठाएका थिए। क्यानका एक केन्द्रीय सदस्यका अनुसार टिम खरिदबापत सम्पूर्ण रकम आलुवालियाले उतै बुझेका हुन्।
“त्यसबेला कान्तिपुर गोर्खाज र पोखराबाहेका सम्पूर्ण मालिक भारतीय नै थिए। उनीहरूले टिम खरिदबापतको पैसा उतै जम्मा गरे”, उनी भन्छन्, “यता कम्पनी दर्ता गरेको भए यतैको कानूनअनुसार कारोबार हुन्थ्यो होला। तर, उतैको कानून र उतै कम्पनी दर्ता भएको कारण क्यानलाई कसरी पैसा दिइरहेको छ भन्ने थाहा छैन।”
लिग सञ्चालन गर्नको लागि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग सिधै सम्झौता गरेको हो। यो कम्पनी नेपालमा हालसम्म दर्ता नभएको क्यान अध्यक्ष चन्दकै स्वीकारोक्ति छ। कानून मन्त्रालयले लिग सञ्चालनको लागि सेभेन थ्री स्पोर्ट्सले नेपालमै कम्पनी दर्ता गराउनुपर्ने पत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाएको छ।
राखेपको कानून शाखाले भने सेभेन थ्री स्पोर्ट्सलाई नै श्रम स्वीकृति मागेको छ। “सम्झौता जोसँग गरेपनि खेलाडीले तलब पाउँछन् या पाउँदैनन् र क्यानले पनि पैसा पाउँछ या पाउँदैन भन्ने कुरा शंका छ”, ती सदस्य भन्छन्।
क्यानभित्रै किचलो
सेभेन थ्री स्पोर्ट्सले क्यानलाई दिनुपर्ने सम्पूर्ण रकम नआएपछि क्यानका कार्यबाहक सचिवसमेत रहेका नेपाल टी-२० लिगका गर्भिङ काउन्सिल अध्यक्ष प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशनकुमार सिंहबीच 'पानी बाराबर'को स्थिति आइपरेको थियो। सेभेन थ्री स्पोर्ट्सले क्यानको खातामा हाल्दिनुपर्ने रकम नहाल्दिएपछि सिंहले प्रतियोगिता अगाडि बढाउन नहुने मत राखेका थिए। तर, अध्यक्ष चन्द र कार्यवाहक सचिव मल्लले सम्पूर्ण तयारीसमेत गरिसकेकाले प्रतियोगिता पुन: रोक्दा नराम्रो सन्देश जाने भन्दै उनलाई थुमथुम्याउने प्रयास गरेका थिए।
“क्यानकै खातामा आउनुपर्ने रकम त आएको छैन। भोलि खेलाडीले पनि पैसा पाएन भने के गर्ने? म त जिम्मेवारी लिन सक्दिनँ तपाईंहरू लिनुहुन्छ? भनेर कोषाध्यक्षले भन्नुभयो। तर, अध्यक्ष र सचिवले वाचा गरेअनुसार पैसा आउँदै गर्छ, अहिलेलाई अगाडि बढ्दै गरौँ भन्दा केहीबेर चर्काचर्कीसमेत भएको थियो”, ती सदस्यले भने।
बिहीबार बेलुकासम्म भएको छलफलमा सेभेन थ्री स्पोर्ट्सले तीन दिनभित्र बाँकी रहेको रकम दिने वाचा गरेको थियो। त्यसपछि भने क्यानका सम्पूर्ण पदाधिकारीहरूले दरबारमार्गमा रहेको याक एण्ड यति होटलमा पार्टी गरेर खुशीयाली मनाएका थिए। उक्त पार्टीमा अध्यक्ष चन्द र कार्यवाहक सचिव मल्लसँगै क्यानका कोषाध्यक्ष सिंह पनि सरिक थिए। तर, शुक्रबारको पत्रकार सम्मेलनमा भने उनीहरूको उपस्थिति थिएन।
खेलाडीको खातामा गएन पैसा
फ्रेन्चाइज टोली विराटनगरका सहमालिक राहुल शर्माका अनुसार हरेक टोलीले राम्रै लगानी गरेको छ। अधिकतम् सात विदेशी खेलाडीसम्म राख्दै १७ सदस्यीय टोली घोषणा गरेका छन्। ड्राफ्टमा नेपाली खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरि तीन क्याटेगोरीमा विभाजन गरिएको थियो। हरेक टिमले क्याटेगोरी ‘ए’ बाट एक, क्याटेगोरी ‘बी’ बाट चार र क्याटेगोरी ‘सी’ बाट ६ खेलाडी लिएका थिए। बन्द कोठाभित्र गरिएको ड्राफ्टबाट सहभागी फार वेस्टबाहेक अन्य पाँच टोलीले ११/११ नेपाली खेलाडी छनोट गरेका छन्।
क्याटेगोरी ‘ए’ मा रहेका खेलाडीले १५ लाख पाउनेछन् । क्याटेगोरी ‘बी’ का खेलाडीले १० लाख र क्याटेगोरी ‘सी’ का खेलाडीले पाँच लाख पाउनेछन्। फार वेस्टले भने पाँच विदेशी र १२ नेपाली खेलाडी अनुबन्ध गरेको छ।
हरेक टोलीले पाँच/पाँच विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाउने बताइएको थियो। तर, लुम्बिनीले सबैभन्दा धेरै सात विदेशी खेलाडी अनुबन्ध गरेको छ। विराटनगर र जनकपुरले ६/६ विदेशी खेलाडीलाई टोलीमा राखेको छ। काठमाडौँले चार विदेशी खेलाडी राख्दा पोखराले अहिलेसम्म पूरा विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन।
जति विदेशी खेलाडी टोलीमा राखे पनि प्रतियोगिताको फर्म्याटअनुसार हरेक टोलीले चार/चार जना खेलाउनुपर्ने प्रावधान छ। यीमध्ये कतिपय खेलाडी नेपाल टी-२० लिगलाई बिचैमा छाडेर अन्य विदेशी लिग खेल्न फर्किने छन्। यद्यपि, बिहीबारसम्म नेपाल आएका विदेशी खेलाडीको श्रम स्वीकृति हुन सकेको छैन। गर्भनिङ काउन्सिलका अध्यक्ष मल्ल कान्तिपुरले प्रतियोगिताको अन्तिम समयमा हात झिक्दा समस्या आइपरेको दाबी गर्छन्।
“हामीले एकैपटक विदेशी खेलाडीको श्रम स्वीकृति लिने तयारी गरेका थियौँ। तर, पोखरा र कान्तिपुरले विदेशी खेलाडीको लिस्ट बुझाउन ढिला गर्यो। अन्तिम समयमा कान्तिपुरले हात नै झिक्दियो। त्यसपछि केही काम अड्कियो”, उनले भने।
नेपाल आएका विदेशी खेलाडीले कुन 'क्याटागोरी'को आधारमा पैसा दिएको हो भन्ने खुलाइएको छैन। यता, नेपाली खेलाडीले पनि शुक्रबार बिहानसम्म आफूले खेलेबापत पाउनुपर्ने कुनै रकम पाएका छैन। क्यानका अध्यक्ष चन्दले भने नियमअनुसार खेलाडीलाई पैसा जाने भन्दै प्रकृया जारी रहेको बताए। “खेलाडीलाई हामीले पैसा दिँदा प्रकृया पुर्याएर दिनुपर्छ। उनीहरूले तिर्नुपर्ने करदेखि सबै हेरिरहेका छौँ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
